अर्थ र उर्जामन्त्रीले अप्पर अरुण आयोजना अनुगमन गर्ने

संखुवासभा ।  संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको १०६१ मेगावाटको अप्पर अरुण आयोजनाको शुक्रबार अर्थमन्त्री र उर्जामन्त्रीले संयुक्त अनुगमन गर्ने भएका छन् ।

अर्थमन्त्री डाक्टर प्रकाश शरण महत र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली शुक्रबार हेलिकप्टरबाट भोटखोला आउने कार्यक्रम छ । स्वदेशी स्वामित्व र विदेशी ऋण परिचालन गरी प्राधिकरणको गौरवको आयोजनाका रूपमा अप्पर अरुणको निर्माण अगाडि बढाउँदैछ ।

टोलीमा अर्थमन्त्री महत र ऊर्जामन्त्री बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्व बैङ्क निर्देशक लगायतको टोली आयोजना स्थल हेलिकप्टर मार्फत भोटखोला आउने आयोजनाका वरिष्ठ साहयक गृष्म भण्डारीले बताए । अप्पर अरुण आयोजना निर्माणको जिम्मा नेपाल विद्युत् प्राधिकरणले पाएको छ । आयोजनाले प्रभावित क्षेत्रमा मुआब्जा समेत वितरण गरिसकेको छ । आयोजना प्रभावित क्षेत्रका ७८८ कित्ता मध्ये ६९९ कित्ताकाट गर्ने काम सम्पन्न भइसकेको छ । आयोजनाका लागि भोटखोलामा दुई हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ ।

आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोलाका आयोजना प्रभावित स्थानीयले मुआब्जा पाइसकेका छन् । जलविद्युत् आयोजनाको अनुमानित लागत दुई खर्ब २६ अर्ब रुपैयाँभन्दा बढि छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ । हाइड्रोपावर निर्माण सुरु भएको छ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ । आयोजनाको पुँजी स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा लिएर जुटाइनेछ ।

अप्पर अरुण आयोजनाका लागि पहुँच मार्ग बनाउने प्रक्रिया पनि अगाडि बढेको छ । प्राधिकरणले २.०३ किलोमिटर सुरुङ मार्ग सहित करिब २२ किलोमिटर पहुँच सडक निर्माण गर्न भारतीय गायत्री जेभि र झापाको कन्काइ सुरुङगा जेभि कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ । पहुँच मार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुल समेत निमार्ण गरिने छ ।

पहुँच मार्ग भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला –२ रुकुमा फेदी सम्मको पहुँच मार्ग निर्माण गर्नेछ । ७ अर्ब ९१ करोड ३९ लाख रुपैयाँको लागतमा पहुँच मार्ग निर्माण हुनेछ । सुरुङसहितको सडक निर्माण गरिने भएकाले स्थानीयको आर्थिक, सामाजिक अवस्थासमेत बदल्न यो सडकमार्गले महत्वपूर्ण भूमिका खेल्ने प्राधिकरणले जनाएको छ ।

शुक्रबार, १७ कार्तिक, २०८०, बिहानको ०९:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर