स्थानीयको धारणा : धरानमा विमानस्थल चाहिन्न

विराटनगर । कोशी प्रदेशमा बनेका कैयन विमानस्थलहरु सञ्चालन नभई बन्द रहेको बेला संघीय सरकारले सुनसरीको धरानमा विमानस्थल निर्माण गर्न अध्ययन अगाडि बढाएको छ । सरकारले अध्ययन अगाडि बढाएपछि विमानस्थल बन्नुपर्छ भन्ने धरानका स्थानीयहरु भने खुसी छैनन् ।

सरकारले विमानस्थल निर्माण गर्ने निर्णय गर्नुको साटो अध्ययन गर्ने भनेर विषयलाई पन्छाउन खोजेको उनीहरुको बुझाइ छ । कोशी प्रदेशमा पहिलो सञ्चालनमा आएका तर अहिले बन्द भएका विमानस्थलहरु नसञ्चालन गर्नेतर्फ सरकारले ध्यान दिएको छैन । क्षेत्रीय विमानस्थलको क्षमता पूरा भएको विराटनगर विमानस्थलबाट ३० मिनेटको दूरीमा पुगिने धरानमा नयाँ विमानस्थल निर्माण गर्न अध्ययन अगाडि बढाउँदा अर्काथरी नागरिकहरु असन्तुष्ट छन् ।

कोशी प्रदेशमा सोलुखुम्बुको स्याङबोचे र कागेलडाँडा विमानस्थल तथा ओखलढुंगाको खिजी चण्डेश्वरी विमानस्थल, थामखर्क, खानी डाँडा, लामिडाँडा, लगायतका विमान स्थलमा संचालनमा छैनन् । यी विमानस्थलहरु लामो समयदेखि बन्द छन् । जिल्लापिच्छेजस्तो विमानस्थल भएको कोशी प्रदेशका १४ मध्ये ९ जिल्लामा विमानस्थलहरु छन् ।

कोशीको सुनसरी, पाँचथर, तेह्रथुम, धनकुटा र उदयपुर जिल्ला बाहेक सबै ठाउँमा विमानस्थलहरु छन् । ताप्लेजुङको सुकेटारलगायत पहाडी जिल्लाका अधिकांश विमानस्थलहरु नियमित उड्ने विमानको पर्खाइमा छन् । विमानस्थलमा विमानमात्र होइन सहज सडक सञ्जाल विस्तारका कारणले विमानले यात्रु नभेट्ने समस्या पनि छ । त्यसतर्फ सरकारले ध्यान दिनुको साटो दुई विमानस्थलको दुरी ४० किलोमिटरभित्रै नयाँ विमानस्थल निर्माण गर्न अग्रसर भएको देखिन्छ ।

विराटनगर विमानस्थलबाट मात्र ४० किलोमिटर टाढा रहेको धरान–१७ स्थित डाँडाघोपामा विमानस्थल निर्माण गर्नका लागि मन्त्री किरातीले नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक नलबिक्रम थापाको संयोजकत्वमा ३ सदस्यीय अध्ययन समिति समेत गठन गरिसकेका छन् । विमानस्थल निर्माण गर्नुपर्छ भन्ने स्थानीयको दबाबमा मन्त्री किरातीले अध्ययन समिति गठन गरेको अनुमान धेरैले गरेका छन् ।
गत कात्तिक २२ गते विमानस्थल निर्माणका लागि आवश्यक पहल र सहजीकरण माग गर्दै धरान उप–महानगरपालिकाका प्रमुख हर्क साम्पाङले मन्त्रालयलाई पत्राचार गरेका थिए । त्यसपछि सामाजिक सञ्जालमा मन्त्री किरातीको नाम नै उल्लेख गरेर विमानस्थल निर्माण गरिछाड्ने प्रचारबाजी गरे । मन्त्री किरातीले नागरिक उड्डयन प्राधिकरणले प्रबन्धक नलबिक्रम थापाको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति समेत गठन गरिसकेको छ ।

प्रचारबाजी गर्नु भन्दा अगाडि मेयर साम्पाङले उपमहानगर कै कार्यालयमा छलफलका लागि पत्राचार गरेका थिए । तोस्रो पटकसम्म पत्र काट्दासमेत यति एयरलाइन्सले आफ्नो प्रतिनिधि नपठाएपछि मेयर साम्पाङले मन्त्रालयलाई पत्र पठाएका थिए ।धरानमा एयरपोर्ट बनाउने विषय अहिलेको भने होइन । २० वर्षदेखी धरानमा विमानस्थल बन्ने हल्ला चलिरहेको छ । २०६० सालमा धरान–१७ को डाँडाघोपाका २९ जना स्थानीयको ७ बिगाहा ५ कट्ठा जग्गा खरिद गरिएको थियो ।

विमानस्थल बनेपछि जग्गाधनीलाई रोजगारी दिने आश्वासन दिएर तत्कालीन समयमा जग्गा बेच्न लगाइएको तर विमानस्थल नबनाएको आरोप उनीहरुको छ । तत्कालीन जनप्रतिनिधि तथा अगुवाहरूले धाकधम्की दिएर नै एयरपोर्टलाई जग्गा बेच्न लगाएको स्थानीय डम्बरकुमार श्रेष्ठले बताए । जग्गा नबेचे अधिग्रहण गरेर चिहान घारी बनाइदिने धम्की त्यसबेला दिएको उनले बताए ।

धरानमा विमानस्थल निर्माणको बहस सेलाइसकेको भएपनि पुनः बौरिएको छ । यद्यपि धरानकै स्थानीयहरु त्यहाँ विमानस्थलको आवश्यकता देख्दैनन् । विराटनगरमा सुविधासम्पन्न विमानस्थल हुँदाहुँदै धरानमा अर्काे आवश्यकता नरहेको श्यामकुमारी राई बताउँछिन् । ‘यहाँबाट आधा घण्टामा विराटनगर विमानस्थल छ,’ श्यामकुमारीले भनिन ‘डाँडाघोपामा राम्रो विद्यालय तथा अन्य विकास चाहिएको छ । हामीलाई एयरपोर्ट चाहिएकै छैन । नेताहरूलाई मात्रै चाहिएको छ ।’ एयरपोर्ट बनाउने ठाउँमा विकास गर्नु पर्दैन भन्दै २० वर्षदेखि डाँडा घोपा ठगिएको जसोदा राईले बताइन् ।

ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा धरानका मेयर कुमारबहादुर कार्की र उप–मेयर मीनकुमार सुब्बा भएका बेला त्यहाँ एयरपोर्ट बनाउने चलखेल गरेर जग्गा कारोबार गरेका थिए । त्यसबेला मेयर–उपमेयरकै उपस्थितिमा धरान–१७ रेल्वेस्थित पञ्चकन्या मा.वि.मा जग्गाधनीहरूलाई भेला पारेर एयरपोर्टका लागि भन्दै उनीहरुले चलनचल्तीको भन्दा आधा दाममा जग्गा दिन प्रस्ताव गरेका थिए ।

प्रतिकठ्ठा ४० देखि ६० हजार रुपैयाँमा कारोबार भइरहेको जग्गा बिक्री नगरे अधिग्रहण गरिदिने धम्की दिएका थिए । २०६० चैत्र १० गते नगरपालिकामा डाकिएको अर्काे भेलाले धरान–१७ स्थित डाँडाघोपाको जग्गालाई ‘क’ र ‘ख’ श्रेणी भनेर दुई भागमा वर्गीकरण ग¥यो । ‘क’ श्रेणीकालाई प्रतिकठ्ठा ३२ हजार र ‘ख’श्रेणीकालाई प्रतिकट्ठा २८ हजारका दरले पैसा दिने सूचना जारी गरेको थियो । धरानमा एयरपोर्ट बनाउनका लागि जग्गा व्यवस्थापनमा पूर्व मेयर मनोज म्याङबोले चासो देखाएका थिए । त्यतिबेला मनोज धरानका चल्ता पुर्जा थिए । उनकै नेतृत्वमा भानु चोकमा घण्टा घरसमेत बनेकाले धराने जनताले मनोजलाई औधि विश्वास गर्ने गरेका थिए ।

यती एयरलाइन्सले विमानस्थल बनाउने नाममा स्थानीय नेता, जग्गा कारोबारी अनि कर्मचारी खटाएर डाँडाघोपाका २५ जनाको ७ बिघा ५ कट्ठा जग्गा खरिद गरेको थियो । सो मध्ये ६ बिघा १८ कट्ठा जग्गा ‘यती इन्कर्पाेरेट’ नामको छुट्टै कम्पनीलाई पास गरियो । बाँकी ७ कठ्ठा यतीका तत्कालीन प्रोमोटर कुन्दन शमशेर जबराका नाममा राखिएको थियो । यती एयरलाइन्सका तत्कालीन अध्यक्ष आङछिरिङ शेर्पाको २०७५ फागुन १५ मा ताप्लेजुङको पाथीभरामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भयो । प्रोमोटर जबरा पनि बितिसकेका छन् । अहिले यती इन्कर्पाेरेट प्रा.ली.को अध्यक्षमा शेर्पाकी श्रीमती चन्दा र प्रबन्ध सञ्चालकमा यती एयरलाइन्सका पूर्व व्यवस्थापक विजयबहादुर श्रेष्ठ छन् । श्रेष्ठ अहिले हिमालयन एयरलाइन्ससँग जोडिएका छन् ।

जग्गा किन्नेबेला यती इन्कर्पाेरेटका प्रतिनिधि भनिएका जग्गा व्यवसायी अशोककुमार अग्रवाल अहिले कम्पनीको सञ्चालक छन् । अग्रवालले ज्ञानेन्द्र शाहको शासन कालमा मनोजको साथ लिएका थिए । त्यसपछि अग्रवालले पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री लोकेन्द्र विष्टलाई ल्याएका थिए । विष्टले केही पनि प्रतिक्रिया नदिएको स्थानीय देवानसिं राईले बताए । एयरपोर्ट चाडै बन्ने सन्देश दिन अग्रवालले हिसिला यमी भौतिक योजना तथा निर्माण मन्त्री भएको बेला जग्गा खरिद गरेको स्थानमा पु¥याएका थिए । तर यामीले भने यहाँ आवश्यक नभएको बताएकी थिइन् ।

एयरपोर्ट नबनेको खण्डमा जग्गाधनीलाई नै जग्गा फिर्ता गर्ने सहमति भएको स्थानीयले बताएका छन् । एयरपोर्ट बन्ने भनेको जग्गा प्लटिङ गर्न थालेपछि जग्गा बेच्नेहरू आन्दोलित भएका हुन् ।विमानस्थल चाँडै बनाउने र रोजगारीको अवसरहरू प्राप्त हुने आश्वासन दिएर २९ जनाको जग्गा चलन चल्तीभन्दा सस्तो मूल्यमा दिन बाध्य पारिएको जीवन भट्टराईले बताए । कुल ७ बिगाहा ५ कट्ठामध्ये व्यक्तिको नाममा रहेको ७ कट्ठा जग्गा प्लटिङ सुरु गरिएको छ । उक्त जग्गा भने महानगरपालिकाले नै रोक्का गरेको छ ।

विवाद बढ्दै गएपछि नगरपालिकाले पूरै डाँडाघोपाको ८० बिघाभन्दा बढी जग्गा किनबेच र निर्माणमा रोक लगाएको थियो । विवाद बाहेकको जग्गा रोक्का गर्न नपाउने भन्दै विरोध भएपछि उप महानगरले सबै जग्गा फुकुवा गरेको थियो । विमानस्थलका लागि भनेर खरिद गरिएकोमध्ये ७ कठ्ठा जग्गा त्यति बेला यती एयरलाइन्सका तत्कालीन प्रोमोटर कुन्दन शमशेर जबराको नाममा दर्ता गरिएको थियो । जबराको निधनपछि उक्त जग्गा यती इन्कर्पाेरेटका सञ्चालक विजयबहादुर श्रेष्ठले आफ्नो नाममा ल्याएका थिए । जग्गा व्यवसायी अशोककुमार अग्रवालको सक्रियतामा किरण राईले उक्त जग्गा किनेर प्लटिङ थालेका हुन् । प्लटिङ थालेपछि उपमहानगरले एयरपोर्ट बनाउने भनेर किनेको जग्गा रोक्का गरेको छ । गत भदौदेखि जग्गा प्लटिङ गर्न थालेपछि स्थानीयले पूर्व सम्झौता अनुसार जग्गा पाउनु पर्ने भन्दै स्थानीय आन्दोलित भएपछि मेयरले मन्त्रालयमा पत्र पठाएका थिए ।

धरान १७ का वडा अध्यक्ष मनोज भट्टराईले विमानस्थल बनाउने भन्ने हल्ला गरेर मेयर र मन्त्रीले सस्तो लोकप्रियता बटुल्न खोजेको टिप्पणी गरेका छन् ।

‘हवाई नीति २०७७’ मा एकदेखि अर्काे विमानस्थलबिचको दुरी पहाडी इलाकामा २० नटिकल माइल र तराई तथा भित्री मधेसमा ४० नटिकल माइल हुनुपर्ने उल्लेख छ । तर, धरान र विराटनगरको हवाई दूरी मात्र १६ नटीकल माइल छ । धरानदेखि मात्र ३९ किलोमिटरको दूरीमा विराटनगरमा विमान स्थल छ । धरानका जनताले कि एयरपोर्ट बनाउन कि जग्गा फिर्ता देऊ भनेपछि मेयरले पत्र पठाएको र मन्त्रीले पनि आफ्नो राजनीति जोगाउनका लागि मात्र समिति बनाएको बुझाइ भने धरानबासीमा पाइन्छ ।

मङ्गलबार, ०५ मंसिर, २०८०, दिउँसोको १२:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर