विराटनगर । कोशी प्रदेशमा उत्पादित चिया, अलैंची, अम्लिसो र अदुवाको निर्यातले समग्र देशको निर्यातमा मनग्ये योगदान गरिरहेको छ । त्यसबाहेक धागो, स्टिल तथा आइरनको तयारी वस्तुदेखि छुर्पी र प्लाइउडसम्मले देशको निर्यातलाई टेवा दिनुको साथै व्यापार घाटालाई कम गर्न सहयोग पु¥याइरहेको छ ।
तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७९–८० मा नेपालको समग्र निर्यातमा कोशी प्रदेशको योगदान ३९.०६ प्रतिशत रहेको छ । विगत ५ वर्षमा कोशी प्रदेशको मेची र विराटनगर भन्सार विन्दुबाट भएको निर्याततर्फ ३४.९८ प्रतिशतदेखि ४१.७१ प्रतिशतसम्म योगदान गरेको छ । आयातमा भने १४.४४ प्रतिशत योगदान गरेको देखिन्छ ।
‘नेपालका निकासीजन्य वस्तु औद्योगिक वस्तु, कृषिजन्य र वनजन्य वस्तु पर्दछन् । त्यसमध्येमा पनि औद्योगिक वस्तुमा आइरन एण्ड स्टिल, धागो, सोयाबिन, सिमेन्ट, नुडल्स, पाम आयल आदि पर्दछ । प्लाइउड, जुट पनि यहाँबाट निर्यात हुन्छ । कृषिजन्य वस्तुमा चिया, अलंैची, छुर्पी, अम्लिसो, नेपाली कागज, जडिबुटी, अदुवा, बेसार, छालाजन्य वस्तुहरु निर्यात हुन्छ । दाल पनि निर्यात हुन्छ । कटन ब्यागहरु पनि गइरहेको छ,’ व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र विराटनगरका प्रमुख केबल विष्ट बताउँछन् ।
वैदेशिक व्यापार सम्बन्धी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले आर्थिक वर्ष २०७९–०८० मा गरेको अध्ययन प्रतिवेदन अनुसार शीर्ष दश निर्यात हुनेको सूचिमा धागो, अलैंची, जुट र जुटजन्य उत्पादन रहेको उल्लेख गरेको छ । जसको उत्पादन कोशी प्रदेशमा हुन्छ । यस्तै चिया, छुर्पी, अदुवा, चाउचाउ, नेपाली कागजलगायतका वस्तुहरु पनि कोशी प्रदेशबाट निर्यात हुने वस्तुको सूचिमा छन् ।
तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९–८० को देशगत तथ्याङ्क हेर्दा विभिन्न देशहरुमा केही वस्तुहरु बाहेक अधिकांश नेपाली वस्तुहरुको निर्यात बढ्दै गएको देखिन्छ । अलैंचीको निर्यात ७२ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८–७९ मा अलैंची ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँको निर्यात हुँदा आर्थिक वर्ष २०७९–०८० मा भने बढेर ८ अर्ब २७ करोड ६८ लाख ५० हजार मूल्यबराबरको पुगेको छ । अलैंची भने भारत र पाकिस्तान जाने गरेको छ । तर, आर्थिक वर्ष २०८०–८१ मा भने अलैंची निर्यात घटेर ७ अर्ब ९४ करोड ९ लाख ६४ हजार रुपैयाँ बराबर पुगेको छ ।
यस्तै चिया पनि आर्थिक वर्ष २०७८–७९ मा ३ अर्ब ४३ करोड ४३ लाख ५० हजारको निर्यात हुँदा, २०७९–०८० मा १४.६ प्रतिशतले बढेर ३ अर्ब ९३ करोड ७२ लाख ६६ हजार पुगेको छ । चिया भारतका साथै अमेरिका, जर्मनी, रुस, चेक रिपब्लिक, नेदरल्याण्ड, फ्रान्स, जापान र अष्ट्रेलिया जाने गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा भने चिया निर्यात ३ अर्ब ६२ करोड ५० लाख १२ हजार रहेको छ ।
यस्तै छुर्पी निर्यात पनि बढेको छ । आर्थिक वर्ष २०७८–७९ मा २ अर्ब ९१ करोड १९ लाख ३९ हजारको निर्यात भएको छुर्पी बढेर आर्थिक वर्ष २०७९–०८० मा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार पुगेको छ । छुर्पी अमेरिका, क्यानडा, जापान, युके, सिङ्गापुर, हङकङ, कोरिया निर्यात हुने गरेको छ । छुर्पी निर्यात २०८०–८१ मा भने ३ अर्ब १८ करोड ४३ लाख २७ हजारको भएको छ ।
पछिल्लो समय प्लाइउडको निर्यात पनि बढ्दो क्रममा छ । आर्थिक वर्ष २०८०–०८१ मा प्लाइउडको निर्यात ७ अर्ब ४१ करोड ५३ लाख २२ हजार बराबरको हुँदा अघिल्लो आर्थिक वर्ष भने प्लाइउडको निर्यात ४ अर्ब ७० करोड ५१ लाख ८१ हजार मात्रै थियो ।
यस्तै अदुवाको व्यापार पनि बढेको देखिन्छ । आर्थिक वर्ष २०७८–७९ मा ६४ करोड १४ लाख ५६ हजारको अदुवा निर्यात भएपनि आर्थिक वर्ष २०७९–८० मा बढेर १ अर्ब २२ करोड २२ लाख ३३ हजार बराबरको निर्यात भएको देखाउँछ । आर्थिक वर्ष ८०–८१ मा भने १ अर्ब १७ करोड ६१ लाख ६९ हजार बराबरको अदुवा निर्यात भएको छ । अदुवा पनि भारत, जर्मनी, कतार र बंगलादेश जाने गरेको छ । यस्तै नेपाली कागज निर्यात भने घटेको छ । आर्थिक वर्ष २०७८–७९ मा १ अर्ब ८१ करोड ६८ लाख ८६ हजारको नेपाली कागज निर्यात भएपनि आर्थिक वर्ष २०७९–८० मा भने घटेर १ अर्ब १३ करोड ६५ लाख ५८ हजार बराबरको निर्यात भएको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०८०–८१ मा भने १ अर्ब २ करोड ८ लाख ९० हजार बराबरको नेपाली कागज निर्यात भएको छ ।
यस्तै अम्लिसोको निर्यात बढेको छ । आर्थिक वर्ष २०७८–७९ मा ६९ करोड ९८ लाख ६२ हजारको अम्लिसो निर्यात हुँदा आर्थिक वर्ष २०७९–८० मा भने १ अर्ब ८८ लाख बराबरको अम्लिसो निर्यात भएको छ । आर्थिक वर्ष ८०–८१ मा अम्लिसोको निर्यात १ अर्ब ३२ करोड ५२ लाख ५४ हजार बराबरको रहेको छ ।
यस्तै जुट तथा जुटजन्य वस्तुको निर्यात पनि कोशीबाटै हुने गरेको छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०–८१ मा जुट तथा जुटजन्य वस्तु ७ अर्ब ६४ करोड ३३ लाख ४३ हजार बराबरको निर्यात भएको छ । यस्तै धागो उत्पादन पनि कोशी प्रदेशको रिलायन्स स्पिनिङ मिलले गर्ने गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा नेपालबाट धागो निर्यात १२ अर्ब २० करोड २८ लाख ५३ हजार बराबरको भएको छ ।
यस्ता छन् निर्यातको समस्या
उत्पादित वस्तुको निर्यातमा पनि विभिन्न समस्या व्यहोर्न परिरहेको व्यवसायी बताउँछन् । नेपालमा उत्पादन भएर प्रशोधन हुँदै अन्य मुलुकमा पठाउँदा लागत मूल्य महँगो पर्ने हुँदा प्रतिस्पर्धामा समस्या हुने गरेको उनीहरु बताउँछन् । ‘नेपालबाट जुट, टेक्सटायल, कार्पेट, खाने तेल, प्लाइउड, त्यस्तै धेरै वस्तुहरु निर्यात भइरहेका छन् । यी वस्तुहरु सकेजति पठाउन सकिएको छैन । कारण के हो भने हाम्रोमा लजिष्टिक हडल्सहरु धेरै छ । ट्रान्सपोर्टेसनको हडल्स धेरै छ । त्यसलाई कसरी कम गर्न सकिन्छ ? मुख्य कुरा यो हो,’ विराटनगरका उद्योगी अविनाश बोहोराले भने, ‘पहिले हामीले कलकत्ताबाट आउने कार्गोलाई जोगवनीसम्म ल्याउन रेलरुटबारे धेरै बोल्यौं । रेलरुट दुवै देशका प्रधानमन्त्रीले उद्घाटन पनि गरे । तर, त्यो पूर्ण रुपले संचालनमा आएन । त्यो संचालनमा आएको भए त्यहाँबाट आएको कार्गो नेपाल आउनलाई पनि एकदेखि डेढ रुपैयाँ लागत कममा आउँथ्यो र यहाँबाट कन्टेनर फेरि त्यही रेलबाट पठाउँदा अर्को लागत कम हुन्थ्यो । यसकारण एक्सपोर्टमा काहिँ न काँही फिजिबल हुने चान्सेज बढेर जान्थ्यो । यो एउटा सबैभन्दा ठूलो कमजोरी भएको छ ।’
निर्यातमा देखिएका कतिपय हडल्सहरु समाधानमा सरकारले ध्यान दिन सके खानेतेल मात्रै वार्षिक २ खर्ब बराबरको निर्यात हुनसक्ने उनी दाबी गर्छन् । ‘अहिले पनि नेपालबाट करिब करिब वर्षको दुई खर्बको खाने तेल मात्रै निर्यात गर्ने सम्भावना छ । त्यसमा सोयाबिन, सनफ्लावर र पाम तेल रहेको छ । यस्तै धागोहरु पठाउन सक्छौं । सिमेन्टको सम्भावना पनि छ । तर, अहिले त्यो किन कम भएको छ भन्दा हाम्रो लागत बढी महँगो भयो । त्यसकारण पठाउन सकेका छैनौं,’ उनले भने, ‘अहिले पनि राम्रोसँगले प्लाइहरु गइरहेको अवस्था छ । जुट, जटिबुटीका कुरा पनि राम्रोसँगले ठूलो मात्रामा पठाउन सक्छौं । ती कुराहरुको प्रोसेसिङ युनिटहरु पनि यो क्षेत्रमा राख्न सक्छौं ।’
नेपालमा उत्पादित अदुवा, अलैंची, चिया, अम्लिसो लगायतका वस्तुहरु पनि निर्यात बढाउन सकिने र त्यसका लागि उत्पादन बढाउनु पर्नेमा उनको जोड छ । ‘हामीसँग भएका कृषिजन्य वस्तुहरु भनेको भ्यालुएडेट छन् । जसले हाम्रो निर्यातलाई बुस्ट गर्छ । त्यसमा हुने समस्या भनेको पनि गुणस्तरकै कुरा हो,’ बोहोराले भने, ‘अदुवा नेपालबाट भारत जान्छ । भारतले प्रशोधन गरेर अरु देशमा पठाउँछ । त्यो त नेपालमै पनि गर्न सकिन्छ । चियाको हाइभ्याल्लु कसरी बनाउन सकिन्छ ? हामीले कृषिजन्य वस्तुको निर्यातमा भ्यालुएडेट गर्न राज्य नै चनाखो हुनुपर्छ ।’
व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका प्रमुख विष्ट पनि निर्यातमा हुने समस्या भनेको गुणस्तरमै रहेको बताउँछन् । ‘पहिलो समस्या भनेको गुणस्तरीय उत्पादन नै हो । मुख्य कुरा विदेशीहरूले गुणस्तरीय मालवस्तु चाहन्छन् । हाम्रो अहिलेको उत्पादन पनि गुणस्तरीय नहुने गरेको छ,’ उनले भने, ‘अहिले अग्र्यानिक मालवस्तुको माग धेरै छ ।’ निर्यात बढाउन उत्पादन बढाउन लाग्नुपर्नेमा उनले जोड दिए । ‘उत्पादन बढ्यो भने गुणस्तरमा पनि हामी जान सक्छौं । त्यसपछि हामी ग्लोबल मार्केटमा पनि जान सक्छौं,’ उनले भने, ‘निर्यातको भविष्य राम्रो देख्छु म । तर, हाम्रो युवा जनशक्तिको विदेश पलायन रोकेर यही उत्पादनमा लगाउनु आवश्यक छ ।’