संखुवासभामा २४ मानव अधिकार उल्लंघनका घटना

संखुवासभा । संखुवासभामा ६ महिनाको अवधिमा २४ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

सन् २०२४ को जनवरीयता भएका मानव अधिकार उल्लंघनका २४ घटनामा २४ जना पीडित रहेका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि संकलन गरेको मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनाको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रमका क्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो ।

गत पुस (जनवरी) देखि जेठ (जुन) महिनासम्म जिल्लामा भएका मानवअधिकारको अवस्थालाई प्रतिवेदनमा समावेश गरिएको इन्सेक जिल्ला प्रतिनिधि भविन कार्कीले बताए ।सार्वजनिक गरेको प्रतिवेदनमा चार बालिकासहित छ जना बलात्कृत, चार जनाको हत्या, कुटपिट गैर राज्य पक्ष, घरेलु हिंसाका १०, हातपात एक जना, एक जना मृत्यु र एक जना आत्महत्या दुरुसानको घटना सार्वजनिक भएका छन् । अघिल्लो वर्षभन्दा यस वर्ष मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनामा तुलनात्मक रुपमा कम भएको इन्सेकले जनाएको छ । यो ६ महिनाको अबधिलाई हेर्ने हो भने अघिल्ला वर्षहरुमा झै सङ्खुवासभामा हत्या, बलात्कार र कुटपिट जस्ता घटनाले निरन्तरता पाएको अवस्था छ । २१ महिने बालिका देखि ५२ वर्षीया महिलासम्म बलात्कारबाट पीडित बनेका छन् । बलात्कार र घरेलु हिंसाका घटनाको कारक तत्वको रुपमा मादक पदार्थ सेवन पनि देखिनुले राज्यले यसमा कडाइ गर्न जरुरी छ । स्थानीय तह, प्रदेश र संघीय सरकारले विभिन्न कार्यक्रम गरेको बताइरहँदा मानव अधिकार उल्लंघनका घटनामा कमि नआउनु दुखद पक्ष हो । अझ स्थानीय तहमा रहेको न्यायिक समितिले हरेक वर्ष बजेट विनियोजन गरेपनि प्रभावकारी काम नभएको पाइएको छ ।

इन्सेकले १० वटै स्थानीय तहका न्यायीक समितिसँग सहकार्य गरेर अभिलेखीकरणलाई थप सुधार गर्नु पर्ने आवश्यकता भएको खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले बताए । इन्सेकले जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनामा पीडित भएकाहरुको अभिलेखीकरण गरेर राज्यलाई खवरदारी गर्दै आएको नगरप्रमुख थपलियाले बताए । इन्सेकले पालिका स्तरसम्म प्रतिनिधि राखेर न्यायीक समितिमा अभिलेख तथा घटनाहरु समेट्न आवश्यक भएको उनको भनाइ छ । इन्सेकले आगामी दिनमा मानव अधिकारकर्मी, नागरिक समाज र अन्य पक्षलाई राखेर थप बहस र छलफल राख्नुपर्ने आवश्यकता भएको नगर प्रमुख थपलियाले औँल्याउनुभयो । मानव अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था मध्ये इन्सेकले जिल्लाको मानव अधिकार उल्लङ्घनको अवस्था अभिलेखिकरण गर्ने गरेको प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बताए । संखुवासभामा कानुन कार्यनोयन राम्रो भएका काराण सबै पक्षलाई कानुनी दायरामा ल्याएको र कानुनी उपचारसमेत पाएका कारण इन्सेकको बर्ष पुस्तकमा नमूना जिल्लाको रुपमा अभिलेख हुनु पर्ने प्रजिअ खड्काले बताए ।

कार्यक्रमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीले मानव अधिकार संरक्षण सम्वद्धनका लागि इन्सेकको महत्वपूर्ण भूमिका भएको बताए ।

बिहिबार, २८ असार, २०८१, बिहानको ०८:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर