विराटनगर । विराटनगर – ५ मुनालपथका ४८ वर्षिय सुर्दशन न्यौपानेको रहस्यम तरिकाले मृत्यु भएको छ । उनको सोमबार राती साढे ८ बजे विराटनगर–५ बिजुली अफिसअगाडि को ४ प २३१६ नम्बरको मोटरसाइकल माथि बसिरहेको अवस्थामा शव भेटिएको थियो । शवको प्रकृति र न्यौपानेको शरिरमा चोटपट लागेको कारणले परिवारले दुर्घटना गराएर हत्या गरेको हुनसक्ने परिवारका आफन्तको भनाई छ ।
मृतकका भतिजा सन्तोष न्यौपानेले कसैले दुर्घटना गराएर मोटरसाइकल माथि राखिदिएको हुनसक्ने आशङ्का गरे । ‘मृतकको शरिरमा चोटपटक देखिएको छ । उनको कपडा च्यातिएको अवस्था छ । दाहिने हात, ढोका, आँखामा चोट र रगतको टाटा देखिन्छ । पेन्ट पनि च्यातिएको अवस्थामा छ,’ मृतकका भतिजा सन्तोषले भने, ‘त्यही भएर काकाको दुर्घटना गराएर हत्या गरेको हुनुपर्दछ । प्रहरीले गहन रुपमा छानविन गरिनु पर्दछ ।’ प्रहरी प्रशासनले घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषिलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने मृतकका आफन्तको माग रहेको छ ।
सुर्दशनको रहस्यम तरिकाले मृत्यु भएकोले घटनास्थलमा मोरङ प्रहरीका प्रम्ुख एसपी दनार्दन जिसी, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलासमेत उपस्थित भएका थिए । उनीहरूले शवको प्रकृति र घटनास्थल निरीक्षण गरेका थिए । ‘सबै कोणदेखि यस घटनाको अनुसन्धान सुरू गरेका छौं,’ एसपी जिसीले भने, ‘अहिले पोस्टमाटम भएको छ । रिपोर्ट आउन बाँकी छ । गहन रूपमा अनुसन्धानपछि घटनाको विषयमा जानकारी गराउनेछौं ।’ मृतकको श्रीमती दुई छोरा र एक छोरी छन् ।
यसैगरी विराटनगर – ११ महेन्द्रचौकदेखि करिब ५० मिटर दक्षिण एक जना पुरूषको मंगलबार विहान मृत अवस्थामा शव फेला परेको छ । स्वस्तिक होटल अगाडिको सटर बाहिर ४० देखि ४५ वर्ष उमेरका पुरूषको शव फेला परेको एसपी जिसीले जानकारी दिए ।

