हेवाखोलामा ह्युम पाइप राखिँदै : सोमबारबाट सवारी साधन चल्ने

पाँचथर । असोज १२ गतेको बाढीले पुल बगाएपछि अवरुद्ध मेची राजमार्गको हेवा खोलामा सोमबार बिहानसम्म चारपांग्रे सवारी चल्ने भएको छ ।

सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार अहिले ह्युमपाइप राखेर सडक सुचारु गर्नेगरि काम भइरहेको छ ।

‘ह्युम पाइप राखेर आइतबार बेलुकासम्ममा यातायात चल्ने बनाउँछौं’ उनले भने, ‘त्यो सम्भव भएन भने सोमबार बिहानसम्ममा साना सवारी चल्छ ।’ १२ वटा ह्युम पाइप हेवाखोलामा झारिसकेको जानकारी दिँदै उनले पानीले बगाएन र सहज ढंगले राख्न सकियो भने बेलुकाबाट नै यातायात चल्ने जानकारी दिए ।

तत्कालका लागि साना सवारी मात्रै चल्ने सडक डिभिजन कार्यालयले जनाएको छ । हिलिहाङतर्फको सडक बनाउनुपर्ने भएकाले मालवाहक ठूला सवारी साधन भने तत्काल चलाउन नसकिने अवस्था छ । त्यसका लागि सडक मर्मतको काम पनि थालिहाल्ने डिभिजन प्रमुख भट्टराई बताउँछन् ।

तमोर करिडोरअन्तर्गतको माझीटार–गणेशचोक सडकखण्ड बन्न भने अझै केहि दिन लाग्ने भएको छ । त्यो सडकमा तीन ठाउँमा डाइभर्सन गर्नुपर्ने अवस्था रहेको छ ।

एक सातादेखि सडक अवरुद्ध हुँदा ताप्लेजुङमा पेट्रोलियम पदार्थको अभाव भएको छ । यस्तै पोल्ट्री व्यवसायीहरूले चारो ल्याउन सकेका छैनन् भने तराईबाट आउने उपभोग्य सामग्री पनि बजारमा सकिने अवस्था रहेको छ ।

आइतबार, २० असोज, २०८१, बिहानको १०:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर