एमालेको संकल्प यात्रामा अहिलेसम्म ३० जना पक्राउ

विराटनगर । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्न खोजेको आरोपमा प्रहरीले अहिलेसम्म ३० जना पहिचानवादीलाई पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बाँस्तोलाले उदयपुर, खोटाङ, भोजपुर र धनकुटामा गरी ३० जनालाई पक्राउ गरेको जानकारी दिए ।

प्रहरीले बिहीबार बिहान मात्रै भोजपुर र धनकुटाको सीमाबाट ९ जनालाई पक्राउ गरेको छ । यसअघि मंसिर २६ गते प्रहरीले उदयपुर र खोटाङबाट पूर्वमन्त्री तथा नेता गोपाल किराँतीसहित १२ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा मिना राई, दिनेश राई, पनन राई, विदुर राई छन् । त्यस्तै खोटाङबाट पूर्वमन्त्री किरातीसहित राजेश राई, गन्धमान राई र विजय राई तथा उदिम राई पक्राउ परेका हुन् ।

बिहीबार धनकुटाबाट पक्राउ पर्नेहरुमा प्रदेश पहिचान संयुक्त संघर्ष समिति संखुवासभाका संयोजक वीरेन्द्र खारा राई, किरात राई यायोख्खाका धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ धनकुटा अध्यक्ष कमलसि तिगेला, नेताहरु उमा चाम्लिङ, जितेन्द्र्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई र पनित कुलुङ रहेका छन् । उनीहरूलाई धनकुटा र भोजपुरको सीमामा पर्ने लेगुवाबाट पक्राउ गरिएको हो ।

एमालेको अभियान आज लेगुवाबाट धनकुटा प्रवेश गर्दैछ । टोलीले पाख्रिबास, हिले, सिधुवा हुँदै तेह्रथुमको वसन्तपुरमा सभा गर्ने तयारी गरेको छ । उक्त यात्रालाई प्रभावित पार्न सक्ने भन्दै ती क्षेत्रमा सुरक्षा सतर्कता मजबुत बनाइएको प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख डिआइजी बाँस्तोलाले जानकारी दिए ।

यस्तै भोजपुर सदरमुकाममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने पहिचान पक्षधर ९ जनालाई प्रहरीले आज विहान पक्राउ गरेको छ । पहिचान पक्षधरहरुले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै कालो झण्डा देखाएका थिए । भोजपुरमा पक्राउ पर्नेमा जनता समाजवादी पार्टी भोजपुरका जिल्ला उपाध्यक्ष मन्जु राई, जिल्ला सदस्य दिनेश राई, धिरज राई, मणी राई, विद्यार्थी नेता धिरेन खिम्बू, तयाबङु राई र विकास राईलगायत छन् ।

यसअघि प्रहरीले झापाको दमकमा मुख्यमन्त्री केदार कार्कीलाई कालो झण्डा देखाउँदै उनको गाडीमा ढुंगा प्रहार गर्ने १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाण्डव चौधरी रहेका छन् । कालो झण्डा देखाउने अन्यको पनि खोजी भइरहेको डिआइजी बाँस्तोलाले बताए ।

एमालेको अभियान नसकिएसम्म पक्राउ परेका पहिचानवादीहरु नछोडिने प्रहरीले जनाएको छ । एमालेको अभियान पुस २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिँदैछ । आज एमालेले धनकुटा हुँदै तेह्रथुमको बसन्तपुरमा कार्यक्रम आयोजना गरेको छ ।

बसन्तपुरमा बसेर एमाले टोली शुक्रबार तेह्रथुमको सदरमुकाम म्याङ्लुङमा कार्यक्रम आयोजना गरेको छ । यस्तै पाँचथरको फिदिम हुँदै पुस २ गते चिवाभञ्ज्याङ पुगेर अभियान सम्पन्न हुने एमालेले जनाएको छ ।

एमालेले पुष्पलाल मध्यपछाडि लोक मार्गसँग जोडिएका मुख्य १० सहरमा देखिएका समस्याको पहिचान र समाधानका निम्ति योजना निर्माणको उद्देश्यका साथ संकल्प यात्रा तय गरेको जनाएको छ । अभियानले कोशी प्रदेशको ४२५ किलोमिटर यात्रा तय गर्ने एमाले कोशी प्रदेश कमिटीले जनाएको छ ।

बिहिबार, २८ मंसिर, २०८०, दिउँसोको १२:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर