काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको मतभार बढाएको छ ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउँछन्।
नयाँ मतभार अनुसार प्रदेशसभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १९ मतभार कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
यसअघि प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १८ कायम गरिएको थियो।
राष्ट्रिय जनगणना अनुसारको कूल जनसङ्ख्यालाई आधार मानी कायम गर्नुपर्ने भएकाले राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिस समेतका आधारमा मतभार कायम गरिएको आयोगले जनाएको छ ।
राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि २०८० फागुन २० गते समाप्त हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरि सक्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनको मिति आगामी माघ ११ भित्र गर्नेगरी आयोगले सरकारलाई सुझाव दिएको छ ।
आयोगले माघको दोस्रो साता निर्वाचन गर्ने तयारी गरेको छ।