विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेकोले नेतृत्व परिवर्तन गर्नुपर्ने दावी गरे ।
सरकारले जनतामा आशा जगाउनसमेत नसकेको भन्दै उनले कांग्रेस नेतृत्वको सरकारले मात्रै देशका विद्यमान समस्या समाधान गर्ने जिकिर गरे । ‘सरकारसँग जनता निराश भएका छन् । जताततै व्यथिति मौलाएको छ’ उनले भने, ‘जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ ।’
नेता कोइरालाले आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश उन्मुख भएको दावी गरेका छन् । कांग्रेसले मात्रै मुलुकको समस्या समाधान गर्न उनको तर्क छ ।
आफ्नो समूहमा संसदीय दलको नेता परिवर्तनको आवाज उठेको बताउँदै नेता कोइरालाले दलको नेता फेर्ने संख्या नभएको बताए । नेता कोइरालाले कोशीको नामबारे देखिएको विवाद वार्ता र संवादबाट टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् । पहिचानवादीहरुसित वार्ताको टेबलमा बसेर विवाद मिलाउन उनले सुझाए ।
राजनीतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना एनसेल प्रकरणमा हुन नसक्ने ठोकुवा गर्दै कोइरालाले त्यसमा अर्बौं अर्ब घोटाला भएको दावी गरेका छन् । ‘यति ठूलो घोटालामा राजनैतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना हुनै सक्दैन’ उनले भने, ‘कस–कसको संलग्नता छ भनेर विस्तारै अनुसन्धानले खुल्दै जाला ।’