उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

विराटनगर । मंसिर १६ गते मोरङको ग्रामथानलगायत कोशी प्रदेशका ९ स्थानसहित देशभर हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

उम्मेदवारी दर्तापछि आइतबार नै उम्मेदवारको सूची प्रकाशन हुनेछ । उम्मेदवारको मनोनय दर्ताको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार नै सबै स्थानीय तहहरुमा निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना भइसकेका छन् । उम्मेदवारी दर्ताभएपछि मंसिर २ गते बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारमाथिको दाबी विरोधमा उजुरी दिने कार्यसूचि रहेको छ । उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

कोशी प्रदेशमा विभिन्न कारणले स्थानीय तहमा रिक्त एकजना जिल्ला समन्वय समितिका प्रमुख, एक गाउँपालिकाका अध्यक्ष, र सात जना वडाध्यक्षहरुको निर्वाचन हुँदैछ ।

कोशी प्रदेशमा ओखलढुंगा जिल्ला समन्वय प्रमुख, ग्रामथान गाउँपालिका अध्यक्ष, ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९ मा उपनिर्वाचन हुँदैछ ।

यसैबीच निर्वाचन आयोगले उम्मेदवारको मनोयनपत्र दर्ता भएको मितिदेखि निर्वाचन परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको छ । नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले चार लाख ५० हजार रुपैयाँ, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने आयोगले जनाएको छ ।

आइतबार, ०२ मंसिर, २०८१, बिहानको ०८:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर