सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १,१५,५०० रुपैयाँ

विराटनगर । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य अहिलेसम्मकै हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

बिहीबार पनि रेकर्ड बनाएको सुनको मूल्य तोलामा एकै दिन १ हजार ८ सय रूपैयाँले बढेको हो । बिहीबार सुन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज शुक्रबार सुन प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा ५ रूपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला १ हजार ४०० रूपैयाँ पुगेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

शुक्रबार, ०३ कार्तिक, २०८०, साँझको ०५:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर