विराटनगर । गहुँ खेती गर्ने समयमा चाहिने रसायनिक मलको मौज्दात कोशी प्रदेशमा पर्याप्त रहेको पाइएको छ । धान भित्र्याएर गहुँ लगाउने र उत्पादन बढाउने प्रयोग गरिने रसायनिक मलको मौज्दात कोशी प्रदेशमा पर्याप्त रहेको पाइएको हो ।
विराटनगर स्थित कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरका अनुसार माग अनुसारको रसायनिक मल बिक्रिवितरण गरिदै अझै मौज्दात पर्याप्त रहेको छ ।
कार्यालय अनुसार कोशी प्रदेशमा युरिया १० हजार १५३ मेट्रिक टन, डिएपी ६९४ मेट्रिक टन, पोटास २४९ टन मौज्दात रहेको कार्यालयले जनाएको छ । प्रादेशिक कार्यलयले कोशी प्रदेशमा विराटनगर, धनकुटा, इटहरी, इलाम, विर्तामोड र गाईघाटमा रहेको कार्यालयहरुबाट स्थानीय तहको सिफारिसमा किसानको सहकारी संस्थालाई रसायनिक मल बिक्री वितरण गर्दै आएको जनाएको छ । कार्यालयमा हालसम्म कृषि चुन ४३ मेट्रिक टन मौज्दात रहेको जनाएको छ । प्रादेशिक प्रबन्धक नरेशकुमार दहालले माग अनुसार मल वितरण भइरहेको बताए ।
प्रादेशिक कार्यालयले मधेश प्रदेशमा समेत एक सय मेट्रिक टन पठाएको जनाएको छ । मोरङमा २४१ वटा सहकारी संस्था मार्फत मल बिक्री वितरण हँुदै आएको छ । किसानको माग अनुसार स्थानीय तहको सिफारिसमा मल सहकारी मार्फत बिक्री वितरण गर्दै आएको बताउँदै प्रादेशिक प्रबन्धक साफकोटाले भने –‘मलको अभाव छैन ।’ तत्काल आपूर्ति नभए पनि मलको समस्या नभएको उनले बताए । सिजन नभएको बेला मल बितरणमा कडाइ गरेकोले गहुँ खेतीका लागि चाहिने मल पर्याप्त भएको उनको दावी रहेको छ । आवश्यकता नभएको बेला सहकारीलाई दिंदै आएको मलमा कडाइ ग¥यो उनले भने –‘सिजनमा चाहिने मल किसानलाई अपुग भएन् ।’
सुरुमा सिफारिस लिएर आए अनुसार नै सहकारीले मल दियो–‘अहिले आवश्यकता अनुसार ५० बोराको दरले दिंदै आएका छौं । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेड दुवैको बिक्रेता एउटै संस्था भएकाले अभाव देखिने गरेको बताइएको छ ।
एक स्थानबाट मल लिएर किसानलाई वितरण गर्ने र अर्को ठाउँबाट लिने गरेको मल अन्यत्र बेचिने प्रबृत्तिले किसानले समय समयमा मल अभावको समस्या भोग्नु परेको पाइएको छ ।
त्यसैगरी कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले मंसिर महिनामा मात्रै विराटनगर स्थितको कार्यालयबाट युरिया २ हजार ७४९ टन, डिएपी २ हजार १९५ टन र पोटास २८३ टन बिक्री गरेको छ । त्यस्तै सुनसरी स्थित इटहरीको कार्यालयबाट युरिया १ हजार ५०६ टन, डिएपी ११ सय ७२ टन, र पोटास १२० टन बिक्री गरेको जनाएको छ । बिर्तामोडबाट युरिया १२ सय ८३ मेट, डिएपी १ हजार ५०५ टन र पोटास ९६ मेट्रिक टन बिक्री गरेको छ ।
त्यसैगरी उदयपुरबाट युरिया १६९ टन, डिएपी ८५ टन बिक्री गरेको कार्यालयले जनाएको छ । धनकुटाबाट युरिया ९६ टन, डिएपी ५७ टन र पोटास २ टन बिक्री गरेको तथ्यांकमा उल्लेख छ ।
कोशी प्रदेशभर कृषि सामग्री कम्पनी लिमिटेडले युरिया ५ हजार ८०५ टन, डिएपी ५ हजार १७ टन र पोटास ५०३ मेट्रिक टन बिक्री गरेको जनाएको छ ।