प्रधानमन्त्रीको प्रतिबद्धता : संघीयताका गाँठा छिट्टै फुकाइन्छ

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारले बनाउनुपर्ने कानुनहरू छिटो बनाएर प्रदेशलाई अधिकार हस्तान्तरण गर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्रीहरूलाई संघीयताका गाँठा फुकाउने विश्वास दिलाएका हुन् ।

‘पछिल्लो समय प्रदेशका मुख्यमन्त्रीहरूको असन्तुष्टि मैले सुनेको छु र बुझेको पनि छु,’ उनले भने, ‘म यही सम्बोधनबाट उहाँहरूलाई विश्वास दिलाउँछु, संघीयताका गाँठा निकै छिटो फुकाइँदैछन् ।’ राष्ट्रिय समन्वय परिषदको पहिलो बैठक आफूले नै डाकेको स्मरण गर्दै प्रधानमन्त्रीले संघ, प्रदेश र स्थानीय तहको कार्यसम्पादनमा देखिएको दोहोरोपन हटाइने पनि बताए।

संघीय निजामती, संघीय शिक्षा र संघीय प्रहरी कानुन बनाउन ढिलाइ भएको भन्दै मुख्यमन्त्रीहरूले पटक–पटक संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । प्रदेशले प्राप्त गर्नुपर्ने अधिकार नपाए संघर्षमा उत्रने पनि उनीहरुको चेतावनी छ ।

मङ्गलबार, १० पुष, २०८०, साँझको ०६:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर