धनकुटामा प्रत्येक महिना प्रदेश क्याविनेटको बैठक बस्छः मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदारकार्कीले धनकुटामा प्रत्येक महिनाका कम्तिमा एक पटक मन्त्रिपरिषदको बैठक राख्ने बताएका छन् ।

नेपाली कांग्रेस धनकुटाको टोलीले प्रस्तुत गरेको ज्ञापनपत्र बुझ्दै आज मुख्यमन्त्री कार्कीले धनकुटाको विकास र समृद्धिका लागि प्राथमिकतासाथ काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, जिल्ला सचिवहरु विजय सन्तोषी राई, जयन्द्र घिसिङ्गसहितको टोलीले मुख्यमन्त्रीलाई निवासमै भेटेर ज्ञापनपत्र बुझाएको हो । सो अवसरमा पाख्रिवास नगरपालिकामा मेयर ज्ञानबहादुर गुरुङ, महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राय, साँगुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र राई, छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बासमेतको उपस्थिति थियो ।

मुख्यमन्त्री कार्कीले यसअघि तत्कालिन मुख्यमन्त्री शेरधन राईले सम्पर्क कार्यालय स्थापना गरेपनि कुनै पनि बैठक धनकुटामा नराखेको स्मरण गर्दै अब महिनामा एकपटक धनकुटामै क्याविनेट राख्ने प्रतिबद्धता जनाएको काँग्रेसक धनकुटाका सचिव विजयसन्तोषी राईले जानकारी दिए । मुख्यमन्त्रीलाई धनकुटाको मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा भेट्न सकिने कार्कीले बताएको उनले उल्लेख गरे ।

कांग्रेस धनकुटाको टोलीले विराटनगरमा कोशी प्रदेशका मन्त्रीहरु समशेर राई र कमल प्रसाद जबेगुसँग पनि भेटेर विभिन्न माग राखेको छ । ज्ञापनपत्रमा प्रदेशको प्रत्येक बर्खे अधिवेशन धनकुटामा गर्नुपर्ने, धनकुटामा रहेको मुख्यमन्त्रीको सम्पर्क कार्यालयलाई साधन स्रोत र जनशक्तियुक्त बनाई मन्त्रीपरिषदको बैठक धनकुटामा राख्नुपर्ने, धनकुटा अस्पताललाई स्तरउन्नती गरी सय बेडको बनाएर विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने, धनकुटाको बेलहारा डाँडामा तत्काल एयरपोर्ट निर्माण गर्नुपर्नेलगायतको माग राखेको छ ।

यस्तै धनकुटाको विश्रान्ती मन्दिरमा सय फिटको शिव भगवानको मूर्ती र धनकुटाको हिलेमा एक सय फिटको भगवान बुद्धको मूर्ती र गुम्बा निर्माणका लागी बजेटको व्यवस्था गर्नुपर्ने माग गरेको सचिव राईले बताए । सो अवसरमा स्थानीय तहका प्रमुखहरुले पनि आफ्ना विभिन्न योजनामा बजेट बिनियोजन गरिदिन माग गरेका थिए ।

शुक्रबार, ०१ मंसिर, २०८०, बिहानको १०:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर