सहकारी ठगी प्रकरण : ऋषिकेशपत्नी कोइरालाविरुद्ध पक्राउ पूर्जी जारी

विराटनगर । जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा प्रतिवादी रहेकी संघीय संसदको सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अंजला कोइरालासहित २५ जना विरुद्ध ३५ दिने अदालती पक्राउ पूर्जी जारी गरेको छ ।

मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजालशले सहकारी संस्था ठगी प्रकरणमा कोइरालासहित २५ जना विरुद्ध पक्राउ पूर्जी जारी गर्ने आदेश भएको मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

अदालतले पक्राउ पूर्जी जारी गरेपछि सम्बन्धित अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय रंगेलीलाई पत्र सोमबार पठाइएको छ । ‘सहकारी ठगी प्रकरणमा २५ जना विरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको छ’ उनले भने, ‘प्रहरीमार्फत प्रतिवादीहरूलाई पक्राउको लागि पत्र पठाएका छौं । ७ दिनभित्रमा प्रतिवादीहरु पक्राउ नपरे प्रहरीले सम्बन्धित प्रतिवादीको घरमा म्याद तामेली गर्नेछ ।’

म्याद गुजारेमा मुद्दा कानूनबमोजिम प्रक्रिया अगाडि बढ्ने अदालतले जनाएको छ । मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थामा २२ करोड भन्दा बढि रकम अनियमितता भएको भन्दै प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मंसिर २७ गते संघीय संसदको सार्वजनिक लेखासमिति सभापति पोखरेलकी पत्नी कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको थियो ।
सहकारीमा २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको भन्दै अभियोग पत्र दायर भएको छ । उनीहरूलाई सो बिगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदावी अभियोगपत्रमा छ ।

मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले पक्राउ पुर्जी जारी गर्ने आदेश गरेको हो । मङ्सिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई सोही मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको छ । उनी धनपालथान गाउँपालिका–४ का पूर्व वडाध्यक्ष हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका थिए ।

फरार प्रतिवादीको सूचीमा नेकपा एमालेका नेता रहेका रङ्गेली नगरपालिका–२ का वडाध्यक्ष ४३ वर्षीय सन्तलाल खवास पनि छन् । उनी सहकारीको पूर्व उपाध्यक्ष हुन् । २०७९ सालको निर्वाचनमा उनी नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए ।

सांसद पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् । तर, उनी सञ्चालक रहेको समयमा सहकारीमा अनियमितता भएको खुलेको छ । उनी सञ्चालक हुँदा सहकारीले लिएको ऋण नतिरेका कारण आरएसडिसी लघुवित्त वित्तीय संस्थाको निवेदनका आधारमा कोइरालासहितका सञ्चालकहरु कालोसूचीमा समेत छन् ।

सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ । उजुरीका लागि सार्वजनिक आह्वान पनि भएको थियो । सो आह्वानपछि २० जना ऋणीले आफूहरू ठगिएको भन्दै प्रहरीमा निवेदन दिएका छन् ।

महिला उद्यमशील कर्जाका नाममा सदस्यको कागजात सङ्कलन गरी सहकारीले नविल बैङ्कबाट ऋण निकालेर सहकारीले थोरै मात्रै सदस्यलाई दिने गरेको थियो । सदस्यले ऋणको किस्ता बापत सहकारीमा बुझाएको रकम बैङ्कमा दाखिला नगरी सञ्चालक आफैंले प्रयोग गरेका थिए ।

सहकारी ठगीमा मुछिएकालाई हिरासतमा लिएर अनुसन्धान गर्ने प्रहरीले मोरङको धनपालथान गाउँपालिकास्थित उमागौरी सहकारी ठगी प्रकरणमा जोडिएकालाई भने पक्राउ गर्न चासो नै दिएन । पीडितहरुले दिएको उजुरीलाई सुरुमा वास्ता नगरेको प्रहरीले सरहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनपछि अनुसन्धान थालेको थियो । त्यसक्रममा केहि सञ्चालकविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको भएपनि एमाले सांसद पोखरेलकी श्रीमतिविरुद्ध भने न अनुसन्धान गर्यो र पक्राउ पुर्जी नै जारी भयो ।

संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति रहेका ऋषिकेश पोखरेलकै योजनामा उनकी श्रीमती अञ्जला सञ्चालक रहेको सहकारीमा करोडौं रकम ठगी भएको सार्वजनिक भइसकेको छ । सो प्रकरणमा अञ्जलालाई सहकारीमा ऋण लगानी गरेको आरएसडिसी लघुवित्तले कालोसुचीमा राखेको छ । तर, प्रहरीले सो सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयमार्फत मोरङमा बिहीबार मुद्दा दर्ता गर्दा भने अञ्जलालाई पक्राउ त के सोधपुछसमेत गरेन ।

उमागौरी कृषि सहकारीको रकम हिनामिना भएको समयमा अञ्जला सहकारीकै सञ्चालक थिइन् । सो सहकारीको अनुसन्धान गरेको प्रहरीले विराटनगस्थित महेन्द्र रात्री विद्यालयकी शिक्षिका उनलाई पक्राउ त सोधपुछ नै गरे । बरु घरबाट स्कूलमा गएर दैनिक हाजिर गरिरहेकी उनलाई ‘फरार सूचीमा राखेर’ मुद्दा दर्ता गरिएको छ ।

जवकि अञ्जलाले शुक्रबार पनि विद्यालयमा हाजिर रहेको महेन्द्र रात्री माविले जनाएको छ । शुक्रबार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सहिद रंगशालामा भएको कार्यक्रममा पनि उनी उपस्थित थिइन् । सोमबार भने उनले विरामी भएको भन्दै ५ दिनको विदा लेखेको विद्यालयका प्रधानाध्यापक झंकप्रसाद पराजुलीले जानकारी दिए ।

सांसद पोखरेलको अगुवाइमा खोलिएको सो सहकारीमा अञ्जलालाई जोगाउन कोशी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले उनको नाम हटाएर अनुसन्धानको लागि प्रहरीमा पत्र पठाएको थियो । तर, प्राप्त कागजात तथा पीडितहरुले दिएको उजुरीमा उनको संलग्नता स्पष्ट देखिएकोले मुद्दा भने दर्ता गरिएको छ । अभियोगपत्रमा सहकारी ठगीमा अञ्जलाको पनि संलग्नता रहेको स्पष्ट उल्लेख छ ।

अञ्जलालाई ‘फरार अभियुक्त’ बनाउनुको उद्देश्यको पछाडि ठूलो चलखेल रहेको स्पष्ट देखिन्छ । मुद्दा दर्ता भएपछि अदालतबाट पक्राउ पुर्जी जारी हुने भएपनि उनलाई पक्राउ नगरिने प्रहरी स्रोतले जनाएको छ । ‘३५ दिनको म्याद कटेपछि अदालतमा सोझै हाजिर गराउने योजना अनुसार उनलाई मुद्दा चलाउनु अगाडि पक्राउ पनि नगरिएको छ र सोधपुछ पनि नभएको हो’ एक प्रहरी अधिकृतले भने, ‘सरकारको नेतृत्व गरेको सांसदकी पत्नी भएपछि त्यति सुविधा त पाइहाल्छिन् नि !’

मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले सहकारीका अध्यक्ष, सचिव र कोषाध्यक्ष यो प्रकरणमा मुख्य अभियुक्त देखिएको भन्दै उनीहरु पक्राउ नपरेसम्म सहकारी ठगीको तथ्य नखुल्ने बताए । उनीहरु पक्राउ नपरेसम्म अन्यलाई पक्राउ गर्नुको अर्थ नहुने उनले दावी गरे । अनुसन्धानको प्रक्रियामा प्राप्त कागजातको आधारमा प्रतिवादी कायम गरेको उनको भनाइ छ ।
एसपी चिमरियाले ३ जना मुख्य अभियुक्त रहेको दावी गरेपनि अदालतमा दायर भएको अभियोगपत्रमा २६ जनालाई समान अभियोग लगाइएको छ ।

के छ अभियोगपत्रमा ?
इलाका प्रहरी कार्यालय, रंगेली, मोरङबाट अनुसन्धानको कार्य भई निर्णयार्थ प्राप्त हुन आएको मिसिल संलग्न जाहेरी दरखास्त, बरामदी÷खानतलासी मुचुल्का, पक्राउ प्रतिवादीले गरेको वयान एवं बुझिएका मानिसहरुले गरेको कागज तथा खनाल एण्ड एसोसिएट्स (ब्रिज) को संस्थाको अवस्था खुल्ने प्रतिवेदन समेतका आधार प्रमाणहरुबाट बिरुद्ध खण्डमा उल्लिखित प्रतिवादीहरु रोशन राजबंशी, शम्भुप्रसाद रौनियार, लक्ष्मण साह रौनियार, आलम अनसारी मियाँ, शम्भु प्रसाद सिंह, आमोद कुमार मण्डल, जितमान ठाकुर, बिजय कुमार यादव, सुरेन्द्रकुमार राजबंशी, अशोक कुमार बिश्वास, दिलमाया राई, अंजला कोईराला, उपासी राजबंशी, सोनु यादव, मोहमद नजाम उद्दिन, चम्पा गिरी, शम्भु प्रसाद सिंह, संतलाल खवास, लक्ष्मीदेबी कार्की राजबंशी, ज्योती बास्कोटा, सुमन लोहनी, मित्र प्रसाद सिवाकोटी, सरदराज सिंह, मो. नसरुदिन, मनोज कुमार सोनी, यशोदा कुमारी राजबंशीले उमागौरी कृषि सहकारी संस्था लि.मा संचालक समिती तथा ऋण समिती समेतमा रहेका संस्था पदाधिकारीहरुले संस्था बचतकर्ताहरुलाई बचत गर्न लगाई सस्तो व्याजदरमा ऋण प्रवाह गर्ने भनी झुटो आश्वासन दिई महिला उद्यमसिल कर्जा सस्तो दरमा दिलाउने भनी नबिल बैंकलाई देखाई मिलाई संस्थाबाट बचतकर्ताहरुले लिने गरेको ऋणमा समेत हेरफेर गरी सेयर कमिसन, नियम बिनियमको अवज्ञा गरी बिभिन्न स्थानमा शाखा खोली बचत रकम उठाउने गरेको, कर्जा कमिसन तथा ऋण प्रवाह नगरी केही रकम मात्र प्रवाह गरी रकम खाने पचाउने नियतले संस्थाको जम्मा रकम रु.२२,४८,२७,७००÷२० (बाईस करोड अड्चालिस लाख सत्ताईस हजार सात सय रुपैयाँ बिस पैसा) हिनामिना गरी सहकारी ऐनले निषेधित कार्य कसूर गरेको वारदात स्थापित हुन आयो ।

मङ्गलबार, ०२ पुष, २०८१, दिउँसोको ०२:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर