बर्जुतालमा ४ अर्ब ८० करोड लगानी प्रस्ताव

विराटनगर । चराको प्रमुख बासस्थानको रुपमा परिचित सुनसरीको बर्जु ताल संरक्षण र त्यस क्षेत्रलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने परियोजनाका लागि प्रदेश लगानी बोर्डले विस्तृत अध्ययन पूरा गरेको छ । बर्जु तालको संरक्षण गरी त्यस वरिपरि निर्माण गर्ने संरचनाहरु आदिको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरी कार्यान्वयनमा लैजाने तयारीमा प्रदेश लगानी बोर्डले काम अगाडि बढाएको छ ।

प्राकृतिक र ऐतिहासिक महत्व बोकेको बर्जुताल कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको भन्दै प्रदेश सरकारले त्यसको संरक्षण र विकासलाई प्राथमिकतामा राखेको छ ।

पूर्व र पश्चिम बर्जुतालको प्राकृतिक स्वरुपमा कुनै परिवर्तन नगरी त्यसलाई थप हरियालीकरण गर्ने र पानी तथा जलचरहरुको संरक्षणमा काम गरी जैविक विविधता संरक्षणमा काम गर्ने कार्यलाई विशेष ध्यान दिइने गरी डिपिआर तयार पारिएको छ । त्यसबाहेक संरक्षित तालभित्र कुनै पनि कंक्रिट संरचना नबनाइने र तालबाट बाहिर बफर जोनको रुपमा निश्चित क्षेत्र छोडेर निजी जमिनमा थप संरचनाहरु निर्माण गर्ने गरी डिपिआर तयार भएको लगानी प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओं) डा.सरोज कोइरालाले जानकारी दिएका छन् ।

तालभन्दा बाहिरको पेरिफेरीमा खुला चिडियाखाना (ओपन जू), कल्चरल भिलेजहरु आदि विभिन्न संरचना निर्माण गर्ने प्रतिवेदनमा उल्लेख छ । बर्जु तालमा बस्ने चरा तथा जीवजन्तुहरुलाई असर पर्ने गरी ठूलो आवाज आउने होटल, रेष्टुरेन्ट, वा अन्य संरचना नजिकै निर्माण नगर्ने गरी प्रतिवेदन तयार पारिएको छ । अहिले बर्जुताल नजिक जे कंक्रिट संरचना र होटलहरु निर्माण भएका छन् यो प्रस्ताव कार्यान्वयनमा गएपछि ती संरचनाहरुसमेत त्यहाँ नरहने गरी डिपिआर तयार भएको बताइएको छ ।

लगानी प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओं) कोइरालाले भने ‘बर्जुतालको प्राकृतिक संरचनामा कुनै ह्रास नआउने बरु अझ त्यसलाई व्यवस्थित गरी प्राकृतिक स्वरुपलाई सुरक्षित गर्ने ढंगबाट प्रस्ताव तयार भएको छ, यस क्षेत्रमा कोलाहल नियन्त्रण गर्ने र यसलाई देशकै कोसी टप्पु सिमसारसँग जोड्ने ढंगबाट डिपिआर तयार भएको छ ।’

प्रदेश लगानी बोर्डले बर्जुताल संरक्षण र पर्यटकीय केन्द्रको रुपमा विकास गर्न ४ अर्ब ८० करोड रुपैयाँ लगानीको प्रस्ताव तयार पारेको छ । उक्त लगानी प्रस्ताव प्रदेश लगानी सम्मेलनकै समयमा सम्झौता गरी अगाडि बढाउने तयारी बोर्डको छ ।
विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि बोर्डले ताल संचालन कार्ययोजना तर्जुमा गर्न तीन सदस्यीय समिति गठन गरिसकेको छ । बर्जुताल विकास समितिले सिफारिस गरेको एक जना सदस्य, बर्जु गाउँपालिकाले सिफारिस गरेको एक जना सदस्य प्रदेश लगानी बोर्डको लगानी प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा रहने गरी समिति गठन गरिएको हो । उक्त समितिले संघीय कानुन अध्ययन, इच्छुक संस्थाले पेस गरेको वित्तीय प्रस्ताव अध्ययन गर्ने र विभिन्न विज्ञहरुसँग छलफल गरी संचालनको मोडालिटी टुंग्याउने छ । त्यसका लागि समितिले कन्सल्टेन्सी नियुक्त गरी काम थप अध्ययन गर्ने तयारी गरेको छ । यस्तै समितिले उक्त ताल संरक्षण र विकासका लागि लगानी गर्ने कम्पनीलाई कति समयसम्म रोयल्टी छुट दिने, कति रोयल्टी निर्धारण गर्ने आदि निर्णय गर्नेछ । डा. कोइरालाले भने ‘सकेसम्म लगानी सम्मेलन अगाडि नै यी सबै काम हामी सक्नेछौं ।’

सरकार फेरबदलका कारण बर्जु ताल संरक्षण र विकासका लागि अगाडि बढाएको यस कार्यमा केही ढिलाइ भएको तर अब भने ढिलाइ गर्ने पक्षमा नरहेको डा. कोइरालाले बताए ।प्रदेश सरकार समक्ष बर्जुताल संरक्षण र त्यस क्षेत्रको विकासका लागि केहिरोज इन्टरनेशनल, ललितपुर काठमाडौंले प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव अध्ययन गरी निवर्तमान मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले यसअघि नै सेवा खरिद गर्ने निर्णय गरिसकेको थियो । त्यही बिचमा सरकार परिवर्तन भएपछि यस कार्यमा केही ढिलाइ भएको हो ।

प्रदेश लगानी बोर्डका सीईओं कोइरालाले समितिले प्रतिवेदन दिएपछि त्यसलाई विभिन्न निकाय र मन्त्रालयहरुबाट पारित गरी सरोकारवालाहरुका बिचमा उक्त प्रस्ताव पठाइने जानकारी दिएका छन् । उनले बर्जुताल विकास समिति, बर्जु गाउँपालिका लगायत थुप्रै सरोकारवालाहरुलाई उक्त प्रस्ताव पठाएर त्यसलाई सामुहिक भावनाका साथ अगाडि बढाइने बताए ।

बेवास्ता गर्न खोजेको स्थानीयको आशंका

प्रदेश लगानी बोर्डले बर्जु सिमसार संरक्षणको विस्तुत अध्ययन प्रतिवेदन तयार पारेर कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्ने तयारी गरिरहेको बेला सोमबार बर्जुका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरुले बर्जु गाउँपालिकामा ज्ञापन पत्र बुझाउँदै डिपिआर अध्ययन गर्न नपाएको गुनासो गरे । उनीहरुले बर्जु गाउँपालिकाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउँदै बर्जु ताल संरक्षण र विकासका लागि तयार पारिएको परियोजना समुदायको हितमा भए नभएको स्पष्ट पार्न माग गरे ।

नेपाली कांग्रेसबाट निर्वाचत ६ नम्बर वार्डका अध्यक्ष अशोक चौधरी, नेकपा एमालेका नेता विनोद चौधरी, नेकपा माओवादी केन्द्रका नेता दिपेन्द्र मेहता र जनता समाजवादी पार्टीका दिनेश मेहताको नेतृत्वमा चिमडी बर्जु ताल सिमसार विकास तथा संरक्षण समितिका प्रतिनिधिहरुले गाउँपालिकामा ज्ञापन पत्र बुझाएका हुन् ।

नेकपा माओवादी केन्द्रका नेता दिपेन्द्र मेहताले स्थानीयले डिपिआर हेर्न माग गर्न प्राप्त नभएको र स्थानीयलाई बेवास्ता गरेर निश्चित ठेकेदार कम्पनी वा स्वार्थ समूहको हितमा मात्र काम गर्न खोजेको आशंका भएकोले त्यस विषयमा पहिले स्पष्ट पार्नुपर्ने बताए । उनले भने ‘स्थानीयले अहिलेसम्म संरक्षण गरेर राखेको संरचनाा हठात् कसैलाई दिने कुरा हाम्रालागि मान्य छैन, यदि त्यसो गर्नुपर्ने हो भने सरकारले स्थानीयको सरोकार सुन्नुपर्छ, हामीसँग पनि छलफल गरेर यहाँको विकासमा स्थानीय जनतालाई सँगसँगै लैजानु पर्छ, यस्ता सार्वजनिक जग्गा जमिनहरुमा स्वार्थ समूह र व्यापारीहरुको गिद्दे नजर परेको धेरै उदाहरण छन् त्यसैले बर्जुमा त्यस्तो हुन नदिन हामी सचेत छैं भनेर त्यस विषयमा स्पष्ट हुन ज्ञापन पत्र बुझाएका हौं ।’

प्रदेश लगानी बोर्डका सीईओं कोइरालाले स्थानीयलाई बेवास्ता गरेर सरकारले कुनै आयोजना अगाडि बढाउन सक्ने अवस्था नहरने भन्दै त्यस्तो आशंका नगर्न आग्रह गरे । समितिले सञ्चालनको मोडालिटी तयार पारेपछि सरोकारवालाहरुलाई डिपिआर तथा सञ्चालन मोडालिटीको प्रस्ताव सबै पठाउने बताए । उनले भने ‘अहिले देखिएको असन्तुष्टि ढिलाइ भयो भनेर हो, केही आशंकाहरु भए हामी छलफल गरेर निरुपण गर्छौं ।’

बुधबार, १० पुष, २०८१, बिहानको ०९:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर