विराटनगर । उर्लाबारी सुनचाँदी पसलमा भएको आगलागीमा परी उपचार गराइरहेको एक जना घाइतेको मंगलबार मृत्यु भएको छ । किर्तिपुर बर्निङ अस्पतालमा उपचाररत घाइते तपन पंडितको मृत्यु भएको हो ।
मंगलबार प्रदेश सभा बैठकमा विशेष समय लिएर बोल्दै मोरङ क्षेत्र नम्बर १(१)का सांसद उमाकान्त गौतमले उपचाररत घाइते पंडितको बिहान निधन भएको जानकारी गराएका हुन् । उनले काठमाण्डौमा उपचाररत घाइतेहरुमध्ये ८ जनाको अवस्था अहिले पनि गम्भीर रहेको भन्दै थप उपचारका लागि छिमेकी भारत वा अन्य मुलुकको सुविधासम्पन्न अस्पतालमा लैजान सरकारको ध्यानाकर्षण गराएका छन् ।
आगलागीमा परेका बिरामीहरुको उद्धार र उपचारमा प्रदेश सरकारले तत्कालै तत्परता देखाएको, थप उपचारमा लैजान पहल गरेकोप्रति उनले सरकारलाई धन्यवादसमेत दिए । यद्यपि बिरामीहरुको अवस्था गम्भीर भएकोले संघीय सरकारले उपचार गर्ने व्यवस्था मिलाउने आश्वासनलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
विशेष समयमा बोल्दै सांसद गौतमले झापा बिर्तामोडमा सञ्चालित बिएण्डसी अस्पतालले गम्भीर प्रकृतिका बिरामीहरुप्रति देखाएको व्यवहार खेदजनक भएको बताए । गम्भीर प्रकृतिका बिरामीलाई थप उपचार गर्न सरकारले नै काठमाण्डौ लैजान खोज्दा अस्पतालले दुई दिनसम्म डिस्चार्ज नदिएको र त्यसैका कारण समयमा उपचार पाउन नसक्दा एक जना बिरामीको ज्यान गएको उनले बताए ।
सरकारसँग अनुमति लिएर चलेको अस्पतालले बिरामीहरुप्रति गरेको व्यवहार र सरकारको योजनामा गरेको अवरोध खेदजनक भएको भन्दै कारवाही गर्न उनले माग गरे । उनले भने ‘बिरामीहरुलाई बन्धक बनाएर सरकारलाई चुनौती दिने, नेपाल सरकारको अनुमति लिएर सञ्चालित त्यो अस्पतालप्रति खेद व्यक्त गर्दछु । एक दिन ढिला हुँदा तपन पण्डितको ज्यान गइसकेको छ । राज्य यति कमजोर हुनु हुँदैन । राज्यको अनुमतिमा सञ्चालित अस्पतालले सरकारले भनिसकेपछि अटेर गर्ने भन्ने हुँदैन त्यसैले राज्य कडारुपमा प्रस्तुत हुनुपर्छ ।’ उक्त अस्पताल दुर्गा प्रसाईंले सञ्चालन गर्दै आएका छन् ।
कात्तिक २६ गते उर्लाबारी ७ इटहरा रोडमा रहेको दिपक कार्कीको सुनचाँदी पसलमा भएको आगलागीको घटनामा चार जना सुरक्षाकर्मीसहित २८ जना स्थानीय घाइते भएको उनले जानकारी गराए । घाइते मध्ये दुई जनाको भारतको पटनामा उपचार भइरहेको पनि उनले सदनलाई जानकारी गराएका थिए ।
त्यसअघि शून्य समयमा बोल्दै सांसद विद्या चाम्लिङले गम्भीर बिरामीहरुलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाउन माग गरेकी थिइन् ।