पठनपाठन नियमित गर्न माग गर्दै बिपीका विद्यार्थी सातादेखि अनशनमा

धरान । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनका कारण पठनपाठन प्रभावित भएको भन्दै एक सातादेखि विद्यार्थीहरु अनशनमा बसेका छन् ।

पढ्न पाउने अधिकार हनन् नगर्न र यथाशीघ्र पढाइ सुरु गर्न माग गर्दै विद्यार्थीहरू रिले अनशनमा बसेका हुन्न् । सातादेखि विद्यार्थी अनसनमा बसेपनि उनीहरुको माग सम्बोधन भएको छैन ।

‘विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा’ नारासहित जारी रिले अनशनमा बसेका विद्यार्थीहरूको पूर्ण क्षमतामा पठनपाठन र परीक्षाका गतिविधि चाँडै सञ्चालन गरिनुपर्ने एक सूत्रीय माग छ । मेडिकल शिक्षाजस्तो मानव स्वास्थ्यसँग जोडिने संवेदनशील विषयमा गम्भीर बन्न आग्रह गर्दै अनशन जारी राखेको प्रतिष्ठानस्थित विद्यार्थी कल्याण समाजका अध्यक्ष डा.ओम शान्ति रजकले बताए ।

प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सक विगत २५ दिनदेखि बढुवा माग गर्दै आन्दोलनमा छन् । जसको कारण प्रतिष्ठानको स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम प्रभावित बनेको छ । आन्दोलनका कारण विद्यार्थीको पढाइ र परीक्षामा समेत असर पर्ने भएपछि ध्यानाकर्षण गराउन रिले अनशन जारी राखिएको समाजका अध्यक्ष डा.रजकको भनाइ छ ।

गत कात्तिकमा पनि करिब एक महिना आन्दोलनका कारण प्रतिष्ठानको स्वास्थ्य र शैक्षिक गतिविधि प्रभावित बनेपछि कात्तिक २० गते धरानका राजनीतिक दलको रोहबरमा प्रतिष्ठान प्रशासन र आन्दोलनकारीबीच वार्ता भएको थियो । वार्तामा लोकसेवा आयोगसँग परामर्श लिएर पुस २ गतेदेखि बढुवाका लागि प्रक्रिया अगाडि बढाउने सहमति भएको भएपनि कामु उपलकुलपति प्रा.डा. प्रल्हाद कार्कीले सहमति पालना नगरेपछि पुनः आन्दोलन जारी छ ।

लोकसेवा आयोगले कानुनबमोजिम प्रतिष्ठानको नियमावली संशोधन गरेर मात्र नियुक्ति तथा बढुवा प्रक्रिया अघि बढाउन निर्देशन दिएको भएपनि नियमावली संशोधन हुनसकेको छैन । उच्च अदालत विराटनगरले समेत लोकसेवा आयोगको उपस्थितिबिना बढुवा प्रक्रिया अघि नबढाउन आदेश दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले यसअघि नै प्रतिष्ठानको समस्या समाधान गर्न प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई निर्देशन दिएका थिए । सरकारले सञ्चालक परिषद् (सिनेट) बैठक राखेर समस्या समाधान गर्न उपकुलपतिलाई निर्देशन दिएको भएपनि समस्या समाधान भएको छैन ।

बुधबार, २४ माघ, २०८०, साँझको ०५:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर