एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले कजाकस्तानसँग खेल्ने

काठमाडौँ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत नेपालले कजाकस्तानसंग प्रतिस्पर्धा गर्दै छ ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत नेपालले साँझ ५ बजे कजाकस्तानसंग प्रतिस्पर्धा गर्न लागेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने खेलमा कजाकस्तानलाई हराए नेपाल फाइनल पुग्नेछ । नेपाल समूह ’ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।कजाकस्तान समूह ’बी’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

काजखस्तानले ९ सेट जित्दा २ सेट मात्र गुमाएको छ । काजखस्तानले मालदिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो भने श्रीलङ्का र उज्बेकिस्तानले कडा टक्कर दिएका थिए । श्रीलङ्का र उज्बेकिस्तान विरुद्ध काजखस्तान समान ३–१ को सेटमा विजयी भएको थियो ।

घरेलु टोली नेपाल समूह ‘ए’ मा दुई जित र एक हारबाट समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । किर्गिस्तान र बङ्गलादेशलाई सोझो सेटमा हराएको नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा ३–१ को सेटमा पराजित भयो । नेपालले प्रतियोगितामा ७ सेट जित्दा ३ सेट गुमाएको छ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा जारी प्रतियोगितामा नेपाल, बङ्गलादेश, मालदिभ्स, भारत, श्रीलङ्का, किर्गिस्तान, उज्बेकिस्तान र काजकिस्तानको सहभागी छन् ।

पहिलो सेमिफाइनलमा भारत र उज्बेकिस्तानबिच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबिचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
नेपाल र काजखस्तान खेल्नुअघि भारतले पहिलो सेमिफाइनलमा उज्बेकिस्तानसँग खेल्नेछ । भारत अपराजित रहँदै समूह ‘ए’ को विजेता बन्दा उज्बेकिस्तान समूह ‘बी’ को उपविजेता को रूपमा सेमिफाइनल पुगेको थियो ।

शुक्रबार, १२ जेठ, २०८०, बिहानको ११:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर