विराटनगर । कोशी प्रदेश सरकारले १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने बताएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक आज प्रदेशसभामा पेस गर्दै मुख्यमन्त्री एवं आर्थिक मामिलामन्त्री केदार कार्कीले यस्तो दावी गरेका हुन् ।
कार्कीले पेश गरेको ३६ अर्ब ७४ करोड ३५ लाखको बजेटमा १० वर्षसम्मका बालबाबलिकाको जुनसुकै अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइनेसहितका लोकप्रिय कार्यक्रमहरु समावेश छन् ।
कार्कीले सभामा पेस गरेको बजेटमा यसअघि समावेश साना बजेटका टुक्रे योजना कटौती गरेको जानकारी दिएका छन् । सबै मन्त्रालयका कार्यक्रम घटीमा २५ लाखको भएको उनले बताए ।
यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएको भन्दा ५० करोड बढिको बजेट पेश गरेका कार्कीले धेरै लोकप्रिय कार्यक्रम घोषणा गरेका छन् । धुलो दूध र घिऊ निर्यातमा अनुदान दिने, सौर्य ऊर्जा प्रणालीमार्फत चल्ने स्वचालित तुइन सञ्चालन गर्ने, हात्तीमैत्री जंगल बनाउने, इटहरीमा जलन अस्पताल निर्माण गर्ने, १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, तमोरको पानी धरान ल्याउने लगायतका योजना कार्कीले पेश गरेका छन् ।
यसअघि अध्यादेशमार्फत आएको धेरै नचलाएको बरु अघिल्लो सरकारले ल्याएका कार्यक्रम नै धेरैले निरन्तरता पाएको पनि कार्कीले बताएका छन् । मानवीय पुँजीमार्फत आर्थिक विकासका अघि बढ्ने कार्कीले जनाएका छन् । स्रोत सुनिश्चित नभएको योजनालाई पुनः प्राथमिकीकरण गरिएको उनले बताए ।
कार्कीले चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार, पूँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्था तर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार विनियोजन गरेका छन् । संघीय अनुदान बचत फिर्ताका लागि २ अर्ब राखिएको छ ।
बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ८४ करोड २९ लाख ५० हजार तथा नगद मौज्दातबाट ४ अर्ब २५ करोड १ लाख तथा वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रहेको छ ।
तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका थिए । उनले पूँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार तथा चालूतर्फ १७ अर्ब ९९ करोड ९२ लाख ५८ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ करोड विनियोजन गरेका थिए ।
सो बजेट निस्क्रिय भएपछि पुनः दोस्रो पटक मुख्यमन्त्री भएका कार्कीले फेरि अध्यादेशबाट बजेट ल्याएका थिए । सोहि अध्यादेशको प्रतिस्थापन बिधेयक प्रदेशसभामा पेश भएको हो ।
संक्षिप्त-बजेट_बक्तव्य-२०८०८९_231125_152952