विराटनगर । बैंकिङ भुक्तानीबाहेक विराटनगरलाई दैनिक ६ करोडभन्दा बढी भारतीय मुद्रा प्रत्यक्ष रूपमा आवश्यक पर्छ तर पनि भारुको उपलब्धता फालाफाल अवस्थामा छ ।
अस्पतालहरू एक सय भारुलाई सरकारी दरभन्दा कममा नेपाली एक सय ५७ देखि ५९ मा बिक्री गरिरहेका छन् । दुई महिना अघिसम्म एक सय भारुलाई नेरु १६२ मा बिक्री गरिरहेका सटही काउन्टर अहिले १६० मै दिइरहेका छन् ।अर्कातिर हुन्डी कारोबारीलाई नेपाल भित्रको कुनै मुख्य व्यापारिक सहरमा नेरु दिएर त्यसबापत नेपालकै अर्को व्यापारिक सहरबाट भारु लिनुप¥यो भने एक सय भारुका लागि १६० नेरु तिर्नुपर्छ । तर विराटनगरका हुन्डी कारोबारीलाई नेरु दिएर भारतको दिल्ली, कोलकाता, मुम्बई, चेन्नई र पटना लगायतका ठुला सहरमा भारु लिनुप¥यो भने एक सय भारुको १५८ तिरे पुग्छ ।
स्रोतका अनुसार दुबई र चीनबाट भारतमा अझै पनि ठुलो परिमाणमा सुन पुगिरहेको छ । त्यसको मुख्य ट्रान्जिट नेपाल हो । तर यस अवैध धन्दामा संलग्न हुनेमा नेपाली व्यवसायी भन्दा भारतीय र चिनियाँहरू बढी छन् । साथै सुन र हुन्डीको कारोबार अन्योन्याश्रित छ । यही कारोबारका कारण नेपालमा भारु सस्तो भएको हो ।
भारु सस्तो हुने मुख्य कारण सुन र हुन्डीको कारोबार त हुँदै हो, अरू सहायक कारण पनि छन् । तिनमा सबैभन्दा पहिलो गाँजा–कारोबार मानिन्छ । त्यसपछि प्लाइउड र तेस्रो नम्बरमा सीमावर्ती क्षेत्रका अस्पतालहरू हुन् । यद्यपि नेपालबाट सुनको तस्करीसँगै भारुको दर घटबढ भइरहेको हुँदा प्रमुख कारण सुनलाई नै मानिन्छ ।
कसरी ?
यहाँनिर नेपालबाट वैदेशिक रोजगारमा दुबई गएकाहरूको पारिश्रमिकको रकम रेमिट्यान्सका रूपमा अवैध तवरले नेपाल कसरी आइपुग्छ भन्ने तथ्य जोडिएको छ ।दुुबईमा हुन्डीको व्यवसाय गर्नेहरूको संख्या उल्लेखनीय छ । उनीहरू नेपाली रोजगारले पारिश्रमिकमा पाएको त्यहाँको मुद्रा दिरमको संकलन गर्दछन् । यसरी संकलन गर्दा बैंकले तोकेको मूल्यभन्दा थोरै बढी दिन्छन् । ती नेपालीको नेपालस्थित घरसम्म पािरश्रमिकको रकम पु¥याइदिने जिम्मा पनि ती व्यवसायीकै हुन्छ । केही बढी मूल्य पाएका कारण नेपाली कामदार पनि हुन्डी व्यवसायीलाई नै आफूले पाएको दिरम जिम्मा लगाउँछन् ।
यो दिरम दुबईको बजारमा सुन खरिद गर्न काम लाग्छ । यही सुन विभिन्न माध्यमबाट नयाँ दिल्ली लगायतका भारतीय बजारमा पुग्छ । भारतीय बजारमा सुन खरिद गर्नेले भारुमा भुक्तानी गर्दछ ।दुबईमा दिरम तिरेर खरिद गरेको सुन भारत ल्याएर विक्री गर्दा पाएको भारुबाट अब नेरु बनाउनु छ । किनकि यही रकम दुबईस्थित नेपाली कामदारका घरमा पठाउनु छ । त्यसैले हुन्डी र सुनका ती व्यापारीलाई ठुलो मात्रामा भारुबाट नेरु बनाउनु परेको हो । नेपालमा भारु सस्तो हुनुको कारण यही नै हो ।
महत्त्वपूर्ण कुरा त के छ भने स्थानीय हुन्डी कारोबारीले नेपालभित्रै एक ठाउँ लिएको नेरु नेपालमै अर्को ठाउँ भारुमा भुक्तानीमा दिनुप¥यो भने एक सय भारुका लागि १६० नेरु लिन्छन् । तर नेपालमा नेरु दिएर भारतका मुख्य सहरमा भारु लिनुप¥यो भने बट्टा तिर्नुपर्र्दैन । बरु नेरु १५८ यहाँ दिएर भारतका सहरमा भारु एक सय लिने सुविधा छ । किनकि हुन्डी कारोबारीलाई यहाँका वैदेशिक रोजगारका घरमा तिनको पारिश्रमिक बापतको रकम पु¥याइदिन नेरु चाहिएको छ र भारतका मुख्य सहरमा सुनको भुक्तानीका लागि भारु ।
गाँजा भारुको अर्को स्रोत
पुर्वी नेपालमा गाँजाको अवैध कारोबार भारुको अर्को मुख्य स्रोत भएको छ । विशेषतः नेपालका धनकुटा, भोजपुर, तेह्रथुम र खोटाङका जंगल गाँजाका मुख्य क्षेत्र हुन् । पहाडका जंगलभित्र हुर्किएको गाँजा कारोबारीले संरक्षण गरेका हुन्छन् । यसलाई जंगली गाँजा पनि भनिन्छ र अम्मलीलाई यो गाँजा तराईको गाँजाभन्दा राम्रो लाग्छ । त्यसैले भारतका गँजडी पहाडको गाँजाका लागि हिरिक्क गर्छन् भन्ने प्रहरीको भनाइ छ ।
पुर्वी पहाडको जंगली गाँजा नेपालको बजारमा किलोको ५ देखि ६ हजारमा विक्री हुन्छ भने भारतीय बजारमा भारु २५ देखि ३० हजारमा । मूल्यको यही अन्तरका कारण पुर्वी नेपालबाट ठुलो परिमाणमा पहाडे गाँजा भारततर्फ तस्करी भइरहेको छ । र, यसबाट भारुको प्रशस्त आर्जन भएको छ ।
प्लाइउड अर्को कारण
दुई वर्षयता नेपालबाट भारततर्फ आक्रामक रूपमा निर्यात भइरहेको प्लाइउड भारु सस्तिने अर्को कारण भएको छ । किनकि भारतमा तिर्नुपर्ने जिएसटी १२ प्रतिशतले गर्दा प्लाइउडको निर्यात न्यून विजकीकरणमा हुने गरेको छ । जस्तै, भारु एक सयको प्लाइउडका लागि भारतीय आयातकर्ताले भारु ५० को इन्भ्वाइस मगाउने गरेका छन् । उनीहरूले बाँकी भारु ५० नेपालका उद्योगीलाई हुन्डी गरेर भारुमै पठाउने गरेका छन् । विराटनगरका एक प्लाइउड उद्योगीले आफूले यसरी पाएको भारु हाल १५८ का दरले बिक्री गरिरहेको बताए ।
भारुको स्रोत अस्पताल
मेडिकल हब बनेको विराटनगरमा उपचार गर्ने बिरामीमध्ये भारतीयको संख्या ४५ प्रतिशत छ । गत आर्थिक वर्षमा ४५ प्रतिशत भारतीयले सेवा लिएको विराटनगर आँखा अस्पतालले जनाएको छ ।विराटनगरमा विराट र नोबेल गरी २ ठुला मेडिकल कलेज छन् । त्यस्तै विराट अस्पताल, न्युरो अस्पताल, गोल्डेन अस्पताल, आर्या न्युरोलगायतका १० वटा ठुला अस्पताल छन् । यसैगरी विराटनगर आँखा अस्पताल, विराट आँखा अस्पताल, रामलाल गोल्छा आँखा अस्तपाल, तापडिया आँखा अस्पताल लगायत १० वटै आँखा अस्पताल छन् । सबै अस्पतालले संकलन गर्ने रकममध्ये ४० देखि ४५ प्रतिशत भारुमा हुन्छ ।
तर भारु सस्तो भएका कारण अस्पताललाई मार परेको छ । विराट आँखा अस्पतालका सञ्चालक प्रकाश दाहालले अस्पतालले हिजोआज भारु १ सय नेपाली १५८ रुपैयाँ ५० पैसामा बिक्री गरिरहेको जानकारी दिए ।गोल्छा आँखा अस्पतालले त अझ सस्तोमा विक्री गरिरहेको छ । अस्पतालका ट्रस्टी सुरेन्द्र गोल्छाले अस्पतालले भारु एक सय नेरु १५७ पैसा ५० मा विक्री गरिरहेको बताए ।डिजिटल भुक्तानीका कारण विराटनगरका होटलले भने सस्तोमा भारु बिक्री गर्नुपर्ने दुःख बोक्नुपरेको छैन ।
होटल एसोसिएसन अफ नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठले भने, ‘हिजोआज धेरै भारतीयले डिजिटल भुक्तानी गर्न थालेका छन् । त्यसैले पहिलेजस्तो नगदै भारु त्यति धेरै जम्मा हुँदैन ।’
विराटनगरलाई चाहिन्छ दैनिक ६ करोड भारु
विराटनगर र आसपासको क्षेत्रलाई मात्र दैनिक ६ करोडभन्दा बढी भारु चाहिने जानकारहरूको भनाइ छ ।
नेपालका सीमावर्ती भारतीय बजारमध्ये एक मात्र जोगबनीमा नेरुमा कारोबार हुन्छ । तर काँकडभिट्टा पारिको पानीटंकी, भद्रपुर पारिको गलगलिया, भैरहवा पारिको सुनौली, वीरगञ्ज पारिको रक्सौल, नेपालगञ्ज पारिको रुपैडिया लगायतका सीमावर्ती भारतीय बजारमा किनमेल गर्न भने भारु नै बोकेर जानुपर्छ ।
नेरुमा कारोबार हुने भए पनि जोगबनीका व्यवसायीलाई दैनिक साढे दुई करोड रुपैयाँ भारु आवश्यक पर्दछ । किनकि उनीहरूले त्यहाँको बैंकमा भारु नै जम्मा गर्नुपर्छ । साथै बिक्री गर्ने मालसामान ल्याउन भारतका अन्य सहरमा भारु नै पठाउनु पर्छ ।विराटनगरका व्यावसायिक संघसंस्थाले नेपाली ग्राहकले जोगबनी गएर चाडबाडको समयबाहेक दैनिक नेरु ५ करोड बराबरको किनमेल गर्ने बताउँदै आएका छन् । यस हिसाबले जोगबनीका व्यवसायीले नेरु ४ करोडको खरिद गर्नुपर्ने हिसाब छ । यसको भारु साढे २ करोड हुन्छ ।जोगबनी बजारका व्यवसायीले यो भारु विराटनगरकै कारोबारीबाट प्राप्त गर्दै आएका छन् ।
त्यस्तै विराटनगर र आसपासका क्षेत्रबाट भारत जानेको संख्या दैनिक ५ सयको हाराहारीमा छ । एक यात्रीले २० हजार भारु लगे भने ५ सयले भारु एक करोड लैजान्छन् ।नेपाली व्यवसायीलाई भारतीय जोगबनी भन्सारका लागि दैनिक भारु १ करोड आवश्यक पर्दछ ।भारतबाट संगठित रूपमा चामल, चिनी, कपडा, बिस्कुट र भुजिया सहितका एफएमसीजीको अवैध आयात यति बेला पनि मौलाएको छ । यी वस्तुको अवैध आयात जोगबनीबाट नभएर त्यसभन्दा केही दक्षिणका फारबिसगन्ज, कटिहार, गुलाबबाग लगायतका बजारबाट हुने गर्दछ । र, यस्ता वस्तुका अवैध आयातकर्ताले ती सहरका व्यापारीलाई भारतीय मुद्रामै भुक्तानी पठाउनु पर्छ । विराटनगरबाट मात्र दैनिक एक करोडभन्दा बढी यस्तो रकम ती सहरमा पुग्ने गर्छ ।
यसैगरी भारतका विभिन्न सहरबाट व्यापारिक मालसामान बोकेर विराटनगर आउने सवारीसाधनको संख्या दैनिक २०० वटा छ । एक सवारीसाधनलाई ढुवानी भाडा भारु ३० हजार दिनुपर्छ । यस हिसाबले भारु ६० लाख यस्तो ढुवानीमा खर्च हुन्छ ।यसरी विराटनगर र आसपासको क्षेत्रलाई दैनिक रूपमा चाहिने भारु ६ करोडको आपूर्ति सहज तरिकाले भइरहेको छ । यति ठुलो परिमाणमा सहज आपूर्ति भएर पनि यहाँको बजारमा भारतीय रुपैयाँ सरकारले तोकेको भन्दा कम मूल्यमा फालाफाल बिक्री भइरहेको छ ।