विराटनगर । जिवि राई अध्यक्ष रहेको सहकारीमा भएको ठगी काण्डमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रहरी हिरासतमा छन् । सहकारीको सदस्य नभएपनि जिविले सहकारीबाट रकम लगेको गोरखा मिडिया प्रा.लि.को सञ्चालक भएको कारण उनीमाथि सहकारी ठगीको आरोप लागेको छ ।
करिब तीन महिनादेखि हिरासतमा रहेका लामिछानेमाथि ५ वटा जिल्लामा प्रहरीले मुद्दा चलाएर अनुसन्धान गरिरहेको छ । मोरङमा भने सहकरी ठगीमै जोडिएकी नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलकी श्रीमतिविरुद्ध मुद्दा दर्ता भएपनि प्रहरीले पक्राउ गर्न चासो दिएको छैन ।
सहकारी ठगीमा मुछिएकालाई हिरासतमा लिएर अनुसन्धान गर्ने प्रहरीले मोरङको धनपालथान गाउँपालिकास्थित उमागौरी सहकारी ठगी प्रकरणमा जोडिएकालाई भने पक्राउ गर्न चासो नै दिएन । पीडितहरुले दिएको उजुरीलाई सुरुमा वास्ता नगरेको प्रहरीले सरहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनपछि अनुसन्धान थालेको थियो । त्यसक्रममा केहि सञ्चालकविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको भएपनि एमाले सांसद पोखरेलकी श्रीमतिविरुद्ध भने न अनुसन्धान गर्यो र पक्राउ पुर्जी नै जारी भयो ।
संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति रहेका ऋषिकेश पोखरेलकै योजनामा उनकी श्रीमती अञ्जला सञ्चालक रहेको सहकारीमा करोडौं रकम ठगी भएको सार्वजनिक भइसकेको छ । सो प्रकरणमा अञ्जलालाई सहकारीमा ऋण लगानी गरेको आरएसडिसी लघुवित्तले कालोसुचीमा राखेको छ । तर, प्रहरीले सो सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयमार्फत मोरङमा बिहीबार मुद्दा दर्ता गर्दा भने अञ्जलालाई पक्राउ त के सोधपुछसमेत गरेन ।
उमागौरी कृषि सहकारीको रकम हिनामिना भएको समयमा अञ्जला सहकारीकै सञ्चालक थिइन् । सो सहकारीको अनुसन्धान गरेको प्रहरीले विराटनगस्थित महेन्द्र रात्री विद्यालयकी शिक्षिका उनलाई पक्राउ त सोधपुछ नै गरे । बरु घरबाट स्कूलमा गएर दैनिक हाजिर गरिरहेकी उनलाई ‘फरार सूचीमा राखेर’ मुद्दा दर्ता गरिएको छ ।
जवकि अञ्जलाले शुक्रबार पनि विद्यालयमा हाजिर रहेको महेन्द्र रात्री माविले जनाएको छ । शुक्रबार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सहिद रंगशालामा भएको कार्यक्रममा पनि उनी उपस्थित थिइन् । आइतबार भने उनले विरामी भएको भन्दै ५ दिनको विदा लेखेको विद्यालयका प्रधानाध्यापक झंकप्रसाद पराजुलीले जानकारी दिए ।
सांसद पोखरेलको अगुवाइमा खोलिएको सो सहकारीमा अञ्जलालाई जोगाउन कोशी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले उनको नाम हटाएर अनुसन्धानको लागि प्रहरीमा पत्र पठाएको थियो । तर, प्राप्त कागजात तथा पीडितहरुले दिएको उजुरीमा उनको संलग्नता स्पष्ट देखिएकोले मुद्दा भने दर्ता गरिएको छ । अभियोगपत्रमा सहकारी ठगीमा अञ्जलाको पनि संलग्नता रहेको स्पष्ट उल्लेख छ ।
अञ्जलालाई ‘फरार अभियुक्त’ बनाउनुको उद्देश्यको पछाडि ठूलो चलखेल रहेको स्पष्ट देखिन्छ । मुद्दा दर्ता भएपछि अदालतबाट पक्राउ पुर्जी जारी हुने भएपनि उनलाई पक्राउ नगरिने प्रहरी स्रोतले जनाएको छ । ‘३५ दिनको म्याद कटेपछि अदालतमा सोझै हाजिर गराउने योजना अनुसार उनलाई मुद्दा चलाउनु अगाडि पक्राउ पनि नगरिएको छ र सोधपुछ पनि नभएको हो’ एक प्रहरी अधिकृतले भने, ‘सरकारको नेतृत्व गरेको सांसदकी पत्नी भएपछि त्यति सुविधा त पाइहाल्छिन् नि !’
मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले प्रदेश रजिस्ट्रार कार्यालयको परिपत्रका आधारमा वर्तमान सञ्चालक समिति र लेखा समितिका १० जनाविरुद्ध यसअघि अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा अनुसन्धानबाट अन्यको पनि संलग्नता देखिएकोले थप १६ जनालाई प्रतिवादी बनाएको बताए । फरार २५ जना प्रतिवादीलाई अदालतको अनुमतिमा पक्राउ गरिने उनको दावी छ ।
मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले सहकारीका अध्यक्ष, सचिव र कोषाध्यक्ष यो प्रकरणमा मुख्य अभियुक्त देखिएको भन्दै उनीहरु पक्राउ नपरेसम्म सहकारी ठगीको तथ्य नखुल्ने बताए । उनीहरु पक्राउ नपरेसम्म अन्यलाई पक्राउ गर्नुको अर्थ नहुने उनले दावी गरे । अनुसन्धानको प्रक्रियामा प्राप्त कागजातको आधारमा प्रतिवादी कायम गरेको उनको भनाइ छ ।
एसपी चिमरियाले ३ जना मुख्य अभियुक्त रहेको दावी गरेपनि अदालतमा दायर भएको अभियोगपत्रमा २६ जनालाई समान अभियोग लगाइएको छ । सहकारीको सञ्चालक समिति तथा ऋण समितिमा रहेका पदाधिकारी तथा सदस्यहरुले संस्थालाई नाफामा देखाउने उद्देश्यले गलत लेखा परिक्षण गराउने, संस्थाको बैठकमा सबै उपस्थित भएर निर्णय गर्ने गरेकोले सहकारी ठगीमा सबैको संलग्नता देखिएको अभियोगपत्रमा उल्लेख छ । यस्तै महिला उद्यमशिलता कर्जाको रकम पीडितको जग्गा धितोमा राखेर नबिल बैंकबाट ऋण प्रवाह गराई केही हिस्सा पीडितलाई दिएर अन्य रकम अञ्जलासहितका अभियुक्तहरुले खाएको अभियोगपत्रमा उल्लेख छ ।
निजहरुले सहकारी ऐन, २०७४ को दफा १२२ को देहाय (घ), (ङ), (च), (छ) (ज), (ञ) र (त) बमोजिमको कार्य कसूर गरेको स–प्रमाण पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ । अभियुक्तहरुलाई सहकारी ऐनको दफा १२४ को उपदफा (१) को देहाय (घ) (५) बमोजिम विगो २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ बिगो कायम गरि ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदावी अभियोगपत्रमा छ ।
इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको अभियोग प्रतिवेदनउपर अभियोजन गरेर सरकारी वकिलको कार्यालय मोरङले शुक्रबार पोखरेलपत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको छ । सहकारी सञ्चालक समिति तथा ऋण समितिमा रहेका पदाधिकारीले बचतकर्तालाई बचत गर्न लगाई सस्तो ब्याजदरमा ऋण प्रवाह गर्ने भनी झुटो आश्वासनसमेत दिई महिला उद्यमशील कर्जा सस्तो दरमा दिलाउने भनी नबिल बैंकलाई देखाई, मिलाई संस्थाबाट बचतकर्ताले लिने गरेको ऋणमा समेत हेरफेर गरी सेयर कमिसन, नियम विनियम अवज्ञा गरी विभिन्न स्थानमा शाखा खोली बचत रकम उठाउने गरेको, कर्जा कमिसन तथा ऋण प्रवाह नगरी केही रकम मात्र प्रवाह गरी रकम खाने–पचाउने नियतले संस्थाको २२ करोड ४८ लाख २७ हजार ७२० रुपैयाँ हिनामिना गरी सहकारी ऐनको निषेधित कार्य कसुर गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।
सो प्रकरणमा सहकारीका वर्तमान कार्यसमिति सदस्य धनपालथान गाउँपालिका– ४ का ३७ वर्षीय रोशन राजवंशी मात्र पक्राउ परेका छन् । उनलाई मोरङ अदालतले शुक्रबार पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
धनपालथान गाउँपालिका–४ का पूर्व वडाअध्यक्ष राजवंशी सहकारीबाट आफंै पीडित हुन् । सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारले आमाको नाममा रहेको घरजग्गा बैंकमा धितो राखेर ८० लाख रुपैयाँ ऋण निकालेर प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी लिएर आएका उनलाई प्रहरीले पक्राउ गरेको थियो । सो रकममा आफूले ३० लाख रुपैयाँ मात्र पाएको उनको भनाइ छ ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अध्यक्ष रौनियार तथा सञ्चालक अञ्जलासहित सहकारीका उपाध्यक्ष लक्ष्मण साह रौनियार, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सञ्चालक समिति सदस्यहरू आमोदकुमार मण्डल, जितमान ठाकुर र रोशन राजवंशीविरुद्ध मुद्दा चलाएको छ । त्यस्तै, लेखा समितिका संयोजक विजयकुमार यादव र सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलाई पनि प्रतिवादी बनाइएको छ ।
त्यस्तै, पूर्वउपाध्यक्षहरू दिलमाया राई, उपासी राजवंशी, शम्भुप्रसाद सिंह, सन्तलाल खवास, सुमन लोहनी, पूर्वसहसचिव लक्ष्मीदेवी कार्की राजवंशी, पूर्वसदस्यहरू ज्योति बाँस्कोटा, मित्रप्रसाद सिवाकोटी, शरदराज सिंह, मनोजकुमार सोनी, मोहम्मद नसरुद्दिन र यशोदाकुमारी राजवंशीविरुद्ध मुद्दा चलाइएको छ । सहकारीका लेखापाल सोनु यादव, पूर्वकर्मचारीहरू मोहम्मद नजाम उद्दिन र चम्पा गिरी पनि प्रतिवादी छन् ।
उमागौरी सहकारीमा सांसद पोखरकी पत्नी अञ्जला सहकारीमा रकम हिनामिना हुँदाको बखत २०७२ देखि ०७८ सम्म अञ्जला सञ्चालक सदस्य थिइन् । उनीसमेतको हस्ताक्षरबाट भएको निर्णयको आधारमा सहकारीले बुटवलस्थित आरएसडिसी लघुवित्तबाट ऋण लिएको छ । तर, सो ऋण नतिरेपछि सहकारीले अञ्जलासहित सञ्चालकविरुद्ध मुद्दा दर्ता गरेको छ भने उनीहरुलाई कालोसुचीमा राखेको छ ।
एमाले सांसद पोखरेकै अगुवाइमा सहकारीले नविल बैंक र आरएसडिसी लघुवित्तबाट सहकारीका सदस्यको नाममा कर्जा लिएको थियो । तर, सो कर्जा सञ्चालकहरुले नै हिनामिना गरेका छन् । सहकारीका ७०७ ऋणीका नाममा २४ करोड ३० लाख ८० हजार कर्जा प्रवाह भएको छ । तर, सोमध्ये सहकारीका सदस्यले आधा पनि ऋण नलिएको देखिएको छ । बरु अध्यक्ष रौनियारसहित सञ्चालकले नै सो रकम हिनामिना गरेको पीडितले बताउँदै आएका छन् ।
सहकारीमा करिब पाँच हजार सेयर सदस्य छन् । कतिपय ऋणीलाई बैंकबाट ऋण लिन लागेको थाहै नदिई झुक्याएर हस्ताक्षर र ल्याप्चे गराइएको छ । बचत र ऋण हिनामिनाबारे पीडितहरूले प्रश्न उठाउन थालेपछि करिब डेढ वर्षदेखि सहकारीमा ताला लगाइएको छ ।
सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको अभियोगपत्रमा ८ हजार ८ सय ४२ जना शेयर सदस्यहरुको ३ करोड ८ लाख ८० हजार ३ सय रुपैयाँ सेयर रकम रहेको र ७०७ जना ऋणीहरुले २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ संस्थाबाट ऋण लिएको सहकारीले देखाएको उल्लेख छ । ऋणमध्ये ८ करोड १३ लाख ६४ हजार ७ सय रुपैयाँ ऋण उठेको र बाँकी १६ करोड १६ लाख ५७ हजार ८३२ रुपैयाँ ऋण उठ्न बाँकी देखाइएको विवरण छ ।
ऋणहरुको निवेदन समेतको व्यहोराबाट उमागौरी कृषि सहकारी संस्थाबाट महिला उद्यमशिल कर्जा शीर्षकबाट ऋण उपलब्ध गराउने भनी तमसुक बनाएर धितोको लागि ऋणीहरुले घरजग्गा राखेकोमा सोही धितो राखिएको जग्गा नविल बैंक लिमिटेडमा धितो राखी कर्जा निकाली माग गरेको धितो रकमभन्दा आधा रकम मात्र सम्बन्धित ऋणीलाई उपलब्ध गराइ आधा रकम आफैंले खाइमासी हिनामिना गरेको कारण हाल सफ्टवेयरमा संस्थाले लगानी गरेको ऋण बढी देखिएको अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ । कर्जाको लागि धितो राखेको घरजग्गा सम्बन्धित ऋणीहरुको सहमतीबिना नै नविल बैंकमा धितो राखी उक्त रकम निकासा भएपश्चात अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ ।
‘प्रमाणहरु समेतबाट संस्थामा आवद्ध प्रतिवादी अंजलासहितका २६ जनाले समयमा साधारणसभा गरी संस्थालाई नाफामा देखाउने उद्देश्यले गलत लेखा परीक्षण गराउने, संस्थाका पदाधिकारीहरु संस्थाको आयोजनामा हुने मिटिङमा सहभागी हुने, निर्णयमा दस्तखत गर्ने कार्यले सबैको संलग्नतासमेत स्थापित भएको‘,’ अभियोगपत्रमा उल्लेख छ । फरार प्रतिवादीको सूचिमा रंगेली नगरपालिका–वडा नम्बर २ का वडा अध्यक्ष ४३ वर्षीय संतलाल खवास पनि छन् । सहकारीको पूर्वउपाध्यक्ष उनी २०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट वडाअध्यक्ष निर्वाचित भएका थिए ।