गणतन्त्रलाई आँच आउन दिन्न : राष्ट्रपति पौडेल

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई कुनै पनि आँच आउन नदिने बताएका छन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशले मोरङको विराटनगरमा आज आयोजना गरेको पदस्थपना तथा प्रजातन्त्र सेनानीहरूको सम्मान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

आफू पदमा रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनैपनि आँच आउन नदिने पौडेलले बताए । ‘मेरो तागतले भ्याएसम्म संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनैपनि आँच आउन नदिने प्रतिबद्धता जान्छु,’ उनले भने, ‘संविधानले दिएको भूमिका निष्ठा पूर्व निभाउने छु ।’

उनले अर्थतन्त्रमा देखिएको असरमा सरकारले चालेका केही कदमहरूको सकारात्मक प्रभाव परेपनि आर्थिक चलायमान भने नभएको बताएका छन् । सरकारले अर्थतन्त्रका विषयमा चालेका कदम तथा नीतिहरूमा निजी क्षेत्र मजबुत अवस्थामा रहेको पनि उनले बताएका छन् । सरकारले स्वदेशमै सम्मान जनक रोजगारी पनि सिर्जना गर्नुपर्ने उनले बताए ।

‘आम्दानीको सिर्जना नहुँदा जनशक्ति बिदेसिएको छ,’ राष्ट्रपति पौडेलले भने, ‘यसको प्रभाव आज हाम्रा गाउँघर खाली भइरहेका छन् ।’ विदेशिने जनशक्तिलाई रोक्नलाई कृषि र खनिजमा आधारित उद्योगहरूको विस्तार गरेर विदेशी ठूला कम्पनीहरू ल्याएर स्वदेशमै तालिमहरू दिएर रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

नेपालमै दक्ष जनशक्तिको उत्पादन गर्नका लागि राज्यले ध्यान दिनुपर्ने राष्ट्रपति पौडेलले बताए । आर्थिक क्षेत्र चलामान गर्न सरकाले एक्लै सक्ने अवस्था नरहेकाले निजी क्षेत्रको पनि आवश्यकता रहेकोमा उनले जोड दिए । तीनै तहका सरकारले आर्थिक क्षेत्र चलायमान बनाउन निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने धारणा व्याप्त गरेका छन् ।

शनिबार, ०७ पुष, २०८०, दिउँसोको ०४:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर