विराटनगर । खोलाबाट जथाभावी माटो उत्खनन् गर्दा मोरङको धनपालथानगाउँपालिका ६ को कदमाहा र नोचा बस्ती जोखिममा परेका छन् । लोहन्द्रा खोला छेउको बस्ती वरपर अवैध रूपमा माटो उत्खनन् गर्ने कार्य नरोकिएका कारण बस्ती जोखिममा परेको हो ।
लोहन्द्रा खोला किनारमा स्थानीय सन्तोष यादवले दैनिक जेसिबी प्रयोग गरी माटो उत्खनन् गरेर अवैधरुपमा टिपरमा ओसार्ने गरेको स्थानीयले बताएका छन् । उनले दैनिक ३० टिपरसम्म माटो लगिरहेका छन् । यादवले खोला किनारको जमिनमा जेसिबी प्रयोग गरेर उत्खनन् गरी माटो झिकेका कारण बर्खायाममा लोहन्द्रा खोला बस्तीमा पस्ने जोखिम बढेको स्थानीयले बताए । बर्खामा खोला भरिएर बस्तीमा पस्दा विगतमा पनि डुबानको समस्या भोग्दै आएका स्थानीय ठूलो परिमाणमा माटो झिकेपछि झन् जोखिम बढेकोमा चिन्ता जनाइरहेका छन् । अवैध माटो उत्खनन् रोक्न गाउँपालिका तथा स्थानीय प्रशासनले पनि कुनै पहल गरेको छैन ।
जथाभावी उत्खनन्ले त्यस क्षेत्रमा ठूल्ठूला खाल्डाखुल्डी परेका छन् । बस्ती नै टापु जस्तो हुन थालेको छ । टिपरको धूलो र आवाजले बस्तीमा बस्न समस्या भएको स्थानीयले सुनाए । प्रहरी, प्रशासन र जनप्रतिनिधिलाई अवैध उत्खनन् रोक्न आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि विस्थापित हुनुपर्ने अवस्था आएको उनीहरूको गुनासो छ ।
उत्खनन् रोक्न खोज्दा यसमा संलग्न गिरोहले उल्टै बस्तीमा आएर धम्क्याउने गरेको स्थानीयको आरोप छ । ‘बर्खामा खाल्डाखुल्डीमा पानी भरिन्छ र बालबच्चा डुबेर मर्छन् भन्ने पिरले सताएको छ,’ एक स्थानीयले भने ।पछिल्लो एक महिनादेखि खोला किनारमा उत्खनन् हँुदै आएको छ । यसरी जेसिबी हुलेर सयौं पिटर माटो अवैध रुपमा लिएर जाँदा पनि यहाँका जनप्रतिधि र प्रहरीसमेतले नदेखेझैं गरेको स्थानीयले बताए । सूचना दिँदासमेत कुनै चासो नदेखाएको बरु पक्राउ गरेको सवारी साधान पनि छोडिदिने गरेको उनीहरुको गुनासो छ ।
माफियाले अवैधरूपमा खोला किनारबाट माटो निकासी गर्दा त्यस क्षेत्रमा ठूला खाल्डा बढ्दै गएको छ । यहाँ माफियाले विपन्न समुदायकाव्यक्तिको जग्गा सस्तोमा खरीद गरेर र लिजमा लिएर त्यहाँबाट उत्खनन् गर्दै आएका छन् । अवैधरुपमा उत्खनन् गरेको खेतीयोग्य जमिन ठेकेदार भुपाल श्रेष्ठले लिएको बुझिएको छ । उनको निर्देशनमा सन्तोष यादवले अवैध रुपमा माटो उत्खनन् गरेर बिक्री गर्दै आएका छन् । दैनिक सयभन्दा बढी टिपरले माटो र भरौट उत्खनन् गर्दा खेतीयोग्य जमिनमा पनि खाल्डा बनेका छन् । चोरी निकासीले राजस्वमा पनि असर परेको छ ।
यसरी मापदण्डविपरीत खोला किनारको जमिनमा उत्खनन् गरिएको स्थानीयले गुनासो गरेपछि प्रहरीले शुक्रबार माटो खन्ने उपकरण जेसिबी नियन्त्रणमा लिएको थियो । प्रहरी चौकी कर्सियाले उपकरण नियन्त्रणमा लिए पनि कारवाही गर्नु पर्ने निकाय गाउँपालिकालाई नबुझाइ छोडिदिएको थियो ।
लोहन्द्रा खोला पूर्वपट्टि किनारको ३० मिटरभित्रै मेसिन राखेर गहिरो खाल्डो खनेर ट्रिपरबाट माटो अन्यत्रलैजाने गरेको पाइएपछि स्थानीयले कारवाहीका लागि स्थानीय पालिका र प्रहरीलाई गुहारेका थिए । तर प्रहरीले नियन्त्रणमा लिएको उपकरणसमेत त्यतिकै छोडेपछि स्थानीयले असुरक्षित महशुस गरेका छन् ।
पालिकाले यस्ता उपकरण र माटो ओसारपसार गर्ने साधनलाई १५ देखि ३५ हजार रुपैंयाँसम्म जरिवानागर्न सक्ने अधिकार छ । तर, जहदामा नियन्त्रणमा लिइएकाउपकरण कारवाहीको दायरामा नल्याइ छोडिएको थियो ।
धानपालथान गाउँपालिका अध्यक्ष जिवछप्रसाद गच्छदारले अवैधरुपमा उत्खनन् गरिएको जानकारीपछि अहिले रोक लगाएको बताए । अवैध उत्खनन् भएको क्षेत्रमा आइबार अनुगमन पनि गर्ने उनले बताए । ‘खोला छेउको खेतीयोग्य जमिनमा अवैध उत्खनन् हुने गरेको पाइएपछि अनुगमन गरेर हामीले रोक लगाएका छौं,’ उनले भने, ‘मापदण्ड विपरीत उत्खनन् गर्ने जो कोहीलाई कारवाहीको दायारमा ल्यानेछौं ।’
प्रहरीले उपकरण नियन्त्रणमा लिएर छाडेकोबारे मोरङका प्रहरीका डिएपी रञ्जनकुमार दाहालले निजी जमिनमा चेनवाला मेसिनले खनेको पाइएपछि उत्खनन् बन्द गराइएको बताए । प्रहरी चौकीसम्म सो उपकरण लैजान नसकिने भएकाले सोही ठाउँमा काम बन्द गराएर छाडिएको उनले बताए । यता माटो उत्खनन् गर्ने सन्तोष यादवले गाउँपालिकाले उत्खनन गर्न रोक लगाएपछि अहिले बन्द गरिएको बताए । ‘हामीले किनेको जग्गाबाट माटो झिकिएको हो,’ उनले भने, ‘गाउँपालिकाले बन्द गर्नु भनेपछि अहिले रोकिएको छ ।’