भारतमा कोरोना संक्रमित १ लाख नजिक

विराटनगर । भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । आइतबार बिहानसम्म भारतमा ९० हजार भन्दा बढीमा कोरोना संक्रमण भएको छ । कोरोनाका कारण भारतमा २८ सय ७१ जनाको मृत्यु भएको छ ।

शनिबार मात्र भारतमा ४ हजार ८६४ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा ९० हजार ६४८ जना संक्रमित भएका हुन् । अहिलेसम्म ३४ हजार २२४ जना उपचारपछि निको भएका छन् भने ५३ हजार ५५३ जना उपचाररत छन् ।

पछिल्लो समय कोरोना संक्रमण तिब्रतामा फैलिरहेको भारत विश्वका कोरोना प्रभावित मुलुकहरु मध्ये ११ औं स्थानमा आइपुगेको छ । पछिल्लो समय भारतले पेरु र इरानलाई पछाडि पारेको छ । दैनिक संक्रमितसंख्या पनि भारतमा बढ्दै गएको देखिएको छ । अघिल्लो सातासम्म २५ सयदेखि ३ हजारसम्म नयाँ संक्रमित पुष्टि हुँदै आएकोमा अहिले त्यो संख्या करिव ५ हजार हाराहारीमा पुगेको छ ।

भारतले लकडाउनका कारण अलपत्र परेका करोडौं मजदुरहरुले घर पढाउनका लागि रेल सेवा सञ्चालनमा ल्याएपछि कोरोना गाउँगाउँसम्म फैलिने सम्भावना बढृेको छ । संक्रमितको संख्या बढ्नुबाट त्यसको प्रारम्भिक नतिजा भने देखापर्न थालिसकेको छ ।

आइतबार, ०४ जेठ, २०७७, बिहानको ०८:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर