पुण्य पी अधिकारी
दैनिक १८ घण्टादेखि २२ घण्टासम्मको लोडसेडिङ खेपेका नेपाल विद्युत प्राधिकरणका उपभोक्ताहरू २०७७ भदौ २९ गतेदेखि एकाएक सडकमा उत्रिएर तत्कालीन सरकारविरूद्ध नाराबाजी गर्दै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउन माग गरे । तत्कालीन सरकारले कुलमानलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्ति गर्न माग गर्दै कुलमानका पक्षमा नाराबाजी गर्दै स्वतस्फूर्त रूपमा सडकमा आएका उपभोक्ताका मागलाई सम्बोधन गर्न आश्वासन दिनुको सट्टा तत्कालीन सरकारले दमकल प्रयोग गरी पानीको फोहोराले कुलमानका पक्षमा बोल्नेहरूलाई निथ्रुक्क पा¥यो । तर, उचित मागलाई सम्बोधन गर्न चासो देखाएन ।
कुलमानको पक्षमा सङ्घीय राजधानीसहित मुलुकका मुख्य शहरहरूमा स्वतस्फूर्त रूपमा बहस र नाराबाजी हुन थालेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ ले गरे भने बमोजिम कानुनी प्रक्रिया र प्रतिस्पर्धाले कुलमानलाई पुनःनियुक्ति गर्न नमिल्ने बताए । जसले गर्दा २०७७ भदौ २९ गते कुलमानको चार वर्षे कार्यकाल समाप्त भएको भयो । अधिकांश नागरिकको माग भएपनि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्तिको बाटो ओली सरकारले बन्द गरिदियो ।
२०७३ भदौमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा नियुक्त भएका कुलमान घिसिङ शेरबहादुर देउवा नेतृत्वको सरकारको २०७८ साउन २५ गतेको मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार साउन २५ गतेदेखि पुनः नेपाल विद्युत प्राधिकरणको निर्देशकमा नियुक्त भएका छन् । साउन २७ गते उर्जा मन्त्रालयले घिसिङलाई नियुक्तिको पत्र दिएपछि नेपाल विद्युत प्राधिकरणको बागडोर पुनः घिसिङले सम्हालेका छन् । यो खबर आम नेपालीका लागि सुखद् हो ।
२०७३ भदौमा नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रूपमा नियुक्त भएका कुलमान घिसिङले विद्युत प्राधिकरणको नेतृत्व सम्हालेकै वर्ष २०७३ कार्तिक २९ गते (लक्ष्मीपूजा) का दिनदेखि नेपालमा लोडसेडिङको अन्त्य गरे । कार्तिक २९ गते काठमाडौँसहित मुख्य शहरहरूमा अघिल्लो वर्षको लक्ष्मीपूजाको दिन जस्तो झ्याप्पझ्याप्प लाइन गएन । बरू एकनासले विद्युत प्रवाह भइरह्यो । त्यसले तत्कालीन अवस्थामा सबैलाई अच्चम्मित तुल्यायो । दैनिक १८ देखि २२ घण्टासम्म लोडसेडिङ खेपेका उपभोक्ताहरूलाई विद्युतको सबैभन्दा बढी माग हुने लक्ष्मीपूजाका दिन एकनासले विद्युत प्रवाह हुँदा अचम्म लाग्नु स्वाभिकै थियो । विद्युत गएर अभ्यस्त भएकाहरूलाई एकनासले विद्युत प्रवाह हुँदा छक्क लाग्नुमा कुनै विमति नै थिएन ।
नेपाल विद्युत प्राधिकरणको चार वर्षे नेतृत्व सम्हालेका कुलमान घिसिङले लोडसेडिङको अन्त्यसँगै आम उपभोक्ताको मन जित्न सफल भए । तर, कुलमानको नियुक्तिको समयअवधि सकिएसँगै तत्कालीन सरकारले २०७७ कात्तिकमा नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकका रूपमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति ग¥यो । माघ २७ गते तत्कालीन सरकारले उनैलाई कार्यकारी निर्देशक नियुक्ति गरेपछि नेपाल विद्युत प्राधिकरणमा पुनः पुरानै रोग देखिन थाल्यो ।
लोडसेडिङबाट मुक्त भएका उपभोक्ताहरूले पुनः प्राधिकरणको वितरण केन्द्रमा फोन लगाउनुपर्ने अवस्था आउन थाल्यो । फोनल गाउनेहरूको प्रश्न एउटै छ, नेपाल लोडसेडिङमुक्त भएको होइन ? लाइन त झ्याप्पझ्याप्प जान्छ त ? फेरि लोडसेडिङ सुरु भएको हो ?
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति भएपछि कुलमान घिसिङले लोडसेडिङ मात्र हटाएनन्, अन्तरदेशीय प्रसारण लाइनदेखि मुलुकभित्रका स–साना जलविद्युत आयोजनाहरूलाई उच्च प्राथमिकतामा राखे । विद्युत चुहावटलाई नियन्त्रण गरी नियमित विद्युत प्रवाहलाई प्राधिकरण उकास्ने मुख्य मार्गचित्र बनाए । जसका कारण विद्युत प्राधिकरण अर्बौको सञ्चित ऋण चुक्ता गरी नाफा कमाउने सार्वजनिक संस्थानका रूपमा उभियो । सोही कुराले अध्यारोमा व्यापार गर्नेहरूलाई कुलमानको प्राधिकरणमा पुनःनियुक्तिका लागि विद्युत ऐन, २०४१ को दफा १७ ले रोक्यो ।
वर्तमान प्रधानमन्त्री र उर्जामन्त्रीको सकारात्मक पहलमा उज्यालो नेपाल अभियानका अभियान्ता कुलमान घिसिङ पुनः प्राधिकरणको निर्देशकमा नियुक्त भएका छन् । अघिल्लो कार्यकालमा लोडसेडिङमुक्त गरी विद्युत प्राधिकरणका आम उपभोक्ताको मन मुटुमा बसेका कुलमानले पुनः प्राधिकरणको हितमा र नेपाली उपभोक्ताको पक्षमा कार्य गरून् । विद्युत सेवा नियमनका लागि २०७६ वैशाख २३ मा गठन भएको नेपाल विद्युत प्राधिकरणको हितका पक्षमा गठन भएको एउटा अङ्गलाई अक्षरश कार्यान्वयनमा ल्याई नेपाली जनताको निराशालाई कुलमान घिसिङले पुनः आशामा रूपान्तरण गर्न सफल हुन् । शुभकामना……..