अध्यादेश ल्याउन आवश्यक छैन : डा.कोइराला

विराटनगर । नेपाली काँंग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी विभाजन सम्बन्धी अध्यादेश अहिले ल्याउन आवश्यक नभएको बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा बिहीबार प्रेस युनियन मोरङले आयोजित पत्रकार सम्मेलनम नेता कोइरालाले झन्डै दुईतिहाइको सरकारले अरु साना दल विभाजन गर्ने किन ल्याउनु पर्यो भनी प्रश्न गरे ।

‘पटक–पटक सरकार हेरफेर हुने र पार्टी फुट्ने जुटने परिस्थितिका कारण मुलुकमा राजनीतिक अस्थिरता भएकाले स्थायित्वका लागि यो सरकार गठन भएका हो’ उनले भने, ‘अब फेरि अध्यादेश ल्याएर राजनीतिक अस्थिरता पुनः कायम गर्न हुँदैन ।’ सरकारले मुख्य काममा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘यो अध्यादेश ल्याएर के गर्न खोजेको ? सरकार राम्रोसँग चलाउनुहोस् न, भइगयो नि’ उनले भने, ‘जनताले राजनीतिक स्थायित्व र आर्थिक विकास खोजेको हो । अन्य काममा अल्मलिन हुन्न ।’ सरकारमा बस्नेहरू रेमिट्यान्स बढेको बढेकै छ भनेर खुसी भएको भन्दै उनले यो खुसी हुनुपर्ने विषय नभएको बताए । ब्याजदर घटेको र बैंकमा पैसा थुप्रिएको बेला ऋण लिन व्यवसायी किन जाँदैनन् भन्ने विषयमा सोच्नु पर्ने उनको भनाइ छ ।

सरकारले कुलमान घिसिङलाई हटाउने प्रयास गरेकोप्रति असन्तुष्टि जनाउँदै कोइरालाले उनले गलत गरेको छ भने हटाउने अरु उपाय र निकाय भएकोले बक्यौता उठाउन खोजेको आरोपमा हटाउन नमिल्ने बताए । महशुल नतिर्नेको लाइन काट्नुपर्ने बताउँदै उनले भने, ‘तपाईं हामीले एक हजार तिर्न नसक्दा लाइन काट्ने, अनि करोडौँ नतिर्नेको चाहिँ नकाट्ने ? व्यवसायी हुन् भनेर काट्न नपाउने ? यो कहाँको नियम कानुन हो ?’

कोइरालाले उपसभामुखलाई हटाउने प्रयासप्रति पनि आपत्ती जनाएका छन् । ‘किन हटाउन प¥यो ? उहाँबाट केही कमजोरी भएको छ । तर, उहाँलाई दुईतिहाई बहुमतले हटाइदिने गरी कमजोरी भएको छ जस्तो मलाई लाग्दैन’ उनले भने, ‘यस्ता कुराले हामीजस्ता मानिसलाई चिन्तित तुल्याएको छ ।’

मिनबहादुर गुरुङले आफूविरुद्ध मुद्दा चलिरहेको बेला एमालेलाई जग्गा दान दिएको विषयले शङ्का उब्जाएको भन्दै कोइरालाले यस्ता कुरामा सचेत हुनुपर्ने बताए । ललिता निवास प्रकरण र सम्पत्ति शुद्धीकरणमा मुद्दा खेपिरहेका गुरुङसँग एमालेजस्तो पार्टीले दान नस्वीकारेको भए राम्रो हुने उनको भनाइ छ ।

सरकारले अन्य काममा भन्दा सहमति अनुसार संविधान संशोधन र आर्थिक सुधारमा ध्यान दिनुपर्ने औंल्याउँदै कोइरालाले सरकारले सय दिनमा केही राम्रा काम गरेको बताए । टिआरसी विधेयक, सवारी लाइसेन्सका लागि नागरिक एप्स साथै उखु तथा दुग्ध किसानको भुक्तानी जस्ता राम्रा कामहरु भएको भएपनि जनअपेक्षा अनुसार काम नभएको उनको स्वीकारोक्ति छ ।

वर्तमान सरकार परिवर्तनको हल्ला निराधार भएको बताउँदै कोइरालाले काँग्रेसले हात नझिकेसम्म सरकार नढल्ने बताए । अहिले काँग्रेसले यही सरकारको निरन्तरता चाहेकाले यो सरकार नढल्ने उनको भनाइ छ । कुनै विदेशी शक्तिले चाहँदैमा सरकार परिवर्तन नहुने भन्दै उनले सरकार परिवर्तनका लागि संसदको संख्या आवश्यक हुने तर्क गरे ।

डा.कोइरालाले रास्वपाका अध्यक्ष रवि लामिछानेको सहकारी विषय सम्बन्धी कुरा अदालतमा प्रवेश गरी सकेकाले न्यायलयको निर्णयलाई सबैले स्वीकार्नु पर्ने बताए । सडकमा नारा जुलुस गरेर अदालतलाई प्रभावित हुने खालका कुनै पनि गतिविधि गर्न नहुने उनको भनाइ छ ।

सहकारीको विषयमा नेपाली काँग्रेसका नेता धनराज गुरुङको विषयमा सोधिएको प्रश्नमा नेता कोइरालाले गल्ती देखिएको छ भने उनीमाथि पनि छानबिन हुनुपर्ने बताए । गुरुङले पनि संसदमा बोल्दै आफूमाथि छानबिन गर्न भनेकोले त्यसमा अन्यथा बोल्न आवश्यक नभएको उनको भनाइ छ । यद्यपी श्रीमतीले गरेको गल्तीको भागिदार श्रीमान नहुने उनले तर्क गरे ।

कोशी प्रदेश सरकारमा कोइराला समूह सहभागी नभएको विषयमा सोधिएको प्रश्नमा नेता कोइरालाले आफूले यस्ता विषय हेरिरहेको र अलिकति चित्त नबुझेको बताए । सरकारमा सहभागिताको निर्णय प्रदेशको संसदीय दलको नेता र पार्टीको केन्द्रीय सभापतिले गर्ने भन्दै उनले त्यसबारे आफूलाई नसोधिएको दावी गरे ।

बिहिबार, ०८ कार्तिक, २०८१, दिउँसोको ०३:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर