लापर्वाही गर्नेलाई ट्राफिकको परीक्षा

इटहरी । प्रदेश १ को पूर्व–पश्चिम र कोशी राजमार्ग अन्तर्गतको सडक खण्डमा यात्रुबहाक सवारी साधन तीव्र गरिमा कुदाएको पाइए ट्राफिक प्रहरीले परीक्षा लिने भएको छ ।

चालकले लापरबाहीपूर्ण र तीव्र गतिमा गाडी कुदाउँदा राजमार्गमा अत्याधिक दुर्घटना हुने गरेको पुष्टि भएपछि लापर्वाही गर्ने चालकले परीक्षा दिनुपर्ने नियम लागू गरिएको हो ।

करिब ८० प्रतिशत दुर्घटना चालकको लापरबाही र तीव्र गतिका कारण भएको पाइएकोले चालकमाथि कारबाहीको नयाँ उपाय अपनाइएको हो । केही समयभित्रै प्रदेशका १४ वटै जिल्ला र सबै सडक खण्डमा लागू गर्नेगरि नियम उल्लंघनको कसुरमा कारबाही गरिएपनि लापरबाही नरोकिएपछि चालकसँग लिखित परीक्षा लिन सुरु गरिएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

ट्राफिक नियम उल्लंघनको कसुरमा चालकलाई १५०० रुपैयाँसम्म जरिवाना गर्ने गरिएको थियो । तर, जरिवाना वापतको रकमगाडी धनीले तिरिदिने भएपछि चालकलाई उक्त कारबाहीले कुनै असर नगरेको पाइएको हो । नयाँ नियमले तीव्र गति रोक्न, चालकलाई जिम्मेवार र सचेत बनाउन तथा दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने बताइएको छ ।

आफै उपस्थित भएर लिखित परीक्षामा सहभागी बन्नुपर्ने भएपछि चालकले सवारी साधन चलाउँदा होसियारी अपनाउने ट्राफिक प्रहरी प्रमुख दाहालले बताउनुभयो । गल्ती गर्ने चालकसँग लिइने परीक्षाका लागि ट्राफिक नियमसँग सम्बन्धित प्रश्नपत्र हुन्छ ।

एउटा प्रश्नपत्रमा ८० वटा प्रश्न सोधिएका हुन्छन् भने परीक्षा दिने चालकले उत्तीर्ण हुन ६० प्रतिशत अंक प्राप्त गर्नैपर्छ । तीव्र गतिमा र लापरबाहीपूर्ण तरिकाले गाडी कुदाएमा सवारी चालक अनुमति पत्र र गाडीको ब्लुबुक ट्राफिक प्रहरीले नियन्त्रणमा लिनेछ ।

मङ्गलबार, ०६ फागुन, २०७६, दिउँसोको ०१:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर