काठमाडौँ । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले कसैले पनि नखाएको कारण बाँदरको संख्या बढिरहेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै देउवाले कसैले पनि नखाएको कारण नेपालमा बाँदरको समस्या समाधान गर्न गाह्रो रहेको बताइन् ।
विगतमा नेपालले विदेशमा अनुसन्धानको लागि बाँदर निर्यात गर्दा आफूले विरोध गरेको स्मरण गर्दै उनले अहिले भयावह अवस्था भएको भन्दै चिन्ता ब्यक्त गरिन् । बाँदर नियन्त्रणका लागि के गर्ने भन्नेबारेमा अध्ययन नै गर्नुपर्ने उनको भनाइ थियो ।
‘अरु देशको कुनै मोडेल छ कि ? धेरै ठाउँमा जाली लगाएर कसरी खेती गर्ने ? बाँदर त कसैले पनि खाँदैन, मारिदैन पनि । सो ह्वाट टु डु इट बाँदर ?’ बाँदर नियन्त्रणका लागि विशेष कार्यक्रम नै गर्न उनले कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव दीपककुमार खनाललाई आग्रह गरिन् ।
पूर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमति राणाले गोकर्ण निकुञ्जभित्रको गरिएको मृग शिकार प्रधानमन्त्रीको समेत पुग्ने गरेको बताएकी छिन् । गोकर्ण राष्ट्रिय निकुञ्जभित्र मृग मारिने गरेको र मासु प्रधानमन्त्रीहरुले पाउने गरेको उनले दावी गरिन् । यो कुरा चाँही प्रेसमा नजाओस् भन्दै उनले पहिला त्यस्तो हुने गरे पनि अहिले नभएको बताइन् ।
बर्दियासतिर छाडा गाई र बँदेलले सताउने गरेको र बाघले मान्छे खाने गरेको भन्दै राणाले अन्तर्राष्ट्रिय सन्धीमै हस्ताक्षर गरेकाले बाघ मार्न नहुने तर लाइसेन्स दिएर बँदेल मार्ने पाउने व्यवस्था लागू गर्नुपर्ने धारणा राखिन् । समितिको बैठकमा सांसदहरुले बाँदरको समस्याका कारण कृषकहरुले दुःख पाएको, कृषि उत्पादन घटेको बताउँदै कृषि मन्त्रालयका सचिव दीपककुमार खनाल सहितका पदाधिकारीहरुको ध्यानाकर्षण गराएका थिए ।
मन्त्रालयका सचिव खनालले झन्डै २५ प्रतिशत खेतीयोग्य जमिनमा बाँदरको प्रकोपका कारण खेती हुन छाडेको मन्त्रालयको अनुमान रहेको बताए । उनले बाँदर नियन्त्रणका लागि प्रभावकारी विकल्प के हुन सक्छ सरकारले काम गर्ने बताए ।