सम्पादकीय
अन्ततः साढे ३३ किलोग्राम सुन तस्करी प्रकरणको पटाक्षेप भएको छ । मंगलबार मोरङ जिल्ला अदालतले सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसहितका ५ जनालाई जन्मकैद, अन्य दुई जनालाई कैद र बाँकी ४८ जनालाई सफाइ दिएपछि यो बहुचर्चित काण्डको एउटा अध्याय समाप्त भएको छ । अदालतका अनुसार सनम हत्याका दोषीहरु सजायका भागिदार भएका हुन् । सुन तस्करीबारे कुनै प्रमाण जुटेन । त्यसैले सुनकाण्डका अधिकांश प्रतिवादीले सफाइ पाए । तर, केही प्रश्न अझै पनि अनुत्तरित नै रहे । जसको उत्तर प्रहरीले सधैंजसो खोजिरहनुपर्नेछ ।
सुन तस्करी प्रकरणमा प्रहरीले झेलेको सबैभन्दा संगीन आरोप हो, फितलो अनुसन्धान । अदालतमा प्रहरीले जुटाउन नसकेको प्रमाणले पनि त्यो आरोप पुष्टि गरेको छ । यसबीचमा न हराएको भनिएको सुन फेला पर्यो, न तस्करीमा संलग्नहरुको प्रष्ट पहिचान नै भयो । यसले प्रहरी अनुसन्धान नै बद्नियतको आडमा त थिएन भन्ने प्रश्न जन्माएको छ । यसबारे प्रहरीले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । ताकि, आगामी दिनमा यति ठूला घटनामा प्रहरीले मुद्दा हार्नु नपरोस् ।
सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका केही काविल अधिकृतहरु नराम्ररी मुछिए । खासगरी सनम शाक्य हत्या प्रकरण र तस्करीको अनुसन्धान क्रममा आफैले परिचालन गरेका प्रहरी अधिकारीहरुको करिअर नै ध्वस्त हुनेगरी प्रहरी नेतृत्वले जुन लाचारी देखायो, त्यसले यस्तै घटनामा जोखिम मोलेर अनुसन्धानमा खटिन अब प्रहरीहरु तयार नहुन सक्छन् । त्यसो त घटनामा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । यद्यपि जुनबेला उनीहरुले सफाइ पाए, त्यस बेलासम्ममा उनीहरुले जीवनका धेरै चिज गुमाइसकेका थिए । भनिन्छ, ढिलो न्याय दिनु भनेको अन्याय गर्नुबराबर हो ।
साढे ३३ किलो सुन गायब भएपछि तस्कर समूहको यातनाका क्रममा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्या भएको यो घटनाले सुन तस्करीबारे धेरै रहस्य चाहिँ सार्वजनिक गरेको थियो । उच्च राजनीतिक पहुँच, प्रहरी कनेक्सन र उच्च सरकारी तहका अधिकारीहरुको मिलेमतो कहाँसम्म हुनेरहेछ भन्ने देखाएको थियो । तर, प्रहरी अनुसन्धान यति कमजोर बन्यो कि कुनै पनि हाइप्रोफाइल व्यक्तिहरु कारवाहीको दायरामा आएनन् । प्रहरीले ल्याउनै चाहेन । यदि प्रहरी अनुसन्धान बलियो हुन्थ्यो र उसले आफ्नो व्यवसायिक आचरणमा सम्झौता गर्थेन भने यो घटनाको कथा अर्कै हुनसक्थ्यो । जसले नेपाललाई सुन तस्करीको अखडा हुनबाट जोगाउन सक्थ्यो । तर, प्रहरी चुक्यो, तस्करीको सिलसिला कायमै रहने आधारभूमि तयार भयो । यो दुःखद् पक्ष हो ।
यो घटनाको सुरुआत २०७३ पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बरामद गरेको ३३ किलो अवैध सुनबाट भएको थियो । त्यसबेला सुनको मालिक गोरे नै भएको भरिया र अन्य अभियुक्तले बयान दिएका थिए । उच्च पहुँचकै भरमा त्यतिबेला गोरेको ठाँउमा अन्य केही व्यक्तिलाई कारबाही गरेर उनलाई उम्काइएको थियो । अहिले आएर गोरेसहितका अभियुक्तहरु हत्या मुद्दामा सजाय पाउने अवस्थामा पुगे । सुनको कनेक्सन अनिर्णित जस्तै रह्यो । यसमा प्रहरी कमजोरी नै सबैभन्दा मुख्य कारण रह्यो ।