एजेन्सी । भारतको उत्तर प्रदेश स्थित औरैया जिल्लामा शनिबार भएको दुर्घटनामा २४ मजदुरको मृत्यु भएको छ ।
बिहान करिब ३ बजेर ३० मिनेटमा मजदुर सवार ट्रक राजमार्गमा रोकिराखेको अर्को ट्रकसँग ठोक्किएको थियो ।
कानपुर प्रहरीले दुर्घटनामा ३५ जना घाइते भएको बताएको छ । यसमध्ये २० जनाको जिल्ला अस्पताल र गम्भीर रुपमा घाइते १५ जनालाई सैफई मेडिकल कलेजमा भर्ना गरिएको छ ।
प्रहरीका अनुसार दुवै ट्रकमा मजदुर सवार थिए । दिल्लीबाट आएको ट्रक चिया पिउनका लागि एक ढाबा अगाडि रोकेर राखिएको थियो । सो ट्रकसँग राजस्थानबाट आएको ट्रक ठोक्किन पुगेको थियो ।
राजस्थानबाट आएको ट्रकको ड्राइभर निदाएको कारण दुर्घटना भएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार राजस्थानबाट आएको ट्रकमा चुनाको बोरा पनि थियो । दुर्घटनापछि ट्रक पल्टिएर मजदुरहरु चुनाको बोरामा दबिएका थिए । ट्रक राजस्थानबाट पश्चिम बंगाल जाँदै थियो ।