लारुम्बा : जहाँ दशकदेखि प्रतिबन्धित छ मासु, मदिरा र सुर्तीचुरोट

विराटनगर । देवीदेवतालाई खुसी पार्ने बहनामा धेरै मठमन्दिर र धार्मिक स्थलमा बलि चढाउने प्रचलन छ । तर, इलामको एउटा गाउँमा पशुबध र पशु बलि दिन पाइँदैन । माङसेबुङ गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने लारुम्बाका मठमन्दिरमा मात्रै होइन करिब १५ सय घर परिवारमा समेत पशु बलि दिन पाइँदैन । दश वर्षदेखि यहाँ कसैको चुलोमा माछामासु पाकेको छैन ।

वडा नम्बर ३ को आधा जति क्षेत्र र ५ नम्बर वडा पूरैलाई नै माछा मासु तथा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यतिबेला गाउँलाई शाकाहारी गाउँ घोषणा गरिएको थियो । २०७२ पुस २० गते जिल्ला प्रशासन कार्यालय इलाममा गाउँलाई माछामासु र मदिरा निषेधित घोषणा गरिएको थियो ।

यहाँ माछामासु र मदिरा मात्रै होइन सुर्ती, चुरोटसमेत सेवन गर्न निषेध गरिएको स्थानीय माङ्गेना सेवा समितिका अध्यक्ष केहरसिंह योङ्हाङले बताए । यो क्षेत्रलाई धार्मिक क्षेत्र मानिन्छ । धार्मिक क्षेत्रमा विकृति नफैलियोस् भनेर सबै स्थानीय मिलेर सामाजिक सद्भाव र एकता कायम गरिएको उनले बताए ।

मदिरा पिउने, चुरोट, खैनी, गाँजा, तथा अन्य लागुऔषध प्रयोग गर्ने बढेपछि समाज सुधार गर्न यस्तो निर्णय गरिएको उनको भनाइ छ । ‘माछामासु र मदिरा निषेधित क्षेत्र घोषणा गर्दा स्थानीयले ममाथि मुद्दा पनि लगाए,’ उनले भने, ‘मैले पनि समाज सुधार गर्न पाइँदैन र ? भनें । जिल्ला प्रशासन कार्यालय इलामले हामीलाई साथ दियो ।’

लारुम्बामा सामाजिक सद्भाव नै कानून हो । लिम्बू–किराँत धर्मगुरु आत्मानन्द लिङ्देन पनि लारुम्बा मै बस्छन् । धर्मगुरु लिङ्देनको स्थायी बसोबास भएको ठाउँ पनि लारुम्बा नै हो । धार्मिक आस्था र विश्वास नै सबैभन्दा ठूलो संविधान भएको यहाँका अगुवाहरू बताउँछन् ।

किरातीहरूका अनुसार माङ भनेको देवता (ईश्वर) र सेबुङ भनेको छानेको ठाउँ अर्थात देवता (ईश्वर)ले छानेको ठाउँ भएको विश्वास गर्छन् । यो ठाउँ करिब दुई दशकअघि नै लारुम्बाबाट माङसेबुङमा रूपान्तर भएको अगुवाहरू बताउँछन् ।

किरात धर्म मान्नेहरूले माङसेबुङलाई धार्मिक आस्थाको केन्द्रको रूपमा लिने गरेका छन् । गुरुको जन्मोत्सव र मंसिरे पूर्णिमा तथा वैशाखे पूर्णिमालाई विशेष पर्वका रूपमा मनाइने गरिन्छ । चुनावका बेला नेताहरूले किरात धर्मगुरुसँग आशीर्वादसमेत लिने गरेका छन् ।

सेलरोटी, पनिर, घ्यु, दही दूध तथा फलफूल खाएर दशैं तिहारलगायत चाडपर्व मनाउने गरिएको योङहाङले बताए । विद्यालय तहबाट नै शिक्षा दिएर गाउँ सुधार गरेको उनको दाबी छ । केही लागुऔषध प्रयोग गर्नेहरू भने गाउँमा रहेको उनले सुनाए । लुकीछिपी खानेहरूको संख्यासमेत भएकाले विद्यालयबाट नै सुधार गर्ने अभियान चलाइएको गरिएको उनले बताए ।

यो किरातीहरूको बाहुल्यता भएको बस्ती हो । मासु खाएर मन्त्र जप्दा ज्ञान प्राप्त हुँदैन भन्ने बुझाइ पनि यहाँ छ । २०३५ सालमा इभाङबाट गुरु आत्मानन्द लिङदेन लारुम्बा गएर बसेपछि लारुम्बा धार्मिक स्थलको रूपमा विकास भएको किरातीहरू बताउँछन् । किराँत समुदायको धार्मिक ग्रन्थ मुन्धुम अध्ययन स्थलको रूपमा समेत लारुम्बा विकास हुँदै छ गएको छ  ।

यहाँ धार्मिक आचार–संहिता निर्माण गरिएको छ । आचार–संहितामा हिंसा नगर्ने, जीव हत्या गरेर पूजा नगर्ने, छोरी–चेलीको रुपौली–सुनौली नखाने, झुट नबोल्ने र चोरी सिकार नगर्नेलगायत उल्लेख छ ।

लिम्बू भाषामा रुपौली भनेको पैसा र सुनौली भनेको सुन हो । ‘ज्वाइँहरूसँग सुन र पैसा लिँदा छोरी बेचेको भन्ने अर्थ लाग्छ भन्ने भएपछि हामीले त्यो परम्परा हटायौं,’ योङहाङले भने, ‘छोरा सरह छोरीलाई अधिकार दिनुपर्छ भनेर पुरानो परम्परा हटाएका हौं ।’

शुक्रबार, ३० कार्तिक, २०८१, बिहानको ०८:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर