राष्ट्रिय सभाको सिट गठबन्धनबीच बाँडफाँट, समाजवादीको असन्तुष्टि

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले राष्ट्रिय सभाका १९ सिटमा भागबण्डा टुंगो लगाएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो ।

बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले दिएको जानकारी अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने गरी टुंगो लागेको छ । यद्यपी समाजवादीले ३ सिटको दावी गर्दै आएको छ ।

शनिबार राति अबेरसम्म बसेको गठबन्धनको बैठकमा पनि यसैगरी सिट बाँडफाँट गर्ने छलफल भएको थियो । तर, एकीकृत समाजवादीले तीन सिटमा दाबी गरेपछि बिहान पुनः गठबन्धनको बैठक बसेको थियो ।

क्लस्टरहरु पनि धेरै ठाउँमा टुंगो लागिसकेको भन्दै लेखकले १–२ ठाउँका बारेमा आ–आफ्नो पार्टीमा बसेर टुंगो लगाउने बताए ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने २ सिटमात्रै दिने अन्य दलको कुरापछि आफूहरु बैठक छाडेर हिँडेको बताएका छन् । बैठकमा समाजवादीका महासचिव घनश्याम भूसालले आफूहरू तीन सिटभन्दा तल नझर्ने बरू एक्कै चुनाव लड्ने बताएका थिए । एकीकृत समाजवादीले २ सिट मात्र दिने भए थप एक मन्त्री पाउनुपर्ने माग राखेको स्रोतले जनाएको छ ।

दलहरुबीच भएको भागबण्डा अनुसार कोशीमा कांग्रेस र माओवादीले १–१ लिनेछन् । कोशीमा कांग्रेसले अन्य र माओवादीले महिला लिने सहमति भएको छ ।

राष्ट्रिय सभामा बागमतीबाट सबैभन्दा बढी ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३–३ तथा कोशी, मधेश र लुम्बिनीबाट २–२ गरी १९ सीटका लागि निर्वाचन हुँदैछ । कांग्रेसले पाएका १० सीटमा बागमती, गण्डकी र सुदूरपश्चिममा २–२ तथा कोशी, मधेश, लुम्बिनी र कर्णालीमा १–१ सीट छ ।

यस्तै माओवादीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णालीमा र सुदूरपश्चिममा १–१ गरी ६ सीट पाएको छ । एकीकृत समाजवादीले बागमती र कर्णालीमा १–१ सीट पाउनेछ भने जसपाले मधेसमा १ सीट पाएको छ ।

सहमतिअनुसार मधेसमा कांग्रेसले अन्य र जसपाले महिला गरेर १–१ सिट लिनेछन् । लुम्बिनीमा कांग्रेसले महिला र माओवादीले अन्य १–१ र सुदूरपश्चिमा कांग्रेसले अन्य, अपांगता भएका र पछाडि पारिएकाबाट १ र माओवादी महिला गरी १–१ सिट लिने सहमति भएको छ।

कांग्रेस नेता रमेश लेखकका अनुसार बागमती र कर्णाली प्रदेशमा क्लस्टरको अन्तिम टुंगो लागिसकेको छैन । एकीकृत समाजवादीले २ सिटमा चित्त नबुझाएपछि बाग्मती र कर्णालीको क्लस्टर टुंगिन बाँकी रहेको हो ।

आइतबार, २२ पुष, २०८०, दिउँसोको ०१:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर