विराटनगर । केही दिनयता कडा पारिएका भारतसँग सिमाना जोडिएका चार जिल्लाका नाकाहरू तत्काल सहज नगरिने भएको छ । भारतबाट अवैध घुसपैठको आशंकामा सरकारले दुई देशबीचको पूर्वी नाकाहरुमा कडाइ गरेको हो । प्रहरीले सीमावर्ती क्षेत्रमा कुकुरसहितको गस्तीलाई निरन्तरता दिइरहेको छ भने चेकजाँचलाई कडा पारेको छ ।
सीमा नाकामा अझै केही दिन विशेष सुरक्षा सतर्कता कायम राखिने प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक राजेश बास्तोलाले बताए । ‘हामीले तीनदेखि झापा, मोरङ, सुनसरी र इलामका नाकाहरूमा कडाइ गरेका थियांै,’ बास्तोलाले भने ‘अब परिस्थिति कस्तो हुन्छ थप सुरक्षा विश्लेषण गरेर अगाडि बढ्छौं । तर, अझै तीनचार दिन गस्ती र निगरानीमा विशेष ध्यान दिन्छौं ।’
धर्मको नाममा नेपालमा आन्दोलन र प्रदर्शन भइरहेको बेला भारततर्फबाट पनि घुसपैठ हुनसक्ने आशंका गरेर सुरक्षा निकायले विशेष निगरानी र गस्ती बढाएको हो । काठमाडौंमा स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईँले मंसिर ७ गते प्रदर्शन गर्ने तयारी गरेसँगै सुरक्षा निकायले भारतीय नाकाहरुमा निगरानी र चेकजाँच बढाउन सुरु गरेको थियो । सुरक्षा निकायले भारतबाट केही संख्यामा मानिसहरु आउनसक्ने आशंका गरेपछि नेपाल प्रवेश गर्नेहरुको परिचयपत्र, काम तथा अन्य विवरणबारे विशेष चासो दिएर चेकजाँचलाई कडा पारिएको थियो ।
प्रसाईँले भारतबाटसमेत आफ्नो कार्यक्रम सहभागी हुन मानिसहरु आउने कुरा सञ्चारमाध्यमबाट सार्वजनिक गरेपछि सुरक्षा निकायले त्यसतर्फ विशेष ध्यान दिएको थियो । त्यसैले मोरङको जोगवनी, झापाको काँकरभिट्टा, भद्रपुर, इलामको पशुपतिनगर र सुनसरी जिल्लाका विभिन्न नाकाहरूमा प्रहरीले कडाइ गरेको थियो ।
प्रहरीकाअनुसार भारतबाट नेपाल प्रवेश गर्नेहरुले परिचय देखाउनु पर्ने व्यवस्था लागु गरेको थियो । मुस्लिम समुदायका नागरिकहरू तथा साधुहरूमाथि विशेष निगरानी बढाइएको थियो । सुनसरीको दुहबी र खनारमा मुस्लिम समुदायको भेलालाई यही बिचमा स्थगीत गर्न लगाइएको थियो । मुस्लिम समुदायले गर्ने भनेको धार्मिक सभा स्थगित भए पनि सभाका लागि बोलाइएको भन्दै मुस्लिम समुदायका नागरिकहरू अन्य समय भन्दा बढी आउन थालेपछि प्रहरीले मुस्लिम समुदायका व्यक्तिमाथि पनि विशेष निगरानी गरिरहेको छ ।
नाकामा वरिष्ठ सई र असई को नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । काठमाडौँमा हुने कार्यक्रममा घुसपैठ हुनसक्ने अनुमानका आधारमा कडाइ गरिएको प्रहरीले जनाएको छ । धार्मिक सभाका लागि भन्दै नेपाल आउन खोज्नेहरूलाई प्रहरीले नाकाबाटै उतै फर्काइरहेको छ । धार्मिक गतिविधि अवधिभरको समयलाई नेपाल प्रवेश गर्न कडाइ गरिएको प्रहरीले जनाएको छ ।