विराटनगर । बहुचर्चित दमक भ्युटावरको निर्माण कार्य सम्पन्न नहुँदै दमक नगरपालिकालाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । सरकारले टावर हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाउँदा उत्साहित बन्नुपर्ने नगरपालिका निर्माण सम्पन्न गर्न र त्यसलाई सञ्चालन गर्ने विषयलाई लिएर अन्यौलमा परेको छ ।
करिब डेढ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको भ्यु–टावरको सबै काम सकिएको छैन । ठुलो लगानीको काम नसकिँदै हस्तान्तरण गर्दा त्यसलाई पूरा गर्ने दायित्व र त्यसको सञ्चालनको विषयलाई लिएर नगरपालिका अन्यौलमा परेको हो ।
सघन सहरी तथा भवन निर्माण आयोजना झापाका इन्जिनियर भूपेन्द्र यादवले टावर नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी अघि बढेको बताएका छन् । संघीय सरकारको एक अर्ब ४५ करोड रुपैयाँ लागतमा टावर निर्माण गरिएको हो । उक्त टावर हेर्दा राम्रो भए पनि तत्कालै संचालनमा आउने सम्भावना नरहेको दमक नगरपालिका कि उपप्रमुख रेगिना भट्टराई प्रसाईँले बताइन् । ‘हेर्दा भवन राम्रो छ सञ्चालन गर्दा घाटा नै त नहोला,’ उनले भनिन् ‘व्यवसायिक दृष्टिकोणबाट निर्माण गरिएको छ तर निर्माण नसकिँदै किन हस्तान्तरण गर्न हतार गरिदै छ ? यसो गर्नु ठिक होइन ।’
भ्युटावर बजारबाट निकै टाढा रहेकाले त्यहाँसम्मको सडक विस्तार, ल्याण्ड पुलिङको काम सम्पन्न भएपछि मात्र हस्तान्तरण गर्नुपर्ने भट्टराइले बताइन् ।दमक भ्यु–टावर संघीय पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीको प्रयत्नमा निर्माण भएको आयोजना हो । त्यसैले पनि यस टावरको चर्चा बढी सुनिएको हो । बेलाबखत अध्यक्ष ओलीले अग्ला भवनहरुको फोटो खिच्न विदेश जान नपर्ने दमक गए हुने भनेर पनि यो टावरलाई चर्चामा ल्याउने गरेका छन् । तर उक्त टावरलाई व्यावसायिक प्रयोजनबाट सञ्चालनमा ल्याउन निकै काम बाँकी रहेको उपप्रमुख भट्टराईले जानकारी दिइन् । इन्जिनियर यादवले भने निर्माणको काम लगभग सकिसकेको बताएका छन् । केही केही खुद्रामसिना कामबाहेक सबै सकिएको र हस्तान्तरणको मिति टुंग्याउने चरणमा पुगेको उनले बताए ।
दमक बजारबाट झन्डै तीन किलोमिटर पश्चिम–उत्तरमा निर्माण गरिएको टावर सहरदेखि बाहिर रहेका कारण पनि त्यसलाई व्यवसायिक रुपमा कसरी सञ्चालन गर्ने भन्ने कार्ययोजना नगरपालिकासँग छैन ।‘मैले अस्ट्रेलिया, दुबई, मलेसिया लगायतका देशहरूमा बनेका टावरहरू हेरेकी छु । त्यहाँबाट सहरहरू देखिन्छन् । हाम्रोबाट भने मावा र रतुवा खोला मात्रै देखिन्छ । हुन त यो टावर आफंैमा बिजनेस भ्युमा बनेको हो । तर त्यहाँसम्म जाने सहज बाटो कालोपत्रे गर्ने, जग्गा अधिग्रहण गरेर त्यसको क्षेत्र विस्तार गर्ने आदि काम भएको छैन । त्यो काम नगरी टावर सञ्चालन गर्न कठिन हुन्छ ।’ काम नै नसकी हस्तान्तरण गर्दा स्थानीयतहले काम गर्न नसक्ने उनको भनाइ छ । काम नसकी हस्तान्तरण गरेर स्थानीयतहलाइ बोझ बोकाउन खोजिएको उनले बताइन् । ‘दमकमा नै प्रदेश स्तरीय सभाहल बन्यो,’ उनले भनिन ‘त्यो सभाहलको काम सक्न अझै १० करोड भन्दा बढी खर्च हुन्छ भनेर प्राविधिकले भनिरहेका छन् । त्यो पनि प्रदेश सरकारले हस्तान्तरण गर्न खोजी रहेको छ । यस्ता आयोजना पूरा गर्न हाम्रो क्षमताले भ्याउँदैन ।’ काम नै नसकी उद्घाटन गर्ने चलन अन्त्य गर्न पनि उनको अनुरोध छ ।
नयाँ प्रविधिमा निर्माण गरिएको १८ तले भ्यु टावर १ सय मिटर अग्लो छ । २०७६ साल असार २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा उद्घाटन गरेका थिए । ३० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरिएपनि ढिला मात्रै काम सकिएको सघन सहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ । कोरोनाको कारण निर्माणको समय लम्बिएको जनाइएको छ ।
चिनियाँ कम्पनी सिजिआइइसी र आशिष ओम साइराम जेभीले साझेदारीमा निर्माणको ठेक्का लिएको थियो ।टावर सञ्चालनको मोडालिटीबारे नगरपालिका पनि अन्योलमा छ । तर सम्बद्ध अधिकारीहरूले भने मोडालिटि बनिरहेको बताएका छन् । इन्जिनियर भूपेन्द्र यादवले भने अनुसार हो भने हस्तान्तरण गर्ने समय अब एक महिना पनि बाँकी छैन । तर, नगरपालिका भने अन्योलमा नै रहेको छ । मोडालिटी बनाउने काममा मन्त्रालय लागिरहेको यादवले भने मोडालिटी र उद्घाटनको काम सँगसँगै सकिन्छ ।
दमकको यो भ्यु टावर निर्माण सुरु हुँदा स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना रहेको सघन सहरी तथा भवन निर्माण कार्यालय झापाले जनाएको छ । भ्यु टावरलाई केमा प्रयोग गर्ने भन्ने पनि टुङ्गो लागेको छैन । बजार भन्दा टाढा रहेकाले तत्काल व्यावसायिक प्रयोजनबाट सञ्चालन हुन कठिन हुने स्थानीय व्यवसायीहरु बताउँछन् ।