खातापिता मध्यमवर्गीय सदाचारी सँस्कार वोकेको परिवारका सन्तान । व्यवस्थापन विषयमा मास्टर्स गरेका । चाहेको भए नेपाल सरकारका उच्च अधिकारी वा कुनै बैक वा वित्तिय सँस्थाको सिइओ सहजै हुनेथिए । तर लोभलालच सबै छाडेर उनी लागेका छन सडकमा भौतारिने कडा खाले मनोरोगी (मानसिक रोगी) वेसहाराहरुको उद्धार र संरक्षण गर्ने जटिल अभियानमा ।

नाम हो रामजी अधिकारी । भर्खर ३३ बर्षका मात्रै भए । सरल र सदाचारी जिवन विताउँछन् । राजा र बाबाहरुको जस्तो ढोंगबाट टाढा छन । अध्यात्म र भौतिकवाद दुबैलाई बुझेका छन् । प्रविधिको उच्च प्रयोग गर्छन । मास्टर्स सक्नेबित्तिकै उनले थाले २०६९ देखि सडकमा भौतारिने मनोरोगीहरुको उद्धार र संरक्षण गर्न । त्यो पनि न बिदेशी दाता नत सरकारी निकाय कसैसँग पनि कुनै सहयोग नलिइकन । र अहिले उनले देशका सातवटै प्रदेशका ११ स्थानमा आफु अध्यक्ष रहेको मानव सेवा आश्रमको शाखा विस्तार गरिसकेका छन । अभियानमा लागेको ८ बर्षमा हजार बेसहाराहरुको उद्धार भैसकेको छ । जसमा एक हजार जना समाजमा पुर्नस्थपना भैसकेका छन । सात सय जना आश्रमभित्रै मत्युवरण गर्न बाध्य भएका छन । ८ बर्ष वितेछ अभियान सुरु भएको ।

यो अवधिमा मानव सेवा आश्रम ७ प्रदेशको १४ जिल्लामा विस्तार भैसकेको छ । आश्रमको संरक्षकत्व दिन ५ सय बढी अभिभावक जुटिसकेका छन । अभियानमा २ सय जना समर्पित पढेलेखेका युवा– महिला पुरुषहरुले निशुल्क स्वयंसेवा गरिरेहका छन । र , सबैको सहयोगले हालसम्म अभियानमा ४ हजार बढीको वेसहाराहरुको उद्धार भैसकेको छ । जसमध्ये एक हजार जना समाजमा पुर्नमिलन भैसकेको छ । सात सय जना आश्रम भित्रै मृत्यु रोज्न बाध्य भएका छन । र, अझै सातवटै प्रदेशका १४ शाखाहरुमा ११ सय जना वेसहाराहरु आश्रित छन । र यो सख्या अझै बढदै जानेछ । अभियानको एउटै लक्ष्य छ, अबको भित्र नेपाल देशलाई सडक मानव मुक्त्त बनाउने सबैकालागि खाना , नाना र छाना दिलाउने । मानव सेवा आश्रमका अध्यक्ष रहेका अभियन्ता रामजी भन्छन, ‘स्पिडमा ब्रेक लागेन भने हामी तोकिएको समय अगावै आफनो लक्ष्य पुरा गर्न सक्षम हुनेछौ ।

समाजमा अझै मनोरोगीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन भैसकेको छैन । मानिसहरु अझै मानसिक रोग लागेको थाहा भए भने मात्र पनि छिछि दुरदुर गर्छन । असफल ठान्छन । अयोग्य मान्छन । पागल भन्छन । अझ उपचार गर्दा पनि निको भएन र रोग जटिल खाले मनोरोगमा फेरियो भने त परिवारले नै वास्ता गर्दैनन र विरामी वेसहारा भएर सडकमा भौतारिन बाध्य हुन्छन । सडकमा पनि उसले सुख पाउँदैन । मान्छेहरुले पागल भनेर हेप्ने गाली गर्ने, कुटने मात्र गर्दैनन, मानवीय संबेदनाबाट समेत बंन्चित गराउँछन । आफनो ठाउँबाट अर्को ठाउँमा खेदाउँछन । कुकुर लगाउने, ढुंगाले हानेर समूहले नै खेदाएर सडकमा समेत बस्न दिँदैनन । अझ महिलाहरु छन भने त पटक–पटक बलात्कार गर्छन् । कडा खाले मनारोगीहरु नत मागेर खान जान्दछन नत आफु विरामी छु उपचार गर भनेर भन्नसक्दछन् । तर उपचार र माया स्नेह पाएमा उनीहरु निको हुन्छन र समाजमा पुर्नस्थापित पनि हुनसक्छन् । तर, कसैले यसमा सहयोग गर्दैन । किनभने समाजले चाहँदै चाहँदैन । राज्य, समाज र घरपरिवार सबैतिरबाट जब मानिश उपेक्षित हुन्छ तब बन्छ वेसहारा र आइपुग्छ सडकमा शरण लिन । सडकमा आउने दिनदुखी वेसहाराहरुले त ढिलोचाँडो केही न केही कसै न कसेको सहारा पाउलान तर कडा खाले मनोरोगी (मानसिक विरामी) हरुले त झन यातना पाउँछन । सडकले पनि उनीहरुलाई छिछी दुरदुर गर्छ । खेदाउँछ । विचरा उनिहरु नत म विरामी हुँ उपचार चाहियो भन्न सक्छन नत म भोको छु खाना देउ भनेर माग्न सक्छन । सडकमा भौतारिने वेसहाराहरुकालागि नत घरपरिवार र समाज छ नत राज्य सरकार । बोलेर सदासयता देखाउनेहरु धेरै भएपनि व्यवहारबादी हुनेहरु भने छैनन् । छन, जोगी र बाबाहरु धेरै छन् । उनीहरुका आश्रम पनि थरिथरिका छन् । उनीहरुले धर्मकर्मका नाममा कमाएका पनि धेरै छन । जसले गर्दा उनीहरु नामी र दामी भएका छन । अनि धेरैले वालबालिका र जेष्ठ नागरिकहरुको आश्रम चलाएर नाम र दाम पनि कमाएका छन । थोरै मात्रै यस्ता छन जसले कर्मको मर्मलाई बुझेर मानव सेवालाई नै धर्म मानेका छन । र आफुलाई सर्मिपत गरेका छन् ।

रामजी अधिकारी र उनका संस्थापक साथीहरु सुमन र रुपा र अन्य समर्पित युवाहरु ती अभियन्ताहरु हुन जो जटिल अभियानकालागि आफनो भविष्य नै उनीहरुले लोभ गरेका छैनन् । पढेलेखेका शिक्षित भएर पनि उनीहरु निरन्तर वेसहारा मानिसहरुको सेवामा जुटिरेहका छन । एउटै लक्ष्य बनाएर, आफनो देशलाई सडक मानव मुक्त्त बनाउने र सबैलाई नाना, खाना र छाना उपलब्ध गराउने । कसरी सुुरु भयो त यस्तो महान तर जटिल अभियान ? कथा झन जटिल छ ।

गोरखाको पालुङटार १ मा जन्मिएका थिए रामजी अधिकारी । बुवा रिटायर्ड आर्मी , अति नै सदाचारी अनि मनकारी । आमाको हरेक कुरा संचित गर्ने बानी । असल संस्कारको उदाहरण थियो घर । स्कुले शिक्षापछि रामजी काठमाण्डौ आएर पढन थाले । मास्टर्स गर्दे थिए । उनको सर्वोत्कृष्ट जिवन सासत्व चिन्तन अभियानका अभियन्ता डा गोबिन्द टण्डनसँग सम्पर्क भयो । उनी उक्त्त सँस्थामा आवद्ध भए । अहिँसा, शाकाहार, सदाचार अध्यात्म चिन्तनको व्यवहारले लोकप्रियता पाउन थाल्यो । रामजी सोही चिन्तनका लागि प्रदेश ३ को राजधानी हेटौंडा आए । हेटौडामा केही अभियानहरु सम्पन्न भए । त्यही उनले सडकमा भौतारिने वेसहाराहरु देखे । उनलाई दुख लाग्यो । उनीहरु सबैखाले अधिकार र संरक्षणबाट बंचित थिए । उनले आफना साथीहरुसँग परामर्श गरे । उनीहरुका लागि केही गर्ने योजना बन्यो । २३ जेठ २०६९ मा बेसहाराहरुसँग पिकनिक खाने निधो भयो । १८ जना वेसहारा भेला भएर पिकनिक भयो ।

मैलाधैला लुगा लगाएका बर्षौ महिनौ ननुहाएकाहरुलाई सफा गरेर लुगा फेरिदिने, दाह्री काटिने अनि मिठा खानेकुरा सँगै खानदिने काम भयो । सबैले पिकनिकको प्रशंसा गरे । सिडिओ बसन्त भटराई प्रमुख अतिथि थिए । त्यहाँ बेसहाराहरुलाई अभिभावकत्व दिन अनुरोध गरियो । तर सबैले चाहेर पनि जटिल र व्यवहारमा कठिनाई भन्दै अस्वीकार गरे । सफा भएर एकछाक मिठो खाएका बेसहाराहरुलाई फेरि सडकमै छाडनुपरयो । बेसहाराहरु मध्ये कसैले भन्यो, ‘पहिले मैलो थियौ माग्दा पनि दिन्थे तँपाईहरुले नुवाएर सफा लुगा लगाइदिएपछि त अब हामीलाई नत भीख दिन्छन नत हामीले सडकमा बास पाउँछौ अब हामी कता जानु ?’

मन कटक्क खायो रामजी र उनका साथी सुमन र रुपाहरुको । यसैले उनीहरुले निधो गरे, बेसहाराहरुका लागि केही गर्ने । उनीहरुले धेरै विचार गरे आफनो भविष्य पनि सम्झे । एकातिर सयौं हजारौं बेसहाराहरुको जीवन अर्कोतिर आफनो र परिवारको सुखसयलको जिम्ेमवारी । तर उनीहरुले निर्णय गरे, जस्तोसुकै परिस्थिति आए पनि सामना गर्ने तर हार नखाने । उनीहरुले वेसहारा मानव सेवा अभियान नाम दिएर जटिल अभियानको ओखलमा मुन्टो हाले । घरपरिवार र आफन्तहरुले आफूसँगै सबैको भविष्य विगार्न लागिपरेको भनेर धेरै गाली गरे तर उनीहरु पछि हटेनन ।

धेरै गाह्रो भयो अभियान सुरु गर्न । उनीहरुसँग न त पैसा थियो नत संरक्षण । बिदेशी पैसा पनि नलिने प्रतिबद्धता थियो उनीहरुको । सबैले आफुसँग भएको धनमाल बिक्री गरे । बेसहारा राख्न घर खोज्न थाले । पागलहरु राख्नकालागि घर दिन कसैले मानेनन । धेरैले पढेलेखेका युवाहरु भएर मागीखाने काममा लाग्न थालेको भनेर उल्टै गाली गरे । हुतिहाराहरु भने । बल्ल हैटौडा ५ अब्लडाँडामा बासु कार्कीले घरको एउटा फल्याट दिए । २३ साउन २०६९ का दिन उनीहरुले ५ जना वेसहाराहरुलाई ल्याएर राखे अनि नाम दिएर मानव सेवा आश्रम । घर भेटे , बेसहाराहरुलाई पनि ल्याएर राखे । तर, पकाउन र सुताउन सरसमान हाँडाभाँडा लुगाफाटा थिएनन् । न त खुवाउनका लागि अन्नपात थियो । यसले उनीहरुले मुठिदान सहयोग सुरु गरे । मान्छेका घरघर पुगे । पुराना लुगा , पुराना भाँडाहरु मागेर बटुले । त्यो बेला मान्छेहरु कलकलाउँदा युवाहरु कमाउने काममा नलागेर बैरागी बनेर बिग्रिएको भन्दै खुव दुख्नेगरि गाली पनि गर्थे । माग्ने बहानामा चोर्नेहरु आए भनेर कुकुर फुकालेर पनि छाडिदिन्थे । तर जे भएपनि उनीहरु डगमगाएनन् । उनीहरुले बेसहाराहरुलाई सहारा दिन छाडेनन, अगाडि बढिरहे ।

विस्तारै उनीहरुको चर्चा हेटौडामा फैलिन थाल्यो । मानिसहरुले सकारात्मक रुपले उनिहरुलाई हेर्न थाले । सहयोगहरु जुटन थाल्यो । उनीहरु सेवाभाव भएका शिक्षित युवाहरुले पनि स्वयंसेवा गरेर अभियानमा साथ दिन थाले । विस्तारै अभियानको प्रशंसा बढयो । सरकारले चासो दिन थाल्यो र आफसेआफ मानव सेवा आश्रम देशभरि बिस्तार भयो । देशभरिका सडकमा भौतारिएका बाध्य वेसहाराहरुले सहारा पाउन थाले । पहिले गाली गर्नेहरुले पनि विस्तारै ताली बजाउन थाले । गाली गर्ने घरपरिवारहरुले स्यावास भन्न थाले । अझ अध्यक्ष रामजीका आमाबुबा र श्रीमती सबैजना मानव सेवामा समर्पित छन । सबै जना चितवनको आश्रमको रेखदेखमा लागिरेहका छन ।

तर अभियानको लक्ष्य पूरा हुनेभए पनि उद्देश्य अझै पुरा भएको छैन । अझै पहुँचवाल मानिसहरु आफना रोगी र असक्त्त सन्तानलाई राखिदिन आग्रह गर्दै आश्रममा आउँछन । दुई सय जना भन्दा बढिले निवेदन दिएका छन । तर अभिभावक भएकाहरुलाई आश्रमको नीतिले राख्न दिदैन । यसैले रामजी र सहकर्मीहरु सम्झाएर पठाउने गरेका छन । दुख लाग्छ उनीहरुलाई अझै पनि आश्रममा धनी र नामीहरुका आफन्तहरु आश्रय लिन बाध्य भैरहेका छन । किनकी उनीहरु सडकबाट उद्धार गरिएका हुन । आफन्तले आफै जिम्मा लिएर नलगेसम्म उनीहरुलाई पठाउन पनि मिल्दैन तर आफन्तले जिम्मा लिनै चाहँदैनन । पहुँचवालाहरुका आफन्तलाई चुपचाप संरक्षण गरिरहनुपर्ने बाध्यता चुनौती नै बनेको छ ।

आजकल मानव र समाज सेवा मान र सम्मानका लागि ढोंग बनेको छ । समाजमा कामचोर र लम्पटहरुको संख्या पनि बढिरहेको छ । काम गर्न नचाहने बरु भीख मागेर खानेहरु बढिरहेका छन । जसले समाजलाई दुव्र्यसनतिर लगिरहेको छ । मन्दिरमा बसेर याचना गर्ने अधिकार दिनहीनहरुको हो, लम्पटहरुको हैन । उनीहरुलाई कर्तव्यमा लगाउनु पर्ने पनि अभियानको योजना छ । लम्पटहरुले गर्दा वास्तविक पीडितहरु ओझेलमा परेका छन । दयाको भावनामा ठेस पुगेको छ । पीडितले पाउनुपर्ने दया लम्पटहरुले पाइरहेका छन । यसका लागि पनि सरकारले लम्पट भिखारीहरु घटाएर गरिखान कर्तव्यप्रति जिम्मेवार मानव तयार गर्ने नीति बनाउन आवश्यक छ ।

रामजी, सुमन र रुपाहरुलाई आजकल खुसी पनि लागेको छ कि आफुहरुले थालेको अभियानले बृहत्त रुप लिइरहेको छ । मानव सेवाका लागि मानिसहरु अगाडि आउन थालेका छन । अध्यक्ष रामजीलाई सरकारले जनसेवा पदकबाट सम्मान गरिसकेको छ । संस्थापक रुपालाई पनि सम्मान गर्दैछ । मानव सेवामा सर्मिथत अभियन्ताहरुलाई सरकारले राष्ट्र सेवक परिचय पत्र पनि दिने तयारी गरेको छ । संघीय सरकारले निशुल्क सेवा गरिरहेका अभियन्ताहरुका लागि ८ करोडको कोष पनि बनाइदिएको छ । केही महानगर सडक मानवमुक्त महानगर घोषण भैसकेका छन । र, धेरैले धमाधम घोषणा गर्ने तयारी गरिरहेका छन । संघीय सरकारले देशलाई २ बर्ष भित्र सडक मानवमुक्त बनाउने नीति कार्यक्रम घोषणा गरिसकेको छ । प्रदेश सरकार र स्थानीय तहहरुले पनि वेसहाराहरुको उद्धार र संरक्षणमा चासो दिन थालेका छन । मानव सेवाग्राम स्थापना गराउन लागिपरिरहेका छन । चितवनमा मानव सेवा आश्रमको मुख्यालय भवन पनि बनिरहेको छ । विदेशमा पनि शाखाहरु खुल्न थालेका छन ।

तर, यति मात्र हैन अभियानको उद्देश्य । अभियानको उद्देश्य हो आश्रमको संख्यासँगै वेसहाराहरुको पनि सँख्या घटाउनु । नेपालबाट सुरु भएको मानव सेवा अभियानलाई विश्वभरि फैलाउनु । तर, यस्तै हो भने न त आश्रमको सँंख्या घटने छ नत अभियान विश्वभरि फैलने छ बरु आश्रमको संख्या झन बढने र अभियालने स्वार्थको रुप धारण गर्ने र नामलाई भजाएर बदनाम बनाउने कामहरु हुनथाल्नेछन् ।

अध्यक्ष रामजीका अनुसार यसैले पहिले मान्छेलाई कर्तव्य पालनमा जिम्मेवार बनाउन आवश्यक छ । कर्तव्यप्रति गैरजिम्मेवार मानिसलाई राज्यले नीथि बनाएर कार्वाही गर्न आवश्यक छ । कसैलाई पनि मानव भएर मानवका लागि कर्तव्यबाट अलग गर्ने अधिकार छैन । यसैले अभियानले अठोट गरेको छ । मानिसले आफू मानव भएको कर्तव्य पुरा गर्यो भने सडकमा कोही पनि वेसहारा भएर आइरहनुपदैन । मानव भएको कर्तव्य पूरा गर्ने मान्छे नै साँचो मानवसेवी हो । यति गरेमा न त मान्छेले अनुमानका भरमा हनुमान बनेर ढोंग रच्दै मानव सेवालाई व्यापार बनाउन आइरहनुपर्छ ।

अर्को राज्यले भौतिक र आर्थिक विकाससँगै समाजमा मानवीय विकासलाई पनि सँगसँगै जोडनुपर्छ । अभिभावक, समाज र राज्यलाई जिम्मेवार बनाउनुपर्छ । किनभने जवसम्म मानवीय विकासलाई प्राथमिकता दिएर नीति बनाइँदैन तवसम्म मानिस कर्तव्यप्रति जिम्मेवार हुन चाहँदैन । जवसम्म मानिस कर्तव्यप्रति जिम्मेवार हँुदैन मानव सेवा मात्र ढोंग मात्र रहिरहनेछ । गफ मात्र भैरहनेछ । भन्नेहरु बढिरहनेछन् तर व्यवहारमा उत्रिनेहरु भेटिने छैनन् । अधिकारको बहानामा सडकमा मागेर खाने लम्पटहरु घट्ने छैनन बरु पेशेवर मगन्तेका रुपमा बढिरहने छन् ।