विराटनगर । सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्धविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको १४ वटा रिटमा मंगलवार एकसाथ प्रारम्भिक सुनुवाइ भएको थियो । सामाजिक सद्भाव खल्बल्याउने काम गरेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
२७ कात्तिकमा मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सरोकारवाला र कानुन व्यवसायीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
इजलासले उक्त मुद्दाको पूर्ण सुनुवाइका लागि मंसिर १९ गतेलाई पेशी तोक्न पनि आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए। यी रिटमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको छ।