विराटनगर । विद्याकी देवी सरस्वतीको पूजा नजिकिदै जाँदा कालिगढ (मूर्तिकार)हरुलाई सरस्वतीको मूर्ति बनाउन चटारो भएको छ ।
राम्रो आम्दनीको लागि आकर्षक मूर्ति बनाउन कालिगढ व्यवसायीहरू मूर्ति बनाउन चटारो भएको हो ।सरस्वतीको पूजा नजिकिदै जादाँ उनी विभिन्न प्रकारका आकर्षक मूर्ति बनाउन व्यस्त भएका हुन् ।परम्परा अनुसार माता सरस्वतीको पूजा हरेक विद्यालयमा मूर्तिको आवश्यक्ता पर्ने भएकाले विभिन्न ठाउमा सरस्वती माताको मूर्ति बनाउन अहिले कालिगढहरु लागिपरेका छन् ।
मूर्तिको आकार हेरेर २ हजार देखि १४ हजार रुपैयाँसम्ममा बिक्री हुने गर्दछ ।सरस्वती पूजाको समयमा करिब ८० हजार रुपैयाँसम्मको मूर्ति बिक्री हुने गरेको विराटनगर १३ का मूर्तिकार बाबुराम महतोले बताए । दुईजना सहयोगी कालिगढ राखेर मूर्ति बनाउन लागेको उनले बताए । परम्परागत पेशा नभए पनि बुवा विजयप्रसाद महतोले गर्दै आएको काममा लागेर कालिगढ बनेका उनले विगत जस्तो मूर्ति बिक्री नहुने बताए ।
पहिला २०० बढी सरस्वतीको मूर्ति बिक्री हुने गरेको बताउँदै उनले भने,’ सयवटा पनि बिक्री हुँदैनन् । उनले वर्षभरि मूर्ति बेचेर वार्षिक तीन लाखसम्म आम्दानी गर्ने गरेको बताए । मूर्ति खासगरी कुमालहे जातिले बनाउने गर्दछन् । तर, केहि समययता अन्य समुदायहरुले बनाउन लागेका छन् । सुनसरीको गढी गाउँपालिका ३ निवासी इन्द्रजित चौधरीले विराटनगर १३ मा मूर्ति बनाउन आएका छन् । प्रत्येक वर्षझैं यस वर्ष पनि सरस्वतीको मूर्ति बनाएर बेच्न उनी बिहान ८ बजेदेखि राति ११ सम्म काम गर्ने गरेको बताए ।
उनले आकर्षक मूर्ति नबनाए बिक्री नहुने भएकाले आकर्षक मूर्ति बनाउन लागेको बताए । आफूले बनाएको मूर्ति बथनाहा पु¥याउने गरेको उनले बताए । उनले मूर्ति बनाएर घरपरिवार चलाउन कुनै समस्या नहुने गरेको बताए । अधिकांश निजी तथा सामुदायिक विद्यालयले सरस्वती पूजाको दिनमा विद्यालयमा माता सरस्वतीको मूर्तिको प्रतीमा प्रतिस्थापन गरेर पूजा गर्ने गर्छन् । यसवर्ष सरस्वती पूजा माघ २१ गते परेको छ ।कोरोनाकालमा भारतीय सिमावर्ती क्षेत्रलाई शिल गरेकाले बिक्रीमा समस्या भए पनि पछिल्लो समयदेखि भारतसमेत सहज रुपमा मूर्ति जाने गरेकाले यस वर्ष गतको भन्दा बढी अर्डर आएको जहादा गाउँपालिका–२ का रघुनाथ मण्डलले जानकारी दिए । मंसिरदेखि बनाउन काम सुरु गरेको बताउँदै उनले भने, ‘वार्षिक २ लाख बराबरको आम्दनी हुने गरेको छ ।’