विराटनगर । पूर्व–पश्चिम जोड्ने लक्ष्यसहित निर्माण भइरहेको मोरङको कटहरी गाउँपालिका भित्रको हुलाकी राजमार्गको काम सुस्त भएपछि यहाँका राजनैतिक दलहितको संयन्त्रले आन्दोलन गर्ने भएका छन् ।
निमार्ण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि काम पूरा नभएर अलपत्र भएपछि सर्वदलीय भेलापछि आन्दोलनमा उत्रिने तयारी गरेका हुन् । तत्काल निमार्णको कामले तिव्रता नभए यहाँका कांग्रेस, एमाले, माओवादी, जसपा, राप्रपासहित सात राजनैतिक दलसहित विभिन्न संघसंस्थाले संयुक्त रुपमा आन्दोलन गर्ने भएका हुन् ।
विराटनगरको हाटखोलादेखि कटहरी हुँदै रंगेली भएर झापासम्म पुग्ने हुलाकी सडक निर्माणको कार्य सुरू भएको पाँच वर्ष बितिसक्दा पनि कटहरीदेखि नयाँ बजारसम्म २२ प्रतिशत मात्रै काम भएको गाउँपालिका अध्यक्ष देवराज चौधरीले बताए ।
राष्ट्रिय गौरवको आयोजनामा पर्ने यो हुलाकी राजमार्गको काम सुस्त छ । निर्माण सुरु भएको ५ वर्ष बितिसक्दा पनि पुरा हुने छाँटकाँट छैन । निर्माण व्यवसायीको हेलचेक्र्याइँले सडक अलपत्र पर्दा सर्वसाधारणले अनेकौँ सास्ती भोग्नु परेको छ । सडक कहिले निर्माण सम्पन्न हुने हो टुँगो छैन । संघीय सरकारबाट ठेक्का लागेको यो सडक निमार्णमा सुस्त भएपछि राजनैतिक दलसहित विभिन्न संघसंस्था आवद्ध भएको सर्वदलीय बैठकले आन्दोलनमा उत्रिने तयारी गरेका हुन् ।
आन्दोलन अघि स्थानीय सरोकारवालाहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा ध्यानकर्षण गराएका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै सडक निमार्णको काम तत्काल सुचारु गर्नुपर्ने माग राखेका छन् ।मोरङको रतुवा खोलादेखि विराटनगर महानगरपालिकाको केशलिया खोलासम्मको ४४ किलोमिटर खण्डको भौतिक प्रगति सुस्त हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । तीन अर्ब ६० करोड लागतमा ४४ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रकम खर्च गरे पनि भौतिक प्रगति न्यून रहेको छ । २०७६ सालमा तीन वर्षभित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि म्याद थपेर २०८० साल कार्तिकसम्म पु¥याइएको थियो । सडक निर्माण पूरा नहुँदा सर्वसाधारण कष्ट भोग्नु परेको छ । बर्खामा हिलो र हिउँदमा धुलोले राजमार्ग आसपासमा बस्न समेत समस्या हुने गरेको छ ।
ठेकेदार कम्पनी गजुरमुखी र श्रेष्ठ कन्स्ट्रसन प्रालिले ठेक्का लिएको कर्सिया सडक खण्ड हुँदै विराटनगर केशलीया सडकको काम सबैभन्दा बढी सुस्त रहेको छ । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक हुलाकी सडक अन्तर्गत मोरङमा पाँचवटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।
निर्माण व्यवसायीको हेलचेक्र्याइँले सडक अलपत्र पर्दा सर्वसाधारणले अनेकौँ सास्ती भोग्नु परेको उनीहरुले बताए ।
अहिले सडक छेउका बासिन्दाहरूको घरमा बस्ने अवस्था नभएको कटहरी गाउँपालिका अध्यक्ष चौधरीले बताए । समयमै सडक नबन्दा खानामा धुलोले हैरानी बनाएको उनको भनाइ छ । ‘सडककै कारण यहाँका नागरिकले दुःख पाएको धेरै भयो, अब हामी सहन नसक्ने अवस्थामा पुग्यौं,’ चौधरीले भने, ‘अबको एक हप्ताभित्र काम सुरू नगरे हामी सबै जनतालाई साथमा लिएर संघर्षमा ओर्लने छौं ।’ पटक–पटक काम सुरु गर्न आग्रह गर्दा काम नभएको उनले बताए । राज्यका निकायले काम सुरु नगरे प्रतिरोध गर्ने उनले बताए । धूँवा र धूलोका कारण सडक किनारका जनताको दैनिकी कष्टकर भएको बताउँदै उनले काम सुरु गर्न आग्रह गर्दा नटेरेपछि जनतासमक्ष आउनु परेको बताए । सडकको काम छाडिएका कारण पानी परेपछि बाटोमा हिँड्न सक्ने अवस्था नरहेको उनले बताए । काम सुरु नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नु पर्ने बताए । काम सुरु नगरे आन्दोलनमा उत्रिने उनले बताए ।