विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीमा ११ जना मनोनित भएका छन् । मनोनीत हुनेमा निर्वाचनमा पराजित भएकादेखि प्रदेशका पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीसहित व्यवसायीसमेत छन् ।
प्रदेश कमिटिमा विराटनगरका व्यवसायी अरुण राठीसमेत मनोनित भएका छन् । यस्तै खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत र विराटनगरका पूर्वउपमेयर मेयर भूराज राई, जसपाबाट एमालेमा प्रवेश गरेका रामसिंह राईलाई मनोनित गरिएको छ । प्रदेश कमिटिमा संखुवासभाका बद्री सापकोटा, मोरङका नागेश पोखरेल, भोजपुरका देविराम चौलागाईं, खोटाङका तेज ढुंगाना, सुनसरीका प्रमोद शेर्पा र झापाका घनेन्द्र सुब्बालाई पनि मनोनित गरिएको छ । सुब्बा राप्रपा र काँग्रेस हुँदै एमालेमा प्रवेश गरेका हुन् ।
अधिवेशनअघि करिब ६ सय सदस्यीय प्रदेश कमिटीलाई २१५ सदस्यीय बनाइएको थियो । त्यसमा ११ जना थप भएका हुन् । विधान अनुसार थप ११ जना मनोनित गर्नसक्ने अवस्था रहेको अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिएका छन् ।
कोशीको प्रथम महाधिवेशनबाट निर्वाचित कमिटीको बैठकले ३८ जनाको प्रदेश कमिटी सचिवालयसमेत गठन गरेको छ । अन्तर कमिटी निर्देशन जारी गर्दै एमाले कोशी प्रदेश कमिटीले सबै सदस्यहरूको कार्य विभाजनसमेत टुंगो लगाएको जनाएको छ ।
अध्यक्ष घनश्याम खतिवडाले स्कुल विभागमा, संगठन विभागमा सचिव राजकुमार भण्डारी, प्रचार विभागमा लक्ष्मण तिवारीलाई प्रमुख तोकिएको छ । यस्तै उपाध्यक्ष टिकाराम चेम्जोङ निर्वाचन, उपसचिव देवान राई विज्ञान तथा प्रविधि र उपसचिव जलवर्षा राजवंशी शहरी विकास विभाग प्रमुख बनेका छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका झापाका एलपी साँवा लिम्बुलाई वित्त तथा कोष व्यवस्थापन विभाग, रोशन बस्नेतलाई विद्यार्थी इन्चार्ज र प्रभातविक्रम कटुवाललाई युवा तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारी एमालेले दिएको छ । यस्तै राष्ट्रियसभा सदस्य रहेका सोनाम ग्याल्जेन शेर्पा पर्यटन प्रवर्द्धन विभागको प्रमुख बनेका छन् ।
एमालेले स्थानीय तह विभाग प्रेमबहादुर राई, कृषि तथा पशुपंक्षी विभागमा चित्रकुमारी सुब्बा, सहकारी तथा गरिवि निवारण प्रमुखमा रमेश पोखरेल, भौतिक पूर्वाधार विभागमा रामसिंह राई, शिक्षा तथा मानवस्रोत विभागमा सत्यनारायण चौधरी, अर्थ तथा योजना विभागमा सिर्जना राई, उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा उमेश डालमिया, खानेपानी तथा सरसफाइ विभागमा नरेन्द्र बस्नेत, उर्जा, जलस्रोत तथा सिंचाई विभागमा मोहन डाँगी र प्रदेश मामिला तथा सामान्य प्रशासन विभागमा ज्ञानेन्द्र सुवेदीलाई जिम्मा दिएको छ । त्यसैगरी सामाजिक सुरक्षा तथा समाज कल्याण विभाग लोकबहादुर धिमाल, सामाजिक सेवा विभाग ताराबहादुर काफ्ले, कानून विभाग डिपी राई, पर्यटन तथा नागरिक उड्डयन विभाग सोनाम ग्याल्जेन शेर्पा, श्रम तथा रोजगार विभाग निरा खनाल, स्वास्थ्य विभाग बालेश्वर कामत, विपत व्यवस्थापन विभाग जय राई, साहित्य कला तथा संस्कृत विभाग धु्रव राई, वन तथा वातावरण विभाग केशव शर्मा, युवा तथा खेलकुद विभाग प्रभात विक्रम कटुवाल, भूमि व्यवस्था विभाग मोहन विश्वकर्मा, पुस्तकालय तथा अभिलेख विभाग लोकेश निरौला, जनसंगठन संयन्त्र बाबुराम थापा प्रमुखमा चयन भएका छन् ।
बैठकले गएको असोजमा भएको अधिवेशनमा पराजित भएकाहरुसहित २१० जनालाई सल्लाहकार मनोनित गरेको एमालेले जनाएको छ ।