नेकपा माओवादी केन्द्र प्रदेश समितिको बैठक

केन्द्रीयस्तरका नेताहरुलाई पालिका तहको जिम्मेवारी

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ को पूर्ण बैठकले नेताहरुको कार्यविभाजन गरेको छ । गाउँ गाउँमा माओवादी घरघरमा माओवादी भन्ने नाराका साथ तीन महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने केन्द्रीय समितिको निर्णय अनुसार आज बसेको प्रदेश समितिको बैठकले केन्द्रीय सदस्य, केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य, केन्द्रीय सल्लाहकार सदस्य, केन्द्रीय परिषद् सदस्य र केन्द्रय विभागका सदस्यहरुको कार्यविभाजन गरेको हो ।

प्रदेश इन्चार्ज चक्रपाणि खनालसहितको उपस्थितिमा भएको प्रदेश समितिको बैठकले १४ जिल्ला र विराटनगर महानगरपालिकाको इन्चार्जसमेत तोकेको छ ।
बैठकले ताप्लेजुङमा सिता थेबे, पाँचथरमा झलकसिंह दर्लामी, इलाममा कुलप्रसाद साम्बा, झापामा राजेन्द्र कार्की, मोरङमा समिता कार्की, विराटनगर महानगरपालिकामा दुर्गाप्रसाद चापागाइँ र सुनसरीमा मणि खम्बू किरातीलाई इन्चार्ज बनाउने निर्णय गरेको छ ।

यसैगरी तेह्रथुममा खेलप्रसाद बुढाथोकी, संखुवासभामा हेमकुमार राई, भोजपुरमा शिवबहादुर बस्नेत, खोटाङमा चम्पा कार्की, सोलुखुम्बुमा एकचन्द्र बराल, ओखलढुंगामा धिरेन्द्र शर्मा र उदयपुरमा धनमाया बिकलाई इन्चार्जको जिम्मेवारी तोकेको हो । धनकुटामा भने आन्तरिक विवाद उत्कर्षमा पुगेका कारण प्रदेश समिति सचिवालयबाटै इन्चार्जसीप गर्ने निर्णय गरेको छ ।

बैठकले नेताहरुको कार्यविभाजन गर्दै प्रदेश नम्बर १ का १३७ वटै पालिकाको इन्चार्जहरु तोकेको छ । माओवादी केन्द्रले पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण र विस्तार, अभिलेख व्यवस्थापन, प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका कार्यालयहरु र कार्यकर्ता व्यवस्थापन आदि काम गर्ने निर्णय गरेको छ ।

दोश्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल सञ्चालन गर्ने, विषयगत अन्तरक्रिया र तालिम, गोष्ठी, प्रशिक्षण, जनभेला, टोलभेला, युवा तथा महिलाहरुको भेला आयोजना गर्ने निर्णय गरेको छ । अभियानको तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्ष, जनसेवा आदि कार्यक्रममार्फत जनपरिचालन गर्ने, सुशासन र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । यो अभियान पालिका र वडाहरुमा केन्द्रीत गर्न पालिका तहसम्म केन्द्रीय तथा प्रदेश तहका नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

बुधबार, ३१ साउन, २०८०, दिउँसोको १२:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर