अराजकताको परिणाम केवल अन्यौलता

राजनीति मार्ग हो । सिद्धान्त मार्गलाई सुन्दर बनाउने कलात्मक हतियार हो । हतियार भुत्ते भयो भने भुत्ते हतियारले झार जंगलको गोडमेल गर्न सक्दैन । बिना गोडमेल बिरुवा सप्रदैनन् । साथै हतियारमा जति नै धार भए पनि सो हतियारलाई दापमा मात्र सीमित गरियो भने झार जंगलहरु मैलाएर जान्छन् । बगानका सुन्दर फूलहरु झार जंगलको कब्जामा रहन्छन् । बगान फूल शून्य हुन्छ ।

राजनीतिक बगानका सुन्दर फूल भनेको राजनीतिले दिने परिणम हो । सिद्धान्त र व्यवहारबिचको सन्तुलनले परिणमलाई जन उपयोगी बनाउँछ । तर, आजको राजनीति सैद्धान्तिक रुपमै बिचलित छ । सिद्धान्तका ठेलीहरु धेरै छन् । तर, सो अनुसारको व्यवहार छैन । राजनीतिक दलहरु अनेकौं वादमा ओतप्रोत छन् । तर, वादको आदर्श बन्धक छ । अनेकांै वादको ढाडमा टेकेर पथविहीनता र अनैतिकताको आहालमा चुर्लुम्मै डुबेर गाइने लोकतन्त्रको गायत्री मन्त्रले जनजीविकाको सम्बोधन र सुधार गर्न सकिरहेको छैन । राजनीति राजनीतिमा मात्र सीमित छ । राजनीति जीवन बन्न नसक्दा पथभ्रष्टता जीवन बन्न पुगेको छ ।

अझै पनि जनजीविका लोक कल्याणकारी राज्य व्यवस्थाको उज्जवल प्रकाशबाट बञ्चित छ । अधिकांश जनता रैतीकै जीवनमा बाँचिरहेका छन् । जनताका प्रतिनिधि मालिकको अवतारमा उदाएका छन् । शासन प्रणाली मालिककै पक्षमा छ । कर्मचारितन्त्र मालिकलाई गेट मै स्वागत गर्छ । सर्बसाधारण जनतालाई मान्छे गन्दैनन् । मालिक आदेश गर्छन् । रैती पालन गर्छन् । मालिक नेता बन्छ । रैती मतदाता बन्छन् । मालिक कर खान्छन् । रैती कर तिर्छन् । मालिक सवार हुन्छन् । रैतीहरु स्वागतमा लामबद्ध हुन्छन् । रैतीहले मालिकको थिचाोमिचो सहनै पर्छ । हैकमको जयकार गर्नैपर्छ । सिद्धान्तका ठेली र राजकीय विधानहरुमा जे लेखिए पनि जनता मालिक बन्ने वातवण बनेकै छैन । सामन्तवादको साँचोमा दिक्षित सामाजीक चेतना रहँदासम्म जनता मालिक बन्नेवाला पनि छैनन् ।

शाोषण, दमन र अत्याचारको सामना गर्दै आएका जनता ठालु संस्कृतिको शिकार हँुदै आए । मालिकको भक्तिगानले जनतालाई सार्वभौम बन्न दिएन । ठुलाबडाको पूजा मात्र गरिनुपर्छ भन्ने मनुवादी पाठशालाले जनतालाई स्वर्गको आस र नर्कको त्रासमा अल्मल्यायो । सो मानसिकताले समाजमा अझै घर जमाएको छ । राजनीतिक दलहरुले सांस्कृतिक क्रान्तिको आवश्यकता देखेनन् । यसो हुँदा रुपान्तरित राजनीतिमा रुपान्तरित चेतनाको विकास हुन सकेन । सोही मानसिकताको चेतमा विकसित समाजले नेता, हाकिम, मन्त्रीलगायतका प्रतिनिधिहरुलाई सेवक बुझेन । शासक बुझ्यो । शासक सम्मानित भए । शासकका अकर्महरु भाग्यवाद बने । अर्धचेतनाले शासकको बेठिक देख्न र जान्न चाहेन । जयकार दैनिकी बन्यो । बनिरहेकै छ । आन्दोलनको रापमा स्थापित लोकतान्त्रिक आयमहरु क्रमिक संकुचन हुँदैछन् । लोकतन्त्रमा जनता मालिक हुन्छन् । प्रतिनिधि पात्रको रुपमा जनअनुमोदित प्रतिनिधिहरु सेवक हुन्छन् । जनताको मर्म उनीहरुको आवाज हुन्छ । जनजिविका अनुरुपको आचरण हुन्छ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत सवालहरुमा बन्ने नीति नियामहरु जनमैत्री हुन्छन् । राज्य संयन्त्रका निकायहरु जनमैत्री हुन्छन् । राज्यको नजरमा सबै समान हुन्छन् । कानुन समान हुन्छ । व्यवहार समान हुन्छ । उपभाोगको अधिकार समान हुन्छ । उच्च नैतिकपूर्ण जीवनशैली समान हुन्छ । राजनीति सेवा बन्छ । राजनीतिककर्मीहरु सेवक बन्छन् । तर, राजनीतिक चालकले लोकतन्त्रलाई यस्तो आचरणमा ढाल्न सकेन ।

लोकतन्त्रलाई मालिकतन्त्रमा परिणत त गरिएकै थियो । तर, यतिखेर लोकतन्त्रलाई फासिवादको पञ्जाले गाँजेको छ । राजनीतिक दलमा नेताको बर्चश्व छ । शीष तहको देवत्वकरण दलको नीति बनेको छ । भ्रष्ट, तस्कर, अनेकांै क्षेत्रमा माफिया तथा गुण्डानाइके लगायतका रास्ट्रिय अपराधीहरु देवता बनेका छन् । बिकल्पहीनताले अपराधी र अपराधलाई अनुमोदन गर्न जनतालाई बाध्य बनाएको छ । दलीय दासताको चरम अवस्थाले दलभित्र कार्यकर्ता भन्दा रैतीको हालिमुहाली चल्न थालेको छ । सत्यको आवाज कमजोर भएको छ । दास प्रवृत्ति स्वार्थको मुरली बजाइरहेको छ । बेठीक भन्न कदापि चाहँदैन । बेठीक भन्नेहरु दलमा टिक्न पनि सक्दैनन् ।

लोकतन्त्रलाई यदि साँच्चै सुन्दर बगान बनाउने हो भने जनता मालिक हुन् । राजनीति मालिकको निर्देश हो । दलहरु मार्गका रक्षक हुन् । निर्वाचित प्रतिनिधि जनताका सेवक हुन् । तर, हाम्रो सामन्तवादी आचरणले यस्तो नैतिक संस्कारको विकास गर्न सकेन । जनताले पनि त्यस्तो संस्कार जान्न चाहेनन् ।

आज लोकतन्त्र उत्ताउलो तन्त्रमा परिणत भएको छ । आम नैरास्यता कुण्ठामा बदलिएर कुण्ठा अराजकतामा परिणत भएको छ । सहरीया अर्धचेतना न ज्ञानले जान्दछ, न भनेको मान्दछ । जान्दिन भनेर न त सिक्नै चाहन्छ । जान्दैजान्दैन तर, जान्ने बन्छ । हावाको पछाडि दौडन्छ । पहँचको पुजारी बन्छ । आफ्नै स्वार्थको बाँसुरी बजाउँछ । समग्रता जान्दैन । एकाङ्गता जान्दछ । नीति जान्दैन नेता जान्दछ । तल जान्दैन । माथि जान्दछ । आजको मध्यम वर्गमा हाबी यो मनोरोगले राजनीतिलाई अपराधिहरुको आरक्षण केन्द्र बनाउँदै छ । यो राजनीतिरुपी बगानलाई झारजंगलबाट नजोगाउँदाको परिणम हैन र ?

जतिसुकै विकृतिका चाङहरु थुप्रिए पनि लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । लोकतन्त्रका अग्रदस्ता भनेका राजनीतिक दलहरु नै हुन् । राजनीतिक दलहरुले नै भावी गन्तव्यको दिशानिर्देश गर्ने एजेन्सी पनि हुन् । दल बिनाको राजनीति आजको समयमा कल्पनासम्म गर्न सकिदैन । चिन्ता के मात्रै हो भने हाम्रा दोकतान्त्रिक अवयवहरुमा रहेको फासिवादी शैलीमा सुधार आएन बरु बढ्दै गयो । यो प्रवृत्ति रहेसम्म लोकतन्त्रको संरक्षण गर्न कठिन हुन्छ ।

हाम्रोमा वैकल्पिक राजनीतिक शक्तिहरु भरपर्दा भएनन् । यस्तो अवस्थामा विद्यमान राजनीतिक दलहरुलाई सुधारेर लानुको विकल्प छैन । अब पनि राजनीतिक दलहरुको अन्तरजीवनलाई आमूल परिवर्तन गर्न सकिएन र राजनीतिज्ञहरुको आचरण अनुकरणीय हुन सकेन भने चाहनाले मात्र लोकतान्त्रिक बगानमा सुन्दर फूलहरु कदापि फुल्दैनन् । भ्रष्ट, तष्कर, माफिया, गुण्डा नायक र तस्करजस्ता अपराधिक बगानमा फुल्ने दुर्गन्धित फूलले जनतालाई लोकतन्त्रको सुवास दिन सक्दैन । जनता अराजक बन्छन र अराजकताले अन्यौल सिवाय केही दिनै सक्दैन ।

आइतबार, ०२ मंसिर, २०८१, बिहानको ०८:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर