समय कटनीको बहाना बनेको एमसीसी

 गोकुल पराजुली

केही दिन यता गाउँ सहरमा चर्चाको विषय बनेको छ, एमसीसी । हाटबजार, चियापसल, ब्रतबन्ध होस् वा मलामी जाँदा वा चोक चौतारोमा गफ गर्ने विषय बनेको छ एमसीसी । एमसीसीले काठमाण्डौको बानेश्वर मात्र होइन गाउँटोल पनि तताएको छ । थरिथरीका किस्साहरु बनेका छन् । पक्ष विपक्षमा मतहरु विभक्त भएका छन् । आफ्ना आफ्ना तर्कहरु पस्किनेहरुको कमी छैन ।

एमसीसीलाई अन्तर्राष्ट्रिय सन्धिको रुपमा सरकारले प्रस्तुत गरेका कारण यो चर्चामा छन् । दुई देशबीच हुने सन्धिको विषयमा चर्चा हुनु स्वभाविक मात्र होइन अनिवार्य नै हो । त्यही भएर पनि होला एमसीसीको चर्चा भइरहेको छ । यो चर्चामा आउनुको पछाडि त्यस विषयमा दलहरुको विभाजनले अझ मलजल गरेको छ । मिडिया र पुरै बौद्धिक समुदाय विभाजित भएकोले मतहरु विभाजित भएका छन् । विचार र दृष्टिकोणहरु विभाजित भएर छरपस्टिएका छन् । बिस्तारै एमसीसीले मतहरुलाई मात्र होइन हाम्रो समुदायको मनहरु पनि बिभाजित गर्न थालेको छ ।

एमसीसी राजनीतिक दलहरुका लागि दाउपेचको विषय बनेको छ । एमालेको लागि एमसीसी गठबन्धन भत्काउने अस्त्र बनेको छ । काँग्रेसका लागि एमसीसी विदेशीका सामु विश्वासिलोे र भरासिलो बनिने सस्त्रको रुपमा आएको छ । माओवादीका लागि एमसीसी भालुको कन्पट भएर उभिएको छ । साना बाम दलहरुलाई एमसीसी आन्दोलनको बहाना बनेर आएको छ । एमसीसीमा सबैका दाउ पनि छन् ।

एमसीसी पास गर्दा काँग्रेसलाई खास फरक पर्ने देखिदैन तर फेल भए काँग्रेसलाई एमसीसीले नराम्ररी असर पार्ने चर्चा गाउँटोलमा सुनिन्छ । एमालेले साँधेको मौनता एमसीसीको पक्षमा हो कि विपक्षमा भन्नेमा एमालेजनहरु नै अलमलमा छन् । एकथरी एमाले भन्छन् एमसीसी ठिक छ । अर्काथरी भन्छन् ठिक छैन तर प्रचण्डले दोहोरो कुरा गरेर पास गर्न खोजे । एमसीसी पास गर्न नपाएर दुईदुई जना सभामुखलाई सराप्दै हिड्ने केपी ओलीको विषयमा थाहा भएर पनि उनीहरु बोल्दैनन् । किन भने आज एमसीसी पास भएपनि फेल भएपनि खुइल्याउनु पर्ने पात्रको रुपमा उनीहरुले प्रचण्डलाई छनौट गरेका छन् ।

कार्यकर्ता स्तरमा प्रचण्डप्रति नकारात्मक धारणा पैदा गर्न एमालेजन सफल भएपनि जनस्तरमा भने एमालेको भूमिकाप्रति राम्रो सन्देश सुनिदैन । हिजो लिंग पहिचान नभएको पार्टी भन्ने आरोपमा बल पुग्ने एमालेका कतिपय नेताहरुले गरेको टिप्पणी जनताले मन पराएका छैनन् । यति ठूलो राष्ट्रिय मुद्दामा हाम्रो कुनै धारणा छैन भन्नुजति गैह्रजिम्मेवार कुरा के हुन्छ होला भन्ने उनीहरुको प्रश्न छ ।

माओवादीका लागि एमसीसी भालुको कन्पट नै भएको छ । पास गरौं जनता विरोधी हुने फेल गरौं पश्चिमा विरोधी हुने दोसाँधमा छ माओवादी । हुन त माओवादी नेकपा हुँदाकै धारणामा अडिएको छ । एमसीसी संशोधनसहित पास गर्नुपर्छ भन्ने उसको धारणामा अहिलेसम्म कुनै परिवर्तन आएको छैन । बाँकी दिनमा के भन्ला हेर्न बाँकी छ । तर, एमसीसीको विषयमा माओवादीले दोहोरो चरित्र देखायो भनेर केही राजनीतिक दल र केही मिडियाहरु लागेको देखिन्छ । प्रचण्डका पाँच अवतार भनेर समाचार लेखेको पनि देखियो । समाचार पढ्दा एमसीसी टेवल गर्न सहमति दिएको र विपक्षमा जनमत तयार पार्न अनि असहयोग गर्न भूमिका खेलेको दुई भूमिकामात्र भेटियो । संशोधन नगरी पास गर्नुहुन्न भन्ने उसको अडानमा परिवर्तन आएको कुरा ती समाचारहरुले पुष्टि गर्न नसकेपनि जबर्जस्ति विवाद सिर्जना गर्न भने सफलता पाइनै रहेका छन् । तिनै समाचार र धारणाहरुको वरिपरी सहर गाउँ र टोलहरुमा समय कटनीको बहाना मेलो बनिरहेको छ एमसीसी ।

बुधबार, ११ फागुन, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर