सरकार कुलमान हटाउने योजनामा केन्द्रित : उद्योगमा लोडसेडिङ सुरु

विराटनगर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाईछाड्ने योजनामा सरकार केन्द्रित हुँदा मुलुकमा लोडसेडिङ सुरु भएको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई काम गर्न नदिने र हटाईछाड्यो योजना अनुसार सरकार अगाडि बढ्दा मुलुकमा उर्जा संकट देखिएको हो ।

असोज दोस्रो साता आएको बाढी पहिरोका कारण क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा ढिलाइ भएको बेला भारतबाट विद्युत आयात बढाएर उर्जा संकट टार्ने विकल्प थियो । तर, सरकारले त्यसतर्फ ध्यान दिएको छैन । बरु उसको ध्यान कुशल व्यवसाथकीय क्षमताबाट मुलुकलाई लोडसेडिङमुक्त बनाएका घिसिङलाई हटाउनेमै केन्द्रित छ ।

सरकारले उद्योगहरुले नतिरेको अर्बौको बक्यौता असुलीमा घिसिङलाई असहयोग गरेको छ । त्यति मात्र नभएर घिसिङको काममा अबरोध गर्न उर्जामन्त्री दिपक खड्काले विद्युत प्राधिकरणमै कार्यकक्ष बनाएर बसेका छन् । तर, लोडसेडिङ हटाउनेबारे कुनै पहल गरेका छैनन् ।

आयातमा बृद्धि नभएको अवस्थामा तामाकोशी सञ्चालन नभएसम्म अब औद्योगिक ग्राहकका लागि साँझको समयमा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिएका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको उत्पादन बन्द हुँदा विद्युत् व्यवस्थापन गर्न कठिनाइ भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

माग व्यवस्थामा समस्या हुँदा विद्युत् बढी खपत हुने साँझको समय (पिक आवर)मा औद्योगिक ग्राहकका लागि विद्युत् आपूर्ति कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ । औैद्योगिक क्षेत्रको विद्युत् केही कटौती भएपनि अन्य ग्राहकका लागि विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले प्राधिकरणले तालिका नै बनाएर उद्योगमा साँझ र बिहान विद्युत आपूर्ति बन्द गर्नु भनेको बताए । प्राधिकरणले तालिकै बनाएर विद्युत आपूर्ति बन्द गर्दा उद्योग झन थलिने उनले गुनासो गरे । तालिकामा पनि विद्युत आपूर्ति नहुने र अन्य समयमा पनि झ्याप झ्याप हुने समस्या रहेको उनको भनाइ छ ।

हिउँदयाममा खोला तथा नदीमा पानी घट्दा नदी प्रवाही (रन अफ रिभर–आरओआर) जलविद्युत् आयोजनाको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने गरेको छ । पिक आवरमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्ने गरेको प्राधिरकणले पछिल्लो समयमा सरकारकै असहयोगको कारण आयात गर्न सकेको छैन ।

माथिल्लो तामाकोशी यही पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने गरी मर्मत भइरहेको छ । प्राधिकरणका अनुसार हिउँदयामको विद्युत् माग व्यवस्थापन गर्न भारतको केन्द्रीय विद्युत् प्राधिकरणले आगामी चैत २ गते ९१५ मार्च २०२५०सम्म ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक ६५४ मेगावाटसम्म विद्युत् आयात गर्न अनुमति दिएको छ ।
तर, पिकआवर अर्थात साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत् आयात गर्ने अनुमति भारतले दिएको छैन ।

भारतले चैत ३ गते २०८१ देखि असार १६ गते २०८२ ९१६ मार्च–३० जुन २०२५० सम्म सोलार आवर अर्थात बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिएको छ । पिकआवरमा विद्युत आयातको लागि सरकारी तवरबाटै भारतसँग संवाद गर्नुपर्नेमा घिसिङलाई असहयोग गर्ने योजनमा रेहको सरकारले कुनै पहल नगरेको प्राधिकरण स्रोतले जनाएको छ ।

ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का जसरी भए पनि भारतबाट विद्युत आयात गरेर स्वदेशी मागलाई धान्ने आश्वासन दिएका छन् । तर, त्यस अनुसार काम भएको छैन ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी पनि बन्द रहेको र पिक समयका ४ घण्टा भारतबाट विद्युत आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए । असोज ११ र १२ गतेको अविरला वर्षाका कारण माथिल्लो तामाकोशीका संरचनामा क्षति पुर्याएको थियो ।

मङ्गलबार, ०२ पुष, २०८१, साँझको ०५:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर