विराटनगर । महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरमा दुई दिने कार्यक्रम आयोजना हुने भएको छ । महिला मञ्चको आयोजनामा सामाजिक रुपान्तरणका लागि महिला नेतृत्व भन्ने नाराका साथ कार्यक्रम आयोजना हुन लागेको हो ।
मंसिर ११ र १२ गते आयोजना हुने कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाबाट महिला जनप्रतिनिधिहरु सहभागी हुने छन् । कार्यक्रममा ३५० भन्दा बढीको सहभागिता रहने बताइएको छ ।
सात वटै प्रदेशमा क्षमता अभिवृद्धि कार्यक्रम अभियानकै रुपमा सुरु भइसकेको र बागमती, लुम्बिनी र सुदुर पश्चिम गरी तिन वटा प्रदेशमा कार्यक्रम सम्पन्न भइसकेको महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल तथा प्रदेश संयोजक कोषाध्यक्ष मञ्जिता उपाध्यायले जानकारी दिइन् ।
विभिन्न महिला संघहरुले गर्दै आइरहेको र अझ प्रभावकारी कार्य गर्न जनप्रतिनिधिहरुको क्षमता बढाउने तथा जनप्रतिनिधिहरुबीच समन्वय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उपाध्यायले बताइन् ।
कार्यक्रमका लागि विराटनगर महानगरपालिकालगायत विभिन्न गाउँपालिकाहरुले सहयोग गरेको उनले जानकारी दिइन् ।