विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने भएको छ ।
प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त विधेयक प्रदेशसभामा पेस गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो ।
प्रदेश सरकारको प्रवक्ता शम्शेर राईका अनुसार मन्त्रिपरिषद् बैठकले सञ्चार बिधेयकसहित पाँच निर्णय गरेको छ । विराटनगर स्थापना गर्ने भनिएको शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । मुख्यमन्त्री केदार कार्कीले हृदय रोग उपचार केन्द्र तत्काल सञ्चालनका लागि कार्यविधि बनाएर काम अघि बढाएको बताएका छन् ।
बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्नका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णयसमेत गरेको छ । यस्तै प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गर्ने निर्णय गरेको मन्त्री राईले जानकारी दिए ।