कोशीका बिनाबिभागीय मन्त्रीले जिम्मेवारी पाए

विराटनगर । कोशी प्रदेशका विनाविभागीय मन्त्रीहरुले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री केदार कार्कीले करिब एक महिनाभन्दा लामो विनाविभागीय रहेका तीन मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

विनाविभागीय मन्त्री रहेका नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाली काँग्रेसका शमशेर राईले आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । उप्रेती र जवेगु कात्तिक १७ गते मन्त्री नियुक्त भएका थिए भने राई मुख्यमन्त्रीको सपथसँगै असोज २८ गते नियुक्त भएका थिए ।

मन्त्रीहरुलाई विभागीय जिम्मेवारी दिन मुख्यमन्त्री कार्कीले शनिबार प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । उनको सिफारिस अनुसार आज प्रदेश प्रमुख परशुराम खापुङले जिम्मेवारी तोकेका हुन् ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु र मुख्यमन्त्रीबीच बिहीबार भएको बैठकले मन्त्रीहरुलाई जिम्मेवारी दिने सहमति गरेको थियो । तीन मन्त्रीले जिम्मेवारी पाएपनि सरकार विस्तार भने केहि समयपछि मात्र गर्ने सहमति गठबन्धन दलहरुबीच भएको छ ।

तीन मन्त्रीले जिम्मेवारी पाएपनि आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय र खानेपानी सिचाई तथा उर्जा मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीसँगै छ । बाँकी मन्त्रालयको भागबण्डा र मन्त्रिहरुको नियुक्ति भने प्रदेशसभाको सभामुखको निर्वाचनपछि गर्ने सहमति दलहरुले गरेका छन् ।

सभामुखको निर्वाचन उपसभामुख अस्ट्रेलियाबाट आएपछि अगाडि बढाउनेगरि सरकारले सहजीकरण गर्ने भएको छ । प्रदेशसभाको बैठक मंसिर १९ गतेलाई तोकिएकोले त्यससँगै सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउनेबारे छलफल भइरहेको सरकारले जनाएको छ ।

आइतबार, १७ मंसिर, २०८०, दिउँसोको ०१:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर