क्रसरले थापेको मानव पासोमा परेर अस्ताए दाजुभाइ

विराटनगर । दसैंको पहिलो दिन घटस्थापनामा मोरङको केराबारी गाउँपालिका–८ का तोयानाथ चौंलागाईंको परिवारमा ठूलो बज्र प¥यो । केराबारी ८ स्थित कृष्ण क्रसरको खाल्डोमा डुबेर तोयानाथ र मोनिकाका दुई भाइ छोराहरुको निधनले चौलागाईं परिवारलाई मात्र होइन सिंगो केराबारी नै शोकमा डुब्यो । क्रसर उद्योगले अवैध रुपमा खनेको खाल्डोले कल्कलालउँदा नाबालकहरुको इहलिला समाप्त पारिदियो । क्रसरको उक्त खाल्डोमा परेर तोया र मोनिकाका छोराहरु ६ वर्षे रामचरण र ८ वर्र्षे भूपेनको ज्यान लिएको हो ।

क्रसरको चरम लापरवाहीले एउटै परिवारका दाजुभाइको मृत्यु भएपछि उनको परिवार शोकमा डुबेको छ । ‘भिनाजु (तोयानाथ) क्रसरमा काम गर्न जानुभएको रहेछ । दिदी (मोनिका) खोलामा ढुङ्गा टिप्न । भाइहरु साथीसँग खेल्न भनेर घरबाट हिंडेका रहेछन् । घरबाट दिउँसो साढे २ बजे हिंडेका उनका साथीहरुले भनेका छन््,’ मोनिकाको भाइ विकास थापाले भने, ‘दिउँसो काम सकेर बेलुका साँझमा दसंैको पहिलो दिन घटस्थापनाको पूजा गरेर जमरा राख्ने तयारी दिदी भिनाजुले गर्नुभएको थियो । तर, कस्तो दुर्भाग्य क्रसरले जथाभावी खनेको खाल्डोमा डुबेर दुवै जनाको मृत्यु भयो ।’ यस्तो दर्दनाक घटनाले आफूलाई स्तब्ध बनाएको उनले सुनाए ।

धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानबाट शुक्रबार राति पोस्मार्टम गरेर त्यसै दिन दुवैको दाहासंस्कार भइसकेको छ । ‘अहिले सिंगो गाउँमा सन्नाटा छाएको छ,’ उनले भने, ‘क्रसर उद्योगले पनि ढुङ्गा बालुवा झिकेपछि समयमै खाल्टो पुरिदिएको भए यस्तो दुःखद घटना हुने थिएन ।’
तोयानाथको सन्तानका रूपमा अब एउटी छोरी मात्रै रहेको उनले बताए । उनका दुई छोरा र एक छोरी मध्ये जेठी सन्तान मनिषा चौलागाईं ९ वर्षकी छन् । उनी कक्षा तीनमा अध्ययरत छन् । जेठा छोरा भुपेन कक्षा १ मा र कान्छा रामचरण नर्सरीमा अध्ययरत रहेका थिए ।

२६ लाख दिने सर्तमा घटना सामसुम !
केराबारी–८ का तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र ८ वर्षीय भूपेन चौलागाईंको कृष्ण क्रसरको खाल्डोमा डुबेर मृत्यु भएको घटना क्षतिपूर्ती र राहत उपलब्ध गराउने सर्तमा सामाजिक रुपमा मिलाइएको छ । क्षतिपूर्ति र राहतका नाममा करिब २६ लाख रुपैयाँ दिने प्रस्ताव गरेर उद्योगको तर्फबाट घटना मिलाउने पहल गरिएको थियो । जसले गर्दा यति धेरै दर्दनाक र सार्वजनिक खोलामा मानव पासो थापेर गराइएको घटनालाई केवल आर्थिक परिपूरणको भरमा सामसुम पार्ने प्रयत्न भएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् ।

घटनालाई कारबाहीको प्रक्रियामा लैजान छाडेर मिलाउन स्थानीय सरकारका प्रमुख, अन्य जनप्रतिनिधिदेखि प्रहरीसम्मले भूमिका खेलिरहेका छन् । घटनाका विषयमा शुक्रबार केराबारी गाउँपालिका कार्यालयमा सर्वपक्षीय छलफल भएको थियो । छलफलमा गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ, उपाध्यक्ष मनमाया मगरलगायतका जनप्रतिनिधि, पीडित पक्ष, क्रसरका सञ्चालक एवं गाउँपालिकाका पूर्वअध्यक्ष रोहित कार्कीसहित क्रसर व्यवसायीका प्रतिनिधि, इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री, इलाका प्रहरी कार्यालय केराबारीका वरिष्ठ सई मानबहादुर जिम्बालगायत उपस्थित थिए ।

वडाध्यक्ष कमलकुमार बस्नेतका अनुसार पीडितलाई क्षतिपूर्ति दिने सहमति भएको छ । ‘गाउँपालिकामै सर्वपक्षीय छलफल भयो । आगामी दिनमा क्रसरले यस्तो कमजोरी नदोहोर्याउने सहमति भएको छ,’ उनले भने, ‘गाउँपालिकाले पनि कार्यपालिका बैठकबाट निर्णय गरेर मृतकका अभिभावकलाई राहत रकम उपलब्ध गराउने कुरा छ । गाउँपालिकाले क्रसरको अनुगमनमा टोली पठाएर सत्यतथ्य पत्ता लगाउने विषयमा गहन छलफल भयो ।’

बस्नेतका अनुसार पीडित पक्षलाई किरिया खर्चबापत तत्काल १ लाख रुपैयाँ क्रसर सञ्चालकले उपलब्ध गराएका छन् । अपुग भएमा थपिदिने सहमति छ । क्षतिपूर्ति र राहतबापत २५ लाख दिने र मृतक बालकहरूका नाममा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने सहमति भएको वडाध्यक्ष बस्नेतले बताए । जग्गा उपलब्ध गराएमा क्रसर सञ्चालकले घर पनि बनाइदिने उनले बताए ।
छलफलमा खाल्डाखुल्डी पुरेर मात्रै क्रसर चलाउने सहमति भएको छ । पीडितको पक्षमा मजबुत ढंगले कुरा राखिदिने कोही व्यक्ति नहुँदा लापर्बाही गर्ने क्रसरलाई भने कुनै कारबाही नभई उन्मुक्ति पाउने अवस्था बनेको छ ।

गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ आफैं क्रसर व्यवसायी हुन् । दुई जना नाबालकको मृत्यु भएको कृष्ण क्रसरमा उनका बुवा नवीन थापामगरदेखि गाउँपालिकाका पूर्वअध्यक्ष रोहित कार्की, रोशन सुब्बा, विशाल खरेललगायतको लगानी रहेको स्थानीय बताउँछन् । केराबारी–८ को खदम खोलामा चार वटा क्रसर छन् । कृष्ण, माहादेव मिनरल उद्योग, शिवम् एग्रिगेट र जय माता दी सम्राटसमेतका क्रसर उद्योगहरू त्यहाँ चलिरहेका छन् । स्थानीयका अनुसार कुनै पनि क्रसरहरू मापदण्डअनुरूप चलेका छैनन् ।

मनपरी ढंगबाट चलिरहेका क्रसरको पीडा सहन नसकेपछि स्थानीयले बेलबखत विरोध गर्छन् । तर, पेलेरै उनीहरूको आवाज दबाउने काम हुन्छ । स्थानीयको मागको सुनुवाइ नै हुँदैन । क्रसरको अनियन्त्रित दोहनका कारण केराबारीको अस्तित्व संकटमा पर्दै गएको स्थानीयको गुनासो छ ।

प्रचलित कानुनको धज्जी उडाएर प्राकृतिक स्रोतमाथि अनियन्त्रित दोहन भइरहँदा पनि छानबिन र कारबाहीको कुनै प्रक्रिया अघि बढाइएको छैन । स्थानीय सरकारका प्रमुख नै क्रसर सञ्चालक भएपछि कारबाही गर्ने आँट कसैले नगरेको हुनसक्ने यहाँका स्थानाइको भनाई छ ।

आइतबार, २० असोज, २०८१, बिहानको ०९:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर