मोरङमा क्रसरको खाल्डोमा भेटियो नाबालक दाजुभाईको शव

विराटनगर । मोरङको केराबारी गाउँपालिकामा क्रसर उद्योगले बनाएको खाल्डामो नाबालक दाजुभाइको शव फेला परेको छ ।

खाल्डोको पानीमा डुबेर मृत्यु भएको अवस्थामा केराबारी गाउँपालिका–८ का तोयानाथ चौलागाईंका छोराहरु १० वर्षीय भूपेन र ६ वर्षीय रामचरण चौलागाईंको शव फेला परेको हो ।

केराबारी–८ मा रहेको कृष्ण क्रसरको परिसरमा भएको घटनाको जानकारी प्रहरीले बिहीबार दिउँसो पाएको थियो । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले सुरुमा रामचरणको शव खाल्डोबाट निकालेर पोस्टमार्टमका लागि पठाएको थियो । पानी जमेको खाल्डोमा घोप्टो परेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको थियो ।

घरबाट दाजुभाई नै हराएको जानकारी पाएपछि दाजु भूपेनको खोजी गर्ने क्रममा बिहीबार साँझ त्यही खाल्डोमा उनको पनि शव फेला परेको मोरङ प्रहरीले जनाएको छ । दाजुभाईकै शव भेटिएपछि स्थानीय आक्रोशित बनेका थिए । उनीहरुले क्रसरको चरम लापर्बाहीले घटना भएको भन्दै घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउँदै दोषीमाथि कारबाही गर्नुपर्ने र क्रसर सार्नुपर्ने तथा मृतक पक्षलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेर शव उठाउन अबरोध गरेका थिए ।

शुक्रबार सर्वपक्षीय छलफल गरेर समाधान खोज्ने सहमति भएपछि भूपेनको शव राति ९ बजेतिर निकालेर पोष्टमार्टमको लागि पठाएको प्रहरीले जनाएको छ । पौडी खेल्न खाल्डोमा पसेका नाबालकहरुको बाहिर निस्कन नसक्दा मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक खत्रीले बताए ।

क्रसरको कम्पाउण्डबाट केही दिनअघि ‘मिक्स गिट्टी’ निकालिएको कारण ४ फिटभन्दा गहिरो खाल्डो बनेको स्थानीयले बताएका छन् । क्रसर उद्योगले खाल्डो नपुरेको कारण दुर्घटना भएको उनीहरुको भनाइ छ ।

नाबालकका बुवा तोयानाथ क्रसरकै कामदार हुन् । क्रसरमा केराबारी गाउँपालिका पूर्वअध्यक्ष रोहित कार्कीसहित रोशन सुब्बा, विशाल खरेललगायतको लगानी छ ।

शुक्रबार, १८ असोज, २०८१, दिउँसोको १२:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर