विराटनगर । कोशी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी सुटुक्क जापान जाँदा मन्त्री पद गुमाउनु परेको थियो । मानव तस्करीको आरोपमा उनी माथिको मुद्दा विचाराधीन अवस्थामा छ । अधिकारीको मन्त्री पद खुस्किएको घट्ना सेलाउन नपाउँदै मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै निर्देशनमा केही सांसदलाई भारतमा पठाइएको छ ।
गत शुक्रबारदेखि भारतको कोलकतामा आयोजना भएको कार्यक्रममा एक संस्थाको निमन्त्रणमा प्रदेशका सांसदहरु सुनिताकुमारी गुरुङ, राधाकृष्ण खनाल, ललिताकुमारी चौधरी, र सुनिताकुमारी गच्छदार चौधरी गएका थिए । चारै जना सत्ता गठबन्धनकै प्रदेश सांसद हुन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको आग्रहमा उनीहरु भारत जान राजी भएका थिए । अत्यन्तै छोटो समयमा कार्यक्रममा जान मुख्यमन्त्री स्वयंले आग्रह गरेपछि कुनै पनि प्रक्रिया पूरा नगरी कोशी प्रदेशका चार चार जना सांसदको टोली भारतको कोलकता पुगेको थियो ।
ग्रिन जेनेरेसन नामक संस्थाले उनीहरुलाई अन्तर्राष्ट्रिय सुन्तला महोत्सवमा लगेको हो । त्यसका लागि उनीहरुले मुख्यमन्त्रीसँग सांसद पठाइदिन आग्रह गरेका थिए । महोत्सवका लागि लाग्ने खर्चसमेत उपलब्ध गराइदिने बाचा गर्दै मुख्यमन्त्रीले विदेश भ्रमणका लागि सांसदहरुलाई मौखिक आग्रह गरेका थिए । एक जना सांसदले भने ‘मुख्यमन्त्रीले राति १० बजेतिर फोन गरेर भोलि भारत जानु भनेर आग्रह गर्नुभयो, मुख्यमन्त्रीकै आग्रह भएपछि नाई भन्न पनि सकिएन र कुनै तयारीसमेत गर्न नपाएको बिहानै काँकडभिट्टा हुँदै भारततर्फ गएका हौं ।’
प्रदेशसभाका सासदले वैदेशिक भ्रमण गर्दा मन्त्रिपरिषदको निर्णय गरेपछि मात्रै जान पाउने कानुनी प्रावधान रहेको छ । कोही कसैसँग अहिलेसम्म सस्थाले अनुमति नलिने गरेको ग्रिन जेनेरेसनका संस्थापक अध्यक्षसमेत रहेका अर्जुनकुमार कार्कीले बताए । सो संस्थाले छैटो पटक कार्यक्रममा सहभागिता जनाएको छ । २०१४ देखि हालसम्म गरेर ६ पटक महोत्सवमा भाग लिएको उनले बताए । ‘अहिलेसम्म हामीले कतै अनुमति लिनु परेको छैन,’ कार्कीले भने ‘हामीसँग सरकारी कर्मचारीहरु पनि जाने गर्नु भएको छ । पयर्टन बोर्डका कर्मचारीसमेत जाने गरेका छन् ।
मुख्यमन्त्रीकै निर्देशनमा सो कार्यक्रममा जानका लागि समेत पैसा दिने सो संस्थाले बजेट माग गरेको छ । ‘झापामा रहेको पर्यटन कार्यालयमा १० लाख माग गरिएको छ । मुख्यमन्त्रीज्युले नै पर्यटन वर्ष २०८२ लक्षित गरेर प्रचार हुन्छ केहि बजेट दिन्छौं भनेपछि हामीले प्रस्ताव दर्ता गराएका छौं । कार्यक्रम सम्झौता भएको छैन । अब सम्झौता होला’ उनले भने ।
पर्यटन कार्यालयमा बजेट माग गरेको पत्र आएको र त्यसबोर मन्त्रालयमा लेखेर पठाइसकिएको पर्यटन कार्यालय झापाका सूचना अधिकारी निरज कट्टेलले बताए । स्रोतका अनुसार पर्यटन वर्षको बजेट मार्फत सो संस्थालाई रकम निकासा गर्न मुख्यमन्त्री कार्कीले नै मन्त्रालयका कर्मचारीलाई दबाब दिएका छन् । यस पटकको महोत्सवमा २२ लाख खर्च भएको उनले बताए । वडा कार्यालयले एक लाख बजेट विनियोजन गरेको उनले बताए । सिटी अफ जोए कम्पनीको आयोजनामा भएको यस महोत्सवमा वडाको बजेट भने जाने तयारीका लागि विभिन्न कार्यक्रम गर्दा खर्च भएको कार्कीले बताए ।
उनीहरुले सभामुखलाईसमेत जानकारी नगराइ छिमेकी मुलुक भारतमा गएका हुन् । ‘सुन्तोला महोत्समा जाने माननीयहरुले केही जानकारी गराउनु भएको छैन,’ सभामुख अम्बरबहादुर विष्टले भने ‘यस अगाडिका माननीयले खबर गराउनु हुन्थ्यो ।’
मुख्यमन्त्रीकै निर्देशनमा महोत्सवमा गएको प्रदेश सांसद राधाकृष्ण खनालले बताए । ‘हामीलाई मुख्यमन्त्री र पर्यटन वन वातावरण मन्त्री सदान्द मण्डलले त्यहाँ जान दिर्नेशन दिएपछि हामी गएका हौं,’ उनले भने ।
कोशी प्रदेशका मन्त्री परिषदले पालाना गर्नुपर्ने आचार संहिता २०८१ प्रदेशको राजधानी बाहिर भ्रमण गर्न पर्ने भएमा मुख्यमन्त्रीबाट पूर्व स्वीकृत लिएर मात्रै भ्रण गर्नुपर्ने उल्लेख छ । आफ्नै मन्त्री परिषदबाट पारित गरेको आचारसंहितासमेत मुख्यमन्त्री कार्कीले पालाना गरेका छैनन् ।